+

बालबच्चाका लागि कस्तो खेलौना उपयोगी ?

२०८१ वैशाख  १७ गते १३:५९ २०८१ वैशाख १७ गते १३:५९
बालबच्चाका लागि कस्तो खेलौना उपयोगी ?

बालबालिकाको मनोरञ्जनका लागि खेलौना जति महत्त्वपूर्ण हुन्छन्, उनीहरूको शारीरिक र मानसिक विकासका लागि पनि त्यतिकै उपयोगी । बच्चाको विकासमा खेलौनाले महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले बच्चालाई सधैं राम्रो कुरा सिक्न, ज्ञान बढाउन र मानसिक रूपमा समृद्ध बनाउन प्रेरित गर्ने खेलौना किनिदिनुपर्छ ।

बच्चाका लागि यस्तो खेलौना छनौट गर्नुपर्छ, जसबाट उनीहरूले खेल्दै धेरै कुरा सिक्न सकुन् । बच्चाको उमेर अनुसारको  तोकिएको मापदण्ड पूरा गरी बनाइएका र गुणस्तर प्रमाणीकरण चिन्ह भएको खेलौना छनोट गर्नुपर्छ ।

बालबालिकाको ध्यान दिने क्षमता उमेरसँगै बढ्दै जान्छ, त्यसैले सधैं खेलौनामा उल्लेख गरिएको उमेर दायरा अनुसार छनोट गर्नुपर्छ । उमेर अनुसारको खेलौना छनोट गरियो भने उनीहरूको सम्पूर्ण विकासमा त्यसले मद्दत गर्छ ।

एक वर्षभन्दा माथि पाँच वर्षसम्मका बालबालिकाका लागि

एकदेखि पाँच वर्षसम्मका बच्चाले केही कुरा समात्न आफ्नो हात, औंला, नाडी र मांसपेशीहरूको प्रयोग गर्छन् भने त्यसलाई ‘फाइन मोटर स्किल’ भनिन्छ । मस्तिष्क, स्नायु प्रणाली र मांसपेशीसँगै काम गर्दा यी कार्य हुन्छन् । त्यसैले पाँच वर्ष भन्दा कम उमेरका बच्चाका लागि ‘फाइन मोटर स्किल’ राम्रो हुने खेलौना छनोट गर्नुपर्छ ।

यस उमेरका बालबालिका बढी सक्रिय र आफ्नो वरपरको अवस्थाबारे सचेत हुन्छन्, त्यसैले खेलौना किन्दा यो कुरामा पनि ध्यान दिनुपर्छ ।

नरम बल, जनावरको आकृति खेलौना

पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई नरम बल दिइयो भने त्यसलाई उनीहरूले हात र खुट्टाले हिर्काउँछन् । जनावरको आकृति दिइयो भने हातले समात्छन् । यी सीपमार्फत बच्चाहरूले आफ्नो आँखा, हात, औंलाहरू र नाडीहरूको समन्वय गर्न सिक्छन् । जसले गर्दा उनीहरूमा ‘फाइन मोटर स्किल’को विकास हुन्छ ।

पेगबोर्ड

पेगबोर्डले पनि बच्चाको ‘फाइन मोटर स्किल’लाई बढाउन मद्दत गर्छ । समस्या समाधान गर्ने र संज्ञानात्मक सीप विकास गर्न सहयोग गर्छ । यस्ता खेलौनाले वास्तविक जीवन कौशलहरूसँग जोड्न र उनीहरूको कल्पनालाई कार्यमा बदल्न मद्दत गर्छ ।

चुम्बकीय अक्षर

चुम्बकीय अक्षरहरू पनि यस उमेरका बच्चाका लागि उत्तम खेलौना हुनसक्छ । यसबाट बालबालिकामा अंग्रेजी र नेपाली अक्षर चिन्न सक्छन्, साथै अक्षर पनि चिन्न सक्छन् । बजारमा धेरै प्रकारका चुम्बकीय खेलौना उपलब्ध छन्, जसमा अक्षरसँगै अक्षर टाँस्ने बोर्ड पनि हुन्छ ।

ब्ल

काठको ब्लक वा नरम ब्लकहरूले बच्चालाई सन्तुलनको अवधारणा बुझ्न सहयोग गर्छ । साथै यसले बच्चाको ‘फाइन मोटर स्किल’ राम्रो बनाउन पनि सहयोग गर्छ । बच्चाहरू खेलौना साथीसँग मिलेर खेल्छन् भने सामाजिक कौशल पनि विकास हुन्छ । आकार क्रमबद्ध गर्दा उनीहरूमा समस्या समाधान गर्ने क्षमताको विकास हुन्छ । यस्ता  खेलौनाले बच्चाको हात-आँखा समन्वय र संज्ञानात्मक विकासमा मद्दत गर्छ ।

व्यवहारिक खेलौना

पाँच वर्षभन्दा कम उमेरका बच्चाले अरूको नक्कल छिटो गर्छन् । यस उमेरमा उनीहरू परिवारको सदस्य वा अन्य कुनै पात्रको रूपमा लुगा लगाउने र उनीहरूको गरेको कामलाई दोहोर्‍याउने गर्छन् । यस्तोमा उनीहरूलाई किचेन सेट, डलहरु, क्यारेक्टर वेशभूषा आदि खेलौना दिन सकिन्छ । यस्ता खेलौनाले बच्चाको कल्पना शक्ति बढाउँदै सामाजिक र भावनात्मक सीपहरू विकास गर्न मद्दत गर्छ ।

पाँच वर्षमाथिका बालबालिकाका लागि

यो उमेरमा बालबालिका विद्यालय जान थालिसकेका हुन्छन् । यो उमेरमा उनीहरूको जिज्ञासा धेरै हुन्छ । पाँच वर्षमाथिका बालबालिका बढी सक्रिय र आफ्नो वरपरको अवस्थाबारे सचेत हुन्छन् । उनीहरू धेरै कुरा अभिव्यक्त गर्न सक्ने पनि हुन्छन् यस्तोमा उनीहरूको रुचिअनुसारको खेलौना दिनुपर्छ ।

साइकल वा अन्य आउटडोर खेलौना

साइकल, स्कुटर, फुटबल,  ब्याट बल, ब्याडमिन्टन र अन्य यस्ता आउटडोर खेलहरू यो उमेरमा बच्चाका लागि उत्तम हुन्छ । आउटडोर खेलौनाबाट उनीहरू बाहिरी वातावरणसँग घुलमिल हुन्छन् । जसले उनीहरूको सामाजिक, भावनात्मक तथा शारीरिक विकासमा सहयोग पुग्छ । आउटडोर खेलहरूले बालबालिकामा प्रतिस्पर्धाको भावना पनि विकास हुन्छ ।

चेस वा अन्य बोर्ड खेलहरू

चेस, सर्प लगायत अन्य बोर्ड गेमहरूले बच्चालाई स्क्रिनबाट टाढा राख्छ । साथै यी खेलहरूले उनीहरूको ध्यान केन्द्रित गर्न सक्ने क्षमतालाई पनि बढाउँछ । समस्या समाधान गर्ने सीप विकास गर्न, संज्ञानात्मक र सामाजिक विकास गर्न पनि यस्ता खेल उपयोगी हुन्छन् ।

पजल गेम

पाँच वर्ष वा त्यसभन्दा माथिका बालबालिकाको लागि पजल गेम पनि  उपयोगी हुन्छ । यस्तो खेलबाट बौद्धिक विकास हुन्छ र ‘फाइन मोटर स्किल’ पनि राम्रो हुन्छ । यसले बालबालिकाको एकाग्रता बढाउनुको साथै आँखा–हातको समन्वयमा पनि सुधार गर्छ । पजललाई मिलाउन सक्रिय रुपमा लाग्दा उनीहरूको शरीरको व्यायाम समेत हुन्छ ।

खेलौना किन्दा ध्यान दिनुपर्ने कुरा

केही खेलौना शैक्षिक उद्देश्यका लागि हुन्छन् भने केही खेलौनाहरू मनोरञ्जनमा मात्र पनि हुन्छन् । त्यसैले खेलौना किन्दा कस्तो खेलौना आफ्नो बालबालिकाको लागि उपयुक्त हुन्छ । त्यसैअनुसार छनोट गर्नुपर्छ ।

बच्चा सानो छ भने धेरै सानो तथा धारिलो खेलौना दिनु हुँदैन । बच्चाले यी खेलौनाहरू मुखमा हाल्न सक्छन् वा हात खुट्टामा चोट लाग्न सक्छ । बच्चाले खेलौनासँग कसरी खेलिरहेको छ र उसले कति समय खर्च गरिरहेको छ भन्ने कुरामा पनि अभिभावकले ध्यान दिनुपर्छ ।

खेलौना डा. अनिल ओझा बालबालिका
डा. अनिल ओझा
लेखक
डा. अनिल ओझा
डेभलपमेन्ट पेडियाट्रिसियन

डा. ओझा हाल पाटन अस्पतालमा बालरोग विशेषज्ञ तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापकको रुपमा कार्यरत छन् । उनले एमबीबीएस र बालरोगमा एमडी गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३९६७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय