+

८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

२०८१ जेठ  २ गते ७:०० २०८१ जेठ २ गते ७:००
८ गल्ती, जसले मुटुरोग लाग्न सक्छ

धेरैजसो रोग लाग्नुको पछाडि हामी स्वयं कारण बन्ने गर्छौं । हाम्रो खानपान, बसाइ, दिनचर्या, सोच यावत् कुराले पनि शरीरलाई रोगी बनाउने जोखिम हुन्छ ।

हामीले जानेर वा नजानेर गर्ने गल्तीहरुको नतिजा हो, शरीरमा रोग लाग्नु । मुटुरोग पनि यस्तै गल्तीको कारण लाग्नसक्छ ।

मोटोपन

मोटोपनले मुटुरोगलाई बढावा दिने गर्छ । मोटोपन भएको व्यक्तिमा ‘ट्राइग्लाइसेराइड्स’ भन्ने एक प्रकारको बोसोको मात्रा धेरै हुन्छ र नराम्रो कोलेस्टेरोलको मात्रा पनि बढी हुन्छ । यी सबै कुराले गर्दा मुटुको रक्तनली र दिमागमा जाने रक्तनलीमा लामो समय बोसो जमेर मुटुको रक्तनसाहरू बन्द हुने, मस्तिष्कमा जाने रक्तनसाहरू बन्द हुने सम्भावना बढ्छ । साथै शरीरको अन्य भागका रक्तनलीहरु बन्द हुने सम्भावना बढ्छ । यही कारणले हृदयघात, मस्तिष्कघातको जोखिम बढाउँछ ।

पर्याप्त निद्रा नपुग्नु

मुटुले २४ घण्टा काम गर्ने भएपनि सुत्दा त्यसमा पर्ने दबाब कम हुन्छ । किनभने सुत्दा र आराम गर्दा शरीरले रक्तप्रवाहका लागि त्यति मेहनत गर्नु पर्दैन । तसर्थ, पर्याप्त निद्रा प्राप्त नगर्दा हृदय प्रणालीले आराम पाउँदैन र मुटुरोगको जोखिम बढ्छ । अनुसन्धानका अनुसार वयस्कहरूले हरेक रात ७ देखि ८ घण्टा र किशोरकिशोरी र युवाहरूले हरेक रात ९ देखि १० घण्टा सुत्नुपर्छ ।

दिनभर एकै ठाउँमा बसेर काम गर्ने

हरेक दिन ५ घण्टा वा सो भन्दा बढी बस्ने र पर्याप्त हिंडडुल नगर्ने मानिसमा हृदयघातको समस्या हुने जोखिम बढेको हुन्छ । लामो समयसम्म बस्दा पनि हृदयघात हुने सम्भावना बढ्छ । कामको लागि दिनभर बस्नुपर्छ भने पनि समय-समयमा ब्रेक लिनुपर्छ । जीवनशैलीमा भएको यो सानो परिवर्तनले पनि धमनीहरूलाई लचिलो बनाउन र रक्तसञ्चार बढाउँछ ।

अत्याधिक तनाव

तनाव हार्मोनले रक्तचाप बढाएर प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ । अत्याधिक तनावले मुटुको रक्तनलीलाई हानि पुर्‍याउँछ, जसले हृदयघात र मस्तिष्कघातको जोखिम बढाउँछ । मधुमेह, उच्च रक्तचाप, मिर्गौला र अन्य स्वास्थ्य समस्या भएका बिरामी झन् धेरै सचेत हुनुपर्छ ।

मद्यपान

रक्सीको अत्याधिक सेवनले उच्च रक्तचाप, मस्तिष्कघात र मोटोपन निम्त्याउन सक्छ । यी सबैले मुटुरोग लाग्ने सम्भावना बढाउँछ । साथै, केही अनुसन्धानले यो पनि देखाएको छ कि थोरै मात्रामा पनि रक्सीको सेवन मुटुका लागि हानिकारक हुन्छ ।

धुम्रपान

धुम्रपानले पनि मुटुरोगको जोखिमलाई बढाउँछ । चुरोटले हाम्रो मुटुको नसामा भएको भित्री पत्रलाई पातलो बनाइदिन्छ । यसले त्यो पत्र पातलो भएर फुट्ने सम्भावना बढी हुन्छ । जसकारण त्यहाँ गएर रगत जमेर हृदयघात हुने हुन्छ ।

वायु प्रदूषण

स्वस्थ मुटुका लागि वायु प्रदूषणबाट पनि बच्नुपर्ने हुन्छ । सवारी साधनबाट निस्कने धुलो र धुवाँका स-साना कणले मुटुमा ठूलो हानि पुर्‍याउन सक्छ । त्यसैले वायु प्रदूषणको जोखिमबाट बच्न मास्कको प्रयोग गर्ने र धेरै प्रदूषण भएको बेला अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कने गर्नुपर्छ ।

स्टेरोइडको प्रयोग

युवाहरू जो शारीरिक रुपमा धेरै सक्रिय छन् वा व्यायामको लागि जिम जान्छन् । उनीहरूले मांसपेशी बढाउन स्टेरोइडको प्रयोग गरेको पाइन्छ । यसरी जथाभावी स्टेरोइड प्रयोगले पनि मुटुरोगको जोखिम बढाउँछ ।

 

डा. अभिषेक ठाकुर मुटुरोग स्वास्थ्य
डा. अभिषेक ठाकुर
लेखक
डा. अभिषेक ठाकुर
मुटुरोग विशेषज्ञ

डा. ठाकुर मुटुरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत छन् । ठाकुरको मेडिकल काउन्सिल तर्दा नम्बर १३०५८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय