+

डेंगुको खास औषधि छैन, निको हुने उपाय के छ ?

२०८१ जेठ  १ गते १८:३७ २०८१ जेठ १ गते १८:३७
डेंगुको खास औषधि छैन, निको हुने उपाय के छ ?

डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट लाग्ने पीडादायी र शरीरलाई कमजोर पार्ने संक्रामक रोग हो । यो रोग डेंगु भाइरसबाट सर्छ, जुन एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा प्रवेश गर्छ ।

डेंगुका धेरैजसो लक्षणहरू सामान्य भाइरल ज्वरोसँग मिल्दोजुल्दो हुने भएकाले धेरैजसो मानिसले ज्वरोलाई भाइरल भएको भन्दै बेवास्ता गर्छन् । कथंकदाचित दोस्रोपटक डेंगु भाइरसबाट संक्रमित व्यक्तिमा गम्भीर रोग लाग्ने जोखिम बढी हुन्छ ।

डेंगु ज्वरो लामखुट्टेको संक्रमणबाट हुने घातक रोग हो । तसर्थ, आफ्नो स्वास्थ्य सुरक्षित राख्न डेंगुको बारेमा बुझ्न धेरै महत्त्वपूर्ण छ । गर्मी र विशेषगरी वर्षायाममा डेंगु लगायतका लामखुट्टेबाट सर्ने रोगहरु बढ्छन् ।

नेपालका पछिल्लो केही वर्षदेखि गर्मी लागेसँगै डेंगुका बिरामी बढ्दै गएको देखिन्छ । डेंगुको संक्रमण भएमा प्लेटलेट्सको संख्या कम हुन थाल्छ । त्यसैले गर्मीयाममा ज्वरो आएमा डेंगुको जाँच गराउनुपर्छ ।

डेंगु भएमा ज्वरो बाहेक टाउको, मांसपेशी र जोर्नी दुख्ने गर्छ । यसबाहेक आँखाको पछाडि दुख्ने, कमजोरी हुने, भोक नलाग्ने, घाँटी दुख्ने, मुखमा नराम्रो स्वाद आउने, शरीरमा दागहरू आउने जस्ता लक्षण पनि देख्न सकिन्छ ।

डेंगु कसरी हुन्छ ?

डेंगु सामान्यतया पोथी एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट सर्छ । यी एक विशेष प्रकारको लामखुट्टे हुन् । यी लामखुट्टेले विशेष गरी बिहान टोक्ने गर्छ । डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ गरी डेंगु भाइरसका चार उपजाति छन् ।

लामखुट्टेले पहिले नै संक्रमित व्यक्तिलाई टोक्दा भाइरस लामखुट्टेमा प्रवेश गर्छ । यो रोग तब फैलिन्छ जब त्यो लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्छ र भाइरस व्यक्तिको रगतबाट फैलिन्छ । एक पटक डेंगु ज्वरोबाट निको भइसकेपछि निश्चित उपजातिका भाइरसबाट प्रतिरोधी हुन्छन्, तर अन्य तीन प्रकारका भाइरसबाट होइन । यदि तपाईं दोस्रो, तेस्रो वा चौथो पटक संक्रमित हुनुभयो भने तपाईंलाई गम्भीर खालको डेंगु ज्वरो हुनसक्छ । जसलाई डेंगु हेमोरेजिक ज्वरो भनिन्छ । पटक-पटकको संक्रमणले हेमोरेजिक ज्वरो हुने सम्भावना बढ्छ ।

डेंगु ज्वरोका लक्षणहरू

-अचानक उच्च ज्वरो आउने

-गम्भीर टाउको दुख्ने

-जोर्नी र मांसपेशीहरुमा गम्भीर दुख्ने

-आँखा पछाडि दुख्ने

-लिम्फ ग्रन्थीहरू सुन्निने

-वाकवाकी लाग्ने

-बान्ता आउने

-चिलाउने

-थकाइ लाग्ने

डेंगबाट बच्ने उपाय

– एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्छ । खासगरी बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले पूरै शरीर ढाक्ने लुगा लगाउनुका साथै लामखुट्टेले नटोक्ने मलम शरीरका देखिने भागमा लगाउनुपर्छ ।

– घरको झ्यालढोकामा  लामखुट्टे नछिर्ने जाली हाल्ने, घरभित्र लामखुट्टे मfर्ने औषधि कुनाकाप्चामा पनि छर्कन सकिन्छ । औषधि छर्किसकेपछि घरको झ्याल ढोका कम्तीमा १५ देखि २० मिनेट बन्द गर्नुपर्छ ।

– एडिस लामखुट्टे सफा र जमेको पानीमा पाइन्छ । पानीको भाँडो वा ट्याङ्कीलाई जहिले पनि छोप्नुपर्छ । आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने, घरभित्र भण्डारण गरेर राखिएको पानी पनि राम्ररी छोपेर राख्नुपर्छ ।

– आवश्यक भएमा उचित कीटनाशक औषधि प्रयोग गर्न सकिन्छ । लामखुट्टेको प्रजनन् स्थलको विकास हुने सम्भावनालाई कम गर्न, पानी जम्मा गर्न सक्ने भाँडाकुँडाहरू घोप्ट्याएर राख्नुपर्छ र सतह राम्ररी सफा गर्नुपर्छ ।

– घरभित्र भण्डारण गरेर राखिएको पानी पनि राम्ररी छोपेर राख्नुपर्छ ।

– बिहान, दिउँसो, राति जुनसुकै बेला झुल लगाएर मात्र सुत्नुपर्छ ।

– पूरै शरीर ढाक्ने लुगा लगाउनुपर्छ ।

– घरभित्र भण्डारण गरेर राखिएको पानी पनि राम्ररी छोपेर राख्नुपर्छ । लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्नुपर्छ ।

– काम नलाग्ने र पानी भरिन सक्ने सामान जस्तै बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्नुपर्छ ।

– आफ्नो घर वरिपरि, कार्यस्थल र विद्यालयको अँध्यारा कुना–काप्चा, जस्तै- पर्दा पछाडि, खाटमुनि, शौचालयभित्र, डेस्क-बेन्चमुनि जस्ता ठाउँहरुमा कीटनाशक औषधि छर्किनुपर्छ ।

डेंगु भएमा के खाने ?

मेवा

आहारविद्का अनुसार मेवामा इमोपापाइन र पापाइन जस्ता इन्जाइमहरू पाइन्छ । जसले रगतमा प्लेटलेट्सको संख्या (डेंगु उपचार) बढाउन मद्दत गर्छ । त्यसैले डेंगुबाट पीडित व्यक्तिलाई मेवा खान  सल्लाह दिइन्छ ।

नरिवलको पानी

डेंगु भएमा नरिवलको पानी पिउन सल्लाह दिइन्छ । यसमा एन्टिअक्सिडेन्ट, एमिनो एसिड, इन्जाइम, भिटामिन सी जस्ता धेरै पोषक तत्व पाइन्छ । जसले शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ । डेंगु ज्वरोले शरीरमा कमजोरी निम्त्याउँछ, यस्तो अवस्थामा नरिवल पानीको सेवन गर्नु फाइदाजनक हुन्छ ।

बेसार

विज्ञहरुका अनुसार डेंगुका बिरामीले बेसारको सेवन गर्नुपर्छ । यसमा एन्टि-इन्फ्लेमेटरी र एन्टि-ब्याक्टेरियल गुण पाइन्छ । यिनीहरूले मेटाबोलिज्म र इम्युनिटी बढाउने काम गर्छ । राति सुत्नुअघि बेसारयुक्त दूध पिउनाले डेंगु हुँदा फाइदा हुन्छ ।

अमिला फलहरू

डेंगु ज्वरोमा किबी, सुन्तला जस्ता अमिलो फलफूल खानु उपयुक्त हुन्छ । यसको सेवन लाभदायक मानिन्छ । डेंगु ज्वरोमा यी फलफूल खाँदा रोगप्रतिरोधात्मक क्षमता बलियो हुन्छ । र, डेंगुबाट छुटकारा पाउन सकिन्छ । डेंगु ज्वरो आएपछि यी फलफूलको सेवनले रोगप्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।

डेंगु भएमा के नखाने ?

डेंगु रोगी चिया, कफी, सोडा वा सफ्ट ड्रिंक जस्ता चीजबाट टाढा रहनुपर्छ । यसले डिहाइड्रेसनको समस्या निम्त्याउन सक्छ । यो डेंगु ज्वरोमा हानिकारक हुनसक्छ ।

डेंगुमा मसालेदार खानाबाट टाढा रहनुपर्छ । यसको सेवनले एसिडिटी र पेटसम्बन्धी समस्या बढ्न सक्छ । ज्वरोबाट निको हुन पनि समस्या हुनसक्छ ।

डेंगु रोगीलाई भुटेको खानेकुरा दिनु हुँदैन । यसले बोसो बढाउँछ र प्रतिरक्षा कमजोर हुनसक्छ । यदि यस्तो भयो भने ज्वरोबाट छुटकारा पाउन गाह्रो हुनसक्छ ।

चिल्लो खानेकुरा

डेंगु रोगीले धेरै तेल र मसला भएको खानेकुरा खानु हुँदैन । कुनै पनि खानेकुराका लागि हल्का खाना मात्र रोज्नुपर्छ । वास्तवमा, चिल्लो भएको खानेकुरामा धेरै बोसो पाइन्छ, जसले उच्च रक्तचाप र उच्च कोलेस्टेरोल जस्ता समस्या निम्त्याउन सक्छ ।

डेंगुको उपचार

डेंगु ज्वरोको कुनै खास उपचार छैन । समयमै हेरचाह प्राप्त गर्नाले रोग गम्भीर भएपनि तंग्रिन मद्दत गर्छ । डेंगु संक्रमणको उपचारका लागि कुनै विशेष औषधि छैन । डेंगु ज्वरो छ जस्तो लाग्छ भने प्रशस्त आराम गर्नुपर्छ, प्रशस्त तरल पदार्थ पिउनुपर्छ । पिसाब कम लाग्ने, मुख वा ओठ सुक्खा हुने, निद्रा लाग्ने वा अलमल हुने, हातखुट्टा चिसो हुने जस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ ।

प्यारासिटामोल औषधिले मांसपेशी दुखाइ र ज्वरो कम गर्न मद्दत गर्छ । डेंगु ज्वरोमा चिकित्सकको सल्लाह विना एन्टिप्लेटलेट औषधि खानु हुँदैन । तर यदि डेंगु ज्वरो नै हो भने डेंगु ज्वरोको कारण रगत बग्ने जटिलताहरूको जोखिमबाट बच्न डाक्टरको सल्लाह विना प्यारासिटामोल बाहेक पीडानाशक अन्य औषधि सेवन गर्नु हुँदैन ।

यदि ज्वरो कम भएको पहिलो २४ घण्टामा असहज महसुस हुन थाल्यो भने तुरुन्तै अस्पतालमा डेंगु ज्वरोको जटिलताको जाँच गराउनुपर्छ ।

तरल पदार्थ प्रशस्त मात्रामा लिनुपर्छ ।  यो एकदमै  महत्वपूर्ण छ, किनकि बान्ता र उच्च ज्वरोको बेला हाम्रो शरीरमा तरल पदार्थको मात्रा धेरै कम भएको हुन्छ । तरल पदार्थको नियमित सेवनले शरीरमा सजिलै हाइड्रेसनको सुनिश्चित गर्छ ।

डेंगु नियन्त्रणका लागि स्वच्छता अत्यन्तै महत्त्वपूर्ण छ । डेंगुरोगीले सरसफाइमा ध्यान दिएमा चाँडै स्वस्थ हुनमा मद्दत पुग्छ ।

(जोशी हेल्थ असिस्टेन्ट हुन् ।)

डेंगु पुष्करराज जोशी संक्रामक रोग
लेखक
पुष्करराज जोशी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय