+

इन्टरभेन्सनल रेडियोलोजी : बिना चिरफार टाउकोदेखि पाठेघरको उपचार गर्ने सहज पद्धति

२०८० पुष  ११ गते १२:५६ २०८० पुष ११ गते १२:५६
इन्टरभेन्सनल रेडियोलोजी : बिना चिरफार टाउकोदेखि पाठेघरको उपचार गर्ने सहज पद्धति

नेपालमा इन्टरभेन्सनल रेडियोलोजी भित्रिएको एक दशक लागिसक्यो । तर अस्पताल गएर इन्टरभेन्सनल रेडियोलोजीको सेवाबारे सोध्ने संख्या निकै कम छ । यसले धेरै प्रकारको रोगदेखि क्यान्सरहरूको उपचारमा नयाँ आशाहरू समेत जगाएको छ ।

यो हरेक रोगको सहज उपचार हो । शल्यक्रियाको विकल्पमा इन्टरभेन्सनल रेडियोलोजी ठूलो फड्को मारिरहेको यस अत्याधुनिक चिकित्सा उपचार सहज र सुरक्षित छ भन्नेबारे भने अधिकांश जानकार छैनन् । निको हुनसक्ने कतिपय रोगबाट पनि कतिपयले अकालमै ज्यान गुमाइरहेका छन्, सही उपचारको अभावमा ।

इन्टरभेन्सनल रेडियोलोजी भनेको के हो ?

रेडियोलोजीको काम सिटी, एमआरआई, अल्ट्रासाउन्ड, एक्स-रे प्रविधिको माध्यमबाट रोगको पहिचान गर्नु हो । यी माध्यमबाट पहिचानसहितको उपचार गर्ने पद्धतिलाई इन्टरभेन्सनल रेडियोलोजी भनिन्छ । यो नयाँ आधुनिक सुपरस्पेसलाइजेसन प्रविधि हो । जसबाट बिरामीको रक्तनलीको समस्या र शरीरको कुनै पनि भागको आउन गाँठागुठीको पहिचान गरी उपचार गरिन्छ  ।

यो प्रविधि ट्युमरदेखि नसा अवरोधसम्म धेरै जटिल शल्यक्रियामा धेरै प्रभावकारी साबित भएको छ ।

कसरी गरिन्छ ?

शरीरमा सानो प्वाल बनाएर एक्स-रे, यूएसजी, सिटिस्क्यान वा फ्लोरोस्कोपी जस्तो इमेजहरुबाट शरीरको अवस्थालाई हेर्दैै विभिन्न पातलो तार र क्याथेटर तथा आवश्यक उपकरण छिराएर यो शल्यक्रिया गरिन्छ ।

क्याथेटर (टयुब) र तार इन्टरभेन्सन पद्धतिमा प्रयोग गरिने उपकरण हो । तारले बाटो पत्ता लगाई क्याथेटर छिराइन्छ । जसको माध्यमबाट नसा खोल्ने र बन्द गर्ने काम गरिन्छ ।

क्याथ ल्याबबाट इन्टरभेन्सनल रेडियोलोजीबाट उपचार गरिंदै

कुनै अंगमा रक्तस्राव हुँदा फ्लोरोस्कोपीको माध्यमबाट शरीरभित्रको अवस्थाबारेमा पत्ता लाग्छ । जसमा क्याथेटर हालेरअवरुद्ध भएको नसा खोल्न वा बन्द गरिने काम गर्छ ।

यसको विशेषता भनेको ठूलो चिरफार गर्न नपर्ने र कुनै अंगलाई मात्र लक्षित गर्दै उपचार गर्न सकिने भएकोले शल्यक्रिया भन्दा उन्नत प्रकृतिको मानिन्छ ।

कस्तो रोगमा काम लाग्छ ?

टाउकोदेखि खुट्टासम्म जति पनि समस्या छन्, त्यसमा कुनै न कुनै हिसाबले जोडिएको विषय हो इन्टरभेन्सनल रेडियोलोजी । त्यसैले नसाको माध्यमबाट शरीरको समग्र अंगको समस्याको उपचार यस पद्धतिबाट सम्भव छ ।

मस्तिष्कको समस्या

टाउकोमा स्ट्रोक भएकाहरुको रत्तसञ्चारमा अवरोध गरिरहेको रगतको जमेको ढिक्कालाई एउटा तारको माध्यमबाट झिक्न सकिन्छ । जसले गर्दा पक्षघात हुन पाउँदैन ।

त्यस्तै मस्तिष्कमा रगतको कुनै नसा फुटेर ब्रेन ह्यामरेज भएमा तारको माध्यमबाट फुटेको बन्द गर्न धातुको कोइल हालेर रगत रोक्न सकिन्छ ।

ट्युमरको समस्या

शरीरमा देखिएका धेरैजसो ट्युमर पछि गएर क्यान्सरमा परिणत हुनसक्छ । यस्तोमा इन्टरभेन्सनल रेडियोलोजीको माध्यमबाट यस्ता ट्युमरको उपचारपूर्व रोग पत्ता लगाउने र त्यसको जटिलताबारे पहिचान गरी उपचार गर्न सकिन्छ ।

जस्तै, ट्युमरको केही रेसा निकाली बायोस्पी गर्न सकिन्छ । असर गर्न सक्ने देखिएमा रोगको जटिलता हेरी बिना चिरफार यस्ता थाइरायड, हाड, कलेजो, फोक्सो, मिर्गौला र स्तनको ट्युमरलाई विशेष सुईको प्रयोग र रेडियो फ्रिकोइन्सी एबीलेसन र माइक्रोवेभ एबीलेसनको माध्यमबाट निष्क्रिय पार्न वा नष्ट गर्न सकिन्छ ।

डा. मनिष थापा (तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर)

कलेजोको समस्या

क्यान्सर वा पत्थरीको कारणले पित्तनलीमा अवरोध आएको कारण शरीरमा जन्डिस बढ्न गई ज्यानै जोखिम हुनसक्छ । यस्तोमा शरीरको बाहिरी छालाबाट कलेजोमा पाइप राखेर पित्तलाई एउटा दिशा दिई जण्डिस बिग्रिन नदिने (पीटीबीडी) पद्धतिले ज्यान बचाउन सकिन्छ । यो पद्धतिले नेपालमा धेरैको ज्यान बचेको छ ।

प्रोसटेटको समस्या

प्रोस्टेटको समस्याले सबैभन्दा बढी ५० वर्ष काटेका पुरुषलाई सताउँछ । यसको लागि शल्यक्रिया नै मुख्य निवारणको उपचार मानिए पनि सबैलाई शल्यक्रिया गर्न चिरफार गर्न सकिने अवस्था हुँदैन ।

यस्तोमा इन्टरभेन्सनल रेडियोलोजीको विधिले प्रोस्टेट ग्रन्थीको वृद्धि रोक्न सकिन्छ ।

पाठेघरको समस्या

धेरैजसो महिलालाई पाठेघरमा पलाउने फाइब्रोइड ट्युमरको समस्याले सताउँछ । ट्युमरले गर्भ बस्न कठिन मात्र होइन कुनै टयूमर त  क्यान्सरजन्य पनि हुनसक्छ । यस्तोमा ओपन सर्जरी गर्दा पाठेघर नै जोखिममा पर्ने वा फाल्न पर्ने अवस्था आउनसक्छ । यसको विकल्पमा इन्टरभेन्सनल रेडियोलोजीका पद्धतिबाट विना ठूलो घाउ बनाई ट्युमर निष्क्रिय पार्न मद्दत गर्छ । यसरी सानो प्वाल पार्दा पाठेघर फाल्दा आउन सक्ने हार्मोनल समस्याबाट पनि जोगिन्छ ।

त्यस्तै फयालोपियन टयुब बन्द भएर बाँझोपनको समस्यालाई पनि तार र क्याथेटरको माध्यमबाट फेरि टयुब खुलाएर गर्भधारण योग्य बनाउन सकिन्छ ।

नसा फुट्ने समस्या

कुनै कारणवश शरीरको कुनै भागको नसा फुटन सक्छ । जसले रत्तसञ्चारको कार्यमा अवरोध गर्छ । यो पद्धतिले बन्द भएको नसा खोल्ने र फुटेको नसालाई मर्मत गर्ने काम गर्छ । जस्तै, कुनै कारणवश फोक्सो, आन्द्रा र मिर्गौलाका नसा फुटेर रगत गइरहेको अवस्थामा नसा भित्रैबाट गएर बन्द गरिन्छ । त्यस्तै, नसाहरु बन्द भयो भने त्यससँग जोडिएको अंग काम गर्न छाड्छन् । यस्तोमा विभिन्न तार र यन्त्रमार्फत खुलाउन सकिन्छ ।

टाउकोमा होस् वा शरीरका अन्य भागमा गुच्छा परेर बसेका नसालाई सुल्झाउने काम पनि इन्टरभेन्सनल रेडियोलोजीले गर्छ।

क्यान्सर रोगमा उपयोगी

क्यान्सर रोगको उपचारमा यो पद्धति रामवाणभन्दा कम छैन । क्यान्सरका बिरामीलाई कडा खालको औषधि चलाउनुपर्ने हुन्छ । यस्तोमा औषधिले नसालाई बिगार्न सक्छ । क्यान्सरमा लाग्ने औषधि इन्टरभेन्सलको मद्दतले दिंदा नसा क्षति हुनबाट जोगिन्छ ।

यस्तै, छालामा सानो प्वाल पारी तारको माध्यमबाट टयुब लगेर मुटुमा छोडिएर किमोथेरापी गर्न सकिन्छ । सो केमोपोर्ट वा पीआइसीसीि टयुबबाट लामो समयसम्म किमोथेरापी गराउन सकिन्छ ।केमोथेरापीको लागि छुटै नसा खोलिरहन पर्दैन । यस्तै क्यान्सर भइसकेपछि बनेका घाउ वा टयुमरको शल्यक्रिया गर्नुपर्ने हुन्छ । जसको विकल्प इन्टरभेन्सल पद्धति हुनसक्छ ।

क्यान्सरको टुयमर शल्यक्रिया गर्ने कठिन अवस्था भएमा तार छिराएर टयुमरको वृद्धिमा सहयोग गर्ने नसा बन्द गर्ने वा नष्ट पार्ने औषधि हाल्दिन सकिन्छ । कलेजोको क्यान्सर भई किमोथेरापी गर्दा पनि इन्टरभेन्सन रेडियोलोजीमार्फत् नसाको माध्यमबाट क्यान्सर बनाउने तत्वलाई कम गर्न यस पद्धतिबाट उपचार गर्न मिल्छ ।

मिर्गौला

मिर्गौला फेल भएकाहरुमा डायलाइसिस गर्दा नसा बिग्रन सक्छ । सो बिग्रिएको नसालाई पुनः काम लाग्ने बनाउन सक्छ ।

यसका फाइदा

-सानो पिनले प्वाल पारेको जस्तो सानो घाउ बनाएर गरिने शल्यक्रिया हुँदा घाउ ठूलो हुँदैन ।

-रक्तश्राव हुनसक्ने सम्भावना कम हुन्छ ।

– संक्रमणको जोखिम कम हुने र ठूलो घाउ नहुँदा बिरामी छिटो ठीक हुन्छ ।

-ओपन शल्यक्रियामा जस्तो बिरामीलाइ एनेस्थेसिया दिएर बेहोस बनाउनु पर्दैन ।

-कुनै पनि ठूलो दाग बस्दैन । जसले गर्दा झट्ट हेर्दा शल्यक्रिया गरेको पहिचान गर्न कठिन हुन्छ ।

-अस्पतालको बसाइ छोटो हुन्छ ।

कसले गर्नु हुँदैन ?

यो पद्धति केही अवस्थामा गर्न नमिल्ने हुनसक्छ । जस्तै, रगत धेरै पातलो छ । औषधि दिएर पनि नियन्त्रण गर्न सकिंदैन । त्यस्तोमा यो पद्धति फाइदाजनक नहुन सक्छ ।

रगत पातलो गराउने औषधि खानेहरुमा पनि औषधि केही समय रोकेर भने उपचार गर्न सकिन्छ ।

अन्य शल्यक्रिया विधाभन्दा फरक

यो शल्यक्रिया विधि अन्य विधाभन्दा फरक छ । किनकि यसले कुनै एक रोगमा मात्र काम गर्दैन । शरीरका धेरैजसो रोगलाई निवारण गर्न सक्ने खुबी यसमा छ । यसमा चिरफार गर्न पर्दैन । साथै, ल्याप्रोस्कोपिकमा जस्तो विभिन्न औषधि पेटमा राखी फुलाएर, विभिन्न स्थानबाट उपकरण पसाएर शल्यक्रिया गर्न यो पद्धतिमा आवश्यक हुँदैन । जसकारण साइड इफेक्ट कम छ । यो पद्धतिले एकै नसाबाट धेरै उपकरणको प्रयोग गरी काम गर्न सक्छ।

समय कति लाग्छ, खर्च कति ?

यो उपचार प्रक्रियामा कति समय लाग्छ भन्ने निर्क्यौल बिरामीको अवस्थामा भर पर्छ । समान्य अवस्थामा आधा घण्टादेखि जटिल समस्यामा २ घण्टा पनि लाग्न सक्छ । उपकरण महँगो भएकै कारण यसको उपचार खर्चालु छ । सामान्य समस्यामा सात हजारदेखि जटिल समस्यामा ८ देखि १० लाखसम्म लाग्न सक्छ ।

कसरी सुरुवात भयो ?

सन् १९६४ मा डा. डा. र्चाल्स डट्टरले यो सेवा सुरु गरेका हुन । उनकोमा एउटा जटिल केस आएको थियो । ८२ वर्षीया वृद्धको खुट्टाको नसा ब्लक भएको थियो । नसा ब्लक भएपछि खुट्टा काट्न पर्ने भयो । तर उनी तयार थिइनन् । डा. र्चाल्स डट्टरले खुट्टा काट्न नपर्ने विकल्पको बारेमा धेरै खोजी गरे। र, नसालाई बिना खुट्टा काटेर खुलाउन सफल भए । ती वृद्ध अन्तत: दुवै खुट्टाले हिंडेर डिस्चार्ज हुन सफल भइन् ।

यो नै इन्टरभेन्सनल रेडियोलोजीको सुरुवात थियो। विस्तारै यो सम्बन्धी अध्ययन र अभ्यास हुँदै उपकरण पनि बन्न थाले । यसरी यो क्षेत्रको विकास भयो । अन्तर्राष्ट्रिय जगतमा रोजाइमा पर्ने यो पद्धति नेपालमा भने बामे सर्ने अवस्थामा छ ।

नयाँ, तर धेरैलाई थाहा छैन

विश्वमा इन्टरभेन्सनल सेवाले फड्को मारे पनि नेपालमा भने धेरैलाई यो सेवाबारे जानकारी छैन । यो उपचार  नेपालमा सन् २०१५ मा भित्रिएको हो । यो विशिष्ट सेवासहितका अस्पताल पनि कम छन् । र यसबारे विज्ञता हासिल गरेका चिकित्सक पनि कम छन् । जम्माजम्मी १६ जना जति इन्टरभेन्सल रेडियोलोजिस्टले सेवा दिइरहेका छन् ।

तीमध्ये धेरैले सम्भावना भन्दा बढी चुनौती देखेर सेवामा लागेका छैनन् । कारण भनेको सेवा भित्रिएको धेरै समय नहुनु, अन्य सेवा भन्दा महँगो हुनु र अस्पतालका चिकित्सकहरु यसबारे सचेत नहुनु पनि हो ।

चुनौती 

यो उपचार पद्धति सहज भए पनि तत्कालको देशको अवस्थाले गर्दा चुनौती धेरै छन् । देशको अर्थतन्त्र कमजोर भएकाले पनि यस्ता विशेषज्ञ सेवा ओझेलमा परेका छन् । यही सेवा विदेशमा सस्तो छ भने नेपालमा महँगो छ । सेवा दिनलाई चर्को शुल्क उठाउनु परेको छ ।  भारत, चीन, अमेरिकाबाट उपकरण मगाउनुपर्छ । यो आयात गर्दा भन्सारकर अति महँगो तिर्नुपर्छ । जसकारण पनि सेवा लिन चाहेर पनि पछि हटेको धेरै देखिन्छ ।

त्यस्तै, दक्ष जनशक्ति कम छन् । यसबारे पढाउने र तालिम दिने संस्था छैन । जसले गर्दा सेवा सीमित छन् ।

सरकारी संस्थामा यसको दरबन्दी नै छैन । लगानी धेरै लाग्ने हुँदा निजी अस्पतालले लगानी गर्न सकेका छैनन् । सुलभ सेवा लिन स्वास्थ्य बीमाको सेवा प्रभावकारी छैन ।

साथै,यो पद्धतिबाट उपचार गर्दा नकरात्मक विकिरणमा बढी एक्सपोज हुँदा स्वास्थ्यकर्मीको  पनि शरीरलाइ गर्ने हानि गर्छ । यसको व्यवस्थापन छैन ।

प्रभावकारी बनाउन केही पहल आवश्यक

-सरकारी तवरबाट थालिनुपर्ने महत्वपूर्ण कदम भनेको सरकारी अस्पतालहरुमा लोकसेवाको स्थायी दरबन्दी खुलाएर इन्टरभेन्सनल  रेडियोलोजिस्टहरुको पदपूर्ति गरिनुपर्छ । ताकि दुर्गम क्षेत्रमा समेत यी सेवासँगै दक्ष जनशक्तिको पहुँच पनि पुर्‍याउन सकियोस् ।

– जनशक्ति बढाउन चिकित्सा अध्ययनमा इन्टरभेन्सनल पद्धतिको पाठयक्रम राख्नुपर्ने देखिन्छ । ताकि सुरुबाटै यो विधामा काम गर्ने इच्छा विद्यार्थीमा होस् ।

– यस्ता प्रविधिमा लगानी गर्नेदेखि सरकार र उपकरण उत्पादन गर्ने अन्तर्राष्ट्रिय निकाय तथा कम्पनीसँग समन्वय गर्नुपर्छ ।

-उक्त सेवा सर्वसुलभ बनाउन सरकारले मेसिन किनिदिएर वा स्वास्थ्य बीमा प्रबल बनाएर वा भन्सारकर कम गर्ने वा अस्पतालहरुमा क्याथ प्रयोगशाला बनाउने नीति बनाउनमा पहल गर्नुपर्ने देखिन्छ ।

-रेडियोलोजीको विकिरणबाट बच्न  सर्वप्रथम त व्यक्ति आफैं सतर्क हुनुपर्छ । यसबाट बच्न सुरक्षात्मक विधिहरु अपनाउनुका साथै सुरक्षात्मक सामाग्री लगाउनुपर्छ ।

-सरकारले यस्ता विकिरणमा काम गर्दा जोखिम भत्ताको सेवा असमान रुपमा दिइरहेको छ । जोखिम भत्ताको प्रावधान समान रुपमा सबै अस्पतालमा हुनुपर्छ ।

इन्टरभेन्सनल रेडियोलोजी
डा. मनिष थापा
लेखक
डा. मनिष थापा
इन्टरभेन्सनल रेडियोलोजिस्ट

डा. थापा हाल काठमाडौं छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जस्थित  नीता पोलिक्लिनिक, बुढानीलकण्ठस्थित करुणा अस्पताल, ललितपुर जवालाखेलस्थित क्लिनिक वानमा कार्यरत छन् । उनले रेडियोडाइग्नोसिसमा एमडी र भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीमा फेलोसिप गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६७९२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डेंगुको खास औषधि छैन, निको हुने उपाय के छ ?

डेंगुको खास औषधि छैन, निको हुने उपाय के छ ?

बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने ? (भिडियो)

बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने ? (भिडियो)

गर्भावस्थामा योनीस्राव भयो, कारण के होला ?

गर्भावस्थामा योनीस्राव भयो, कारण के होला ?

७ सर्वोत्तम पेय, जुन घरमै बनाउन सकिन्छ

७ सर्वोत्तम पेय, जुन घरमै बनाउन सकिन्छ

शल्यक्रियाबाट कसरी मुसा हटाउन सकिन्छ, कति लाग्छ खर्च ?

शल्यक्रियाबाट कसरी मुसा हटाउन सकिन्छ, कति लाग्छ खर्च ?

मुटुलाई स्वस्थ राख्ने अनस्याचुरेटेड फ्याट कुन खानेकुराबाट पाइन्छ ?

मुटुलाई स्वस्थ राख्ने अनस्याचुरेटेड फ्याट कुन खानेकुराबाट पाइन्छ ?