+
+

‘खेल’ सिरिजबाट ओटीटी डेब्यु गर्दै सुरक्षा पन्त, भन्छिन्- अब फिल्ममा मात्र सीमित हुन्न

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १७:०९

काठमाडौँ । सुरक्षा पन्तको शीर्ष भूमिका रहने नेपाली सिरिज ‘खेल’को शुभसाइत गरिएको छ । कमलादीको गणेश मन्दिरमा सिरिजका निर्देशक, कलाकार र प्राविधिकले उपकरण र स्क्रिप्ट पूजा गरेसँगै निर्माणको घोषणा गरियो ।

दर्जनभन्दा बढी हिन्दी फिल्ममा सह-निर्देशन गरेका अनुराग प्रधानले यसलाई निर्देशन गर्दैछन् । पन्तसँगै बलिउड फिल्म ‘बर्फी’ फेम्ड अभिनेता भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यम प्रसाद ओली पनि कलाकारको रुपमा छन् ।

सिरिजलाई काठमाडौंमा छायांकन गरिने भएको छ । निर्देशक प्रधानले सय वर्ष अघिको काठमाडौंको सेटअपमा सिरिज छायांकन हुने जानकारी दिए । ‘नेटफ्लिक्स’को प्राविधिक मूल्याङ्कनमा आधारित रहेर बन्ने यो सिरिज पाँच श्रृंखलासम्म बन्ने जनाइएको छ ।

यो सिरिज छायांकनका लागि उपकरण भारतबाट ल्याइएको छ । पौराणिक र आध्यात्मिक कथावस्तुमा बन्ने सिरिजले चारजना साथीको कथा भन्छ । बोलीचालीमा जुनसुकै भाषा प्रयोग हुने भएपनि फिल्मको एउटै भाषा हुने भएकाले यो सिरिज विश्वभरका दर्शकलाई रुचिकर हुने दावी निर्देशकले गरे ।

रणवीरु कपुर स्टारर बलिउड फिल्म ‘बर्फी’मा इन्टर्न गरी फिल्म यात्रा थालेका दार्जिलिङ निवासी निर्देशक प्रधानले बलिउडका चर्चित फिल्म ’जग्गा जासुस’, ‘बादशाह’, ‘हिटः द फस्र्ट केस’ ’धक धक’ लगायतका फिचर र सिरिजमा काम गरेका छन् ।

अभिनेत्री पन्तले आफू पहिलेदेखि नै ओटीटीको वकालत गर्दै आएको बताइन् । उनले अब आफू फिल्ममा मात्र सीमित नहुने बताउँदै नेटफ्लिक्सको गुणस्तर मूल्यांकनमा बन्ने सिरिजमा काम गर्न पाउँदा खुशि लागेको बताइन् ।

सिरिजमा आफ्नो भूमिकाबारे बताउँदै उनले भनिन्, ‘अध्ययनको लागि काठमाडौँको होस्टेलमा बस्ने साथीले अध्यात्ममा आधारित खेल खेल्दै गर्दा वास्तविक जीवनमा हानी पुगेपछि त्यसबाट उम्किनलाई पुनः खेल्ने खेल कथा हो । चार जना केटी साथीको टिम प्रमुखको रूपमा मैले काम गर्दै छु । कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानि हुन्छ भन्ने दर्शाउन खोजिएको छ ।’

सिरुपाते कट्स प्रालिले निर्माण गर्ने सिरिजका निर्मातामा आशिषराज महर्जन र लुइसराज महर्जन छन् । कुनाल गुरुङ सह-निर्माता हुन् । आशिषको कथामा निर्देशक प्रधानले पटकथा लेखेका छन् । छायांकनर रोशन राई हुन् ।

सरिजमा एलेक्स बसुकलाको कस्ट्युम डिजाइन, किशोर नेपालको कला निर्देशन, आस्था श्रेष्ठको सह-निर्देशन रहनेछ भने यमप्रसाद ओली प्रोडक्सन विभाग प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?