+

गर्भावस्थामा योनीस्राव भयो, कारण के होला ?

२०८१ जेठ  १ गते ११:४३ २०८१ जेठ १ गते ११:४३
Shares
गर्भावस्थामा योनीस्राव भयो, कारण के होला ?

६० देखि ६५ प्रतिशत महिलाले गर्भावस्थामा अधिक योनीस्रावको अनुभव गर्छन् । यसरी योनीस्राव अधिक हुँदा कतिपय महिला चिन्तित हुन्छन् । त्यसमा पनि योनीबाट दुर्गन्धित तरल पदार्थ आउँदा उनीहरु आत्तिन सक्छन् । यस्तोमा कति महिलालाई योनीस्राव कति सामान्य हो कि असामान्य भन्ने जिज्ञासा हुनसक्छ ।

योनीस्रावबारे यस्तै पाँच जिज्ञासा अनलाइनखबरले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुनिता व्यञ्जनकारलाई राखेको छ ।

के हो योनीस्राव ?

योनीबाट बग्ने तरल पदार्थलाई योनीस्राव भनिन्छ, जसले योनीलाई सफा राख्छ । बाह्य जीवाणुको संक्रमणबाट बचाउँछ ।

योनीस्राव महिलाको शारीरिक अवस्थाअनुसार परिवर्तन हुन्छ । जस्तै, महिनावारी चक्र र गर्भावस्थामा फरक किसिमको स्राव हुनसक्छ । जुन व्यक्तिअनुसार पनि फरक-फरक हुन्छ । कसैमा बढी हुनसक्छ, कसैमा कम ।

गर्भावस्थामा योनीस्राव कति सामान्य ?

गर्भावस्थामा प्रोस्टेरोजेन हार्मोनको स्तर उच्च हुन्छ । जसकारण योनीश्राव हुनु अलि बढी हुनु सामान्य हो । योनीश्रावले योनीमा संक्रमण हुन दिंदैन । यस्ता श्रावले योनीको सुरक्षा गर्छ ।

हल्का गन्धसहितको पातलो र हेर्दा दूधे सेतो तरल पदार्थ गर्भावस्थाको सुरुवातमा देखिन्छ ।

गर्भावस्थाको अन्तिम सातामा योनीस्राव बढ्न पनि सक्छ । सो समयमा बाक्लो र गुलाबी खालको तरलता देख्न सकिन्छ । जुन क्रमशः बढ्दै जान्छ । र, गर्भावस्थाभरि जारी रहन्छ । यो बच्चा जन्मिने तयार अवस्थामा छ भन्ने लक्षण हो, जुन व्यथा लाग्नुअघि देखिन्छ । यी गर्भावस्थामा हुने योनीस्रावलाई ‘ल्युकोरिया’ भनिन्छ । यो हेर्दा सफा र सेतो देखिन्छ । र, गन्धहीन हुन्छ । जुन हानिकारक मानिंदैन । यो सामान्य हो ।

तर केही अवस्थामा भने असामान्य खालका योनीस्राव हुनसक्छ । यदि हरियो, खैरो रङ, अत्याधिक गन्ध, चीज जस्तो जमेको र तरला भरिएको हुन्छ । यस्तो योनीस्राव बग्दा योनी वरिपरि चिलाउने र दुख्ने पनि हुनसक्छ ।

योनीमा ल्याक्टोब्यासिल्लास जस्ता फाइदाजनक ब्याक्टेरिया हुन्छन् । यी ब्याक्टेरियाको सन्तुलन बिग्रिएपछि खराब ब्याक्टेरियाले ठाउँ लिन्छ । र, असामान्य खालको योनीस्राव हुनसक्छ । यौनाङ्ग संक्रमण र कुनै औषधिको प्रयोग पनि यसको कारण हुनसक्छ ।

असामान्य योनीस्रावको लक्षण के-कस्ता हुनसक्छन् ? जटिलताको सम्भावना कति हुन्छ ?

अचानक योनीस्राव अधिक भयो । र, रंग फरक-फरक देखिएमा चिकित्सकलाई देखाइहाल्नुपर्छ । लगातार पानी जस्तो तरलता भएको स्राव बगिरहेको छ भने प्रसवअघि नै व्यथा लागेको बुझ्नुपर्छ ।

यदि ‘भजाइनल थ्रस’ र ब्याक्टेरियल भजाइनासिस गरी दुई संक्रमण देखिएमा पनि असामान्य योनीस्राव हुनसक्छ ।

भजाइनल थ्रस फंगल इन्फेक्सन (ढुसी) को कारण हुनसक्छ, जुन हेर्दा दही जस्तो बाक्लो र सेतो हुन्छ । जसले योनी चिलाउने र दुख्ने हुन्छ । तर यसले गर्भेशिशुलाई भने कुनै हानि गर्दैन ।

त्यस्तै, ब्याक्टेरियल भजाइनोसिस यौनाङ्ग वरपर सूक्ष्म जीवहरुको असन्तुलनका कारणले योनीमा संक्रमण गराउँछ । संक्रमित हुँदा खरानी वा हरियो रङको श्राव देखिन्छ  । जुन माछा जस्तो गन्हाउँछ । यस्तो स्राव हुँदा चिलाउने र असहज महसुस हुन्छ । जसले समय अगावै व्यथा लाग्न सक्छ ।

ब्याक्टेरियल भजाइनोसिसले यौनजन्य संक्रमण एचआईभी एड्स, ट्राइकोमोनास भेजिनालिस र भजाइनल क्यान्डियसिस जस्ता संक्रमणको जोखिम बढाँउछ ।

भजाइनल क्यान्डियसिस गर्भावस्थामा देखिने संक्रमण हो, जुन क्यान्डिडा प्रजातिको विकास अत्याधिक मात्रामा हुँदा हुनसक्छ । कडा खालको एन्टिबायोटिक औषधिको उपचार गराएकी गर्भवती,  एचआईभी/एड्स, मधुमेह र प्रतिरोधात्मक क्षमता कम भएकी गर्भवती महिलामा यसको संक्रमणको जोखिम उच्च हुन्छ ।

भजाइनल क्यान्डियसिस भएमा योनीबाट स्राव मात्र नभई योनीमार्गमा पीडा हुने र चिलाउने लक्षण देखिन्छ । साथै, यसकै कारण गर्भ खेर जाने, कम तौलको शिशु जन्मिने र समयपूर्व जन्मिने जस्ता जटिलता देखिनसक्छ ।

गर्भावस्थामा रगत मिश्रित स्राव वा रक्तस्राव हुनु कतिको जटिल समस्या हो ?

प्रत्येक तीन महिलामा एक जनाले गर्भावस्थाको पहिलो त्रैमासिकमा हल्का रक्तस्राव अनुभव गर्छन्, जुन सामान्य हो । कतिपयले त्यो अवधिभन्दा पछि पनि स्रावको अनुभव गर्छन् भने पक्कै चुप लागेर बस्नु हुँदैन ।

पहिलो त्रैमासिकपछि पनि रक्तस्राव भइरहन्छ । र, अत्याधिक हुन्छ भने तत्काल अस्पताल जानुपर्ने हुन्छ । किनकि अत्याधिक रक्तस्राव गर्भ तुहिनुको संकेत हुनसक्छ ।

त्यस्तै, सालले पाठेघरको मुखनेरको सम्पूर्ण भाग ढाकेमा पनि रक्तस्राव हुनसक्छ । २० सातापछि यस्तो समस्या देखिनसक्छ । जुन त्यति दुर्लभ होइन । यसरी सालले पाठेघरको तल्लो भाग ढाक्दा आमा र शिशु दुवैको लागि जोखिम हुन जान्छ । साथै, ३७ साताभन्दा अघि अत्याधिक पेट दुखाइका साथै रक्तस्राव भइरहेको छ भने समयअगावै बच्चा जन्मिन सक्छ ।

गर्भावस्थामा रक्तस्राव कसरी रोक्ने ?

गर्भावस्थामा कुनै पनि प्रकारको रक्तस्राव रोक्न नसकिने भएपनि नियमित रक्त परीक्षण गराउनुपर्छ । यसले शरीरमा रगतको मात्रा र गर्भावस्थामा रगत चढाउनुपर्ने, नपर्ने पत्ता लगाउन मद्दत गर्न सक्छ । र, यसरी समय-समयमा रगत परीक्षण गर्दा सामान्य समस्या मात्र हो वा रक्तस्रावको कुनै सम्भावना छ भनेर पहिचान गर्न सक्छ ।

-योनीमा संक्रमण भए चिकित्सकले गर्भावस्थालाई मध्यनजर राखेर एन्टिबायोटिक वा अन्य औषधिहरू सिफारिस गर्न सक्छन् । यी औषधिले संक्रमण फैलिनबाट रोक्छ । र, असामान्य योनीस्राव कम गर्दै लैजान्छ ।

-गर्भावस्थामा ट्याम्पोन प्रयोग गर्नुहुँदैन ।

-डिस्चार्ज सोस्ने पेन्टी लाइनर लगाउनुपर्छ ।

-योनीलाई सुक्खा राख्नुपर्छ ।

-पिसाब वा दिसा गरेपछि प्रजनन् अंगको क्षेत्रलाई अगाडि देखि पछाडि पुछ्नुपर्छ ।

-कसिलो जिन्स र नाइनलको पेन्टी लगाउनुको साटो सुतीको प्रयोग गर्नुपर्छ ।

-गर्भावस्थामा उपभोग गर्न सुरक्षित हुने प्रोबायोटिक खानेकुरा र परिपूरक खानाहरू सेवन गर्नुपर्छ । जसले योनीमा ब्याक्टेरियाको सन्तुलन बिग्रिनबाट रोक्छ ।

गर्भावस्था डा. सुनिता व्यञ्जनकार महिला स्वास्थ्य योनीस्राव
डा. सुनिता व्यञ्जनकार
लेखक
डा. सुनिता व्यञ्जनकार
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. व्यञ्जनकार हाल पाटन अस्पतालमा कार्यरत छिन् । प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी उनको नेपाल मेडिकल दर्ता नम्बर ८७९० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘मस्तिष्क ट्युमरको विश्वस्तरीय उपचार सेवा वीरमै छ’ (भिडियो)

‘मस्तिष्क ट्युमरको विश्वस्तरीय उपचार सेवा वीरमै छ’ (भिडियो)

मधुमेह र मोटोपनले कमजोर हुन्छ मांसपेशी, बलियो बनाउने १० उपाय

मधुमेह र मोटोपनले कमजोर हुन्छ मांसपेशी, बलियो बनाउने १० उपाय

छालाको उपचारमा गलत अभ्यास, निम्तिँदै गम्भीर स्वास्थ्य समस्या

छालाको उपचारमा गलत अभ्यास, निम्तिँदै गम्भीर स्वास्थ्य समस्या

हिँड्दा डिप्रेसन र चिन्ता कम हुन्छ ?

हिँड्दा डिप्रेसन र चिन्ता कम हुन्छ ?

लम्पी स्किन रोग लागेका राँगाभैंसीको मासु खाए के हुन्छ ?

लम्पी स्किन रोग लागेका राँगाभैंसीको मासु खाए के हुन्छ ?

स्टेज ४ स्तन क्यान्सर हुँदैमा मरिहालिन्छ भन्ने हुँदैन

स्टेज ४ स्तन क्यान्सर हुँदैमा मरिहालिन्छ भन्ने हुँदैन