+
+

सन् २०२३ बलिउडका लागि फलदायी, चार ‘एडल्ट’ फिल्मले कमाए १८ सय ७५ करोड

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १३:०१

काठमाडौं । सन् २०२३ भारतीय फिल्म उद्योगको लागि सफल रह्यो । यो वर्ष रिलिज भएका फिल्मले करिब ११ हजार ७३० करोड भारुको कीर्तिमानी कमाइ गरेका छन् । पाँच फिल्मले मात्रै बक्स अफिसमा ४ हजार ३८६ करोड भारु कमाए । नयाँ प्रवृत्ति के देखियो भने चार एडल्ट सर्टिफिकेट पाएका फिल्मले मात्र करिब १ हजार ८७५ करोड कमाए ।

अभिनेताको कुरा गर्दा यो वर्ष शाहरुख खानका लागि फलदायी साबित भयो । उनका तीन फिल्म रिलिज भए जसमा दुई ब्लकबस्टर बने । सनी देओलले ‘गदर २’ मार्फत धमाकेदार कमब्याक गरे । ‘एनिमल’ले रणवीर कपुरलाई नयाँ सुपरस्टारको रूपमा स्थापित गर्‍यो । अभिनेत्रीमध्ये आलिया भट्ट, दीपिका पादुकोण, कियारा आडवाणीका फिल्म हिट थिए ।

ओर्मेक्स मिडियाको रिपोर्ट अनुसार कोरोना अवधिपछि २०२३ भारतीय फिल्म उद्योगले सबैभन्दा धेरै कमाएको वर्ष हो । २०२२ मा बक्स अफिसमा १ हजार ९३ करोडको कलेक्सन थियो, जबकि २०२३ मा यो ११ हजार ७३० करोड रुपैयाँ पुग्यो ।

यस वर्षको आम्दानीसँगै बजार कोभिडको समयमा भएको नोक्सानीबाट पूर्णरुपमा मुक्त भएको छ । कोरोनाको समयमा लकडाउनमा करिब १५ हजार करोड रुपैयाँ नोक्सान भएको थियो ।

ओरमेक्स मिडियाका बिजनेस डेभलपमेन्ट (थिएट्रिकल) प्रमुख संकेत कुलकर्णी भन्छन्, ‘बक्स अफिसमा हिन्दी फिल्मको कमाइ बढ्नुमा तीन ठूला कारण छन् । पहिलो– दर्शकले हलमा एक्सन फिल्म मात्रै हेर्न चाहेको देखियो । दोस्रो- बलिउडले यस्ता फिल्म बनायो जसको लागि दर्शक बढी पैसा खर्च गर्न तयार रहे । तेस्रो- हिन्दी सिनेमाले बलिउड स्टारको प्रसिद्धिको फाइदा उठाउँदै र दक्षिण भारतीय निर्देशकको कथा भन्ने शैलीलाई जोड्दै दर्शकलाई आकर्षित गर्‍यो ।’

यो वर्ष मात्र रिलिज भएका पाँच फिल्मको विश्वव्यापी कलेक्सन ४ हजार ३८६ करोड रुपैयाँ भारु छ । जसमध्ये चार फिल्म हिन्दी र एउटा तमिल भाषामा थिए । शाहरुख खानको ‘जवान’ शीर्ष स्थानमा र ‘पठान’ दोस्रो स्थानमा रह्यो । रणवीर स्टारर ‘एनिमल’ तेस्रो नम्बरमा रह्यो । सन्नी देओलको ‘गदर २’ चौथो सबैभन्दा धेरै कमाउने फिल्म बन्यो भने विजय थलापति स्टारर ‘लियो’ पाँचौं सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ।

०० करोड क्लबमा ६ फिल्म, ‘सलार’ सातौं

गत वर्षसम्म कुनै फिल्मले ३०० करोड क्लबमा पुग्नु ठूलो कुरा थियो । तर अहिले यो मापदण्ड फेरिएको छ । अहिले फिल्म ५०० करोड क्लबमा पुग्ने प्रतिस्पर्धा छ । यो वर्ष ६ फिल्मले ५०० करोडको आँकडा पार गरेका छन् । जसमा जवान, पठान, एनिमल, गदर २, लियो र जेलर जस्ता फिल्म छन् । तीन दिनमा ४०० करोड कमाएको ‘सलार’ यो क्लबमा पुग्ने सातौं फिल्म हुनेछ ।

यो वर्ष बक्स अफिसमा नयाँ ट्रेन्ड देखिएको छ । ‘ए सर्टिफिकेट’का फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरे । यो वर्ष चार ठूला चलचित्रलाई ‘ए सर्टिफिकेट’ दिइएको थियो जसमा ओएमजी २, एनिमल, सलार र द केरला स्टोरी समावेश छन् ।

सन् २०२३ मा बलिउडका सिनियर अभिनेता शाहरुख खान, सलमान खान, अक्षय कुमार, सनी देओलको फिल्मले राम्रो प्रदर्शन गरे । ५८ वर्षका शाहरुख यस वर्षकै सबैभन्दा ठूलो स्टार साबित भए, जसका दुई फिल्मले बक्स अफिसमा २ हजार १९३.९९ करोड भारु कलेक्सन गरेका छन् ।

उनको तेस्रो फिल्म ‘डंकी’ ब्लकबस्टर साबित हुन सकेन । तर यसले तीन दिनमा २१५ करोडको कलेक्सन गर्‍यो । शाहरुखले चार वर्षपछि फिल्ममा कमब्याक गरेका हुन् । यसअघि २०१८ मा रिलिज भएको उनको फिल्म ‘जिरो’ फ्लप साबित भएको थियो ।

५८ वर्षीय सलमानका यो वर्ष दुई फिल्म रिलिज भए । जसले बक्स अफिसमा औसत व्यापार गरे । अप्रिल २१ मा रिलिज भएको सलमान स्टारर फिल्म ‘किसी का भाइ किसी की जान’ले ग्लोबल बक्स अफिसमा १९२ करोड कलेक्सन गर्‍यो भने दिवालीमा रिलिज भएको ‘टाइगर ३’ ले ४६६ करोड कमाउन सफल भएको थियो ।

५६ वर्षीय अक्षय कुमारका लागि २०२३ मिश्रित वर्ष साबित भयो । उनका तीनवटा फिल्म रिलिज भएका थिए, जसमा सेल्फी र मिसन रानीगञ्ज फ्लप भए । ओएमजी २ कुल २२१ करोड कमाएर हिट साबित भयो ।

युवा कलाकारमध्ये रणवीर कपुरका लागि यो वर्ष पूर्णतया भाग्यशाली रह्यो । ‘एनिमल’ले उनलाई सुपरस्टारको श्रेणीमा ल्यायो । यसअघि मार्चमा रिलिज भएको ‘तु झुठी मैं मक्कर’ पनि हिट साबित भयो र २२० करोड कमाएको थियो । एनिमलले ५०० करोडभन्दा बढी कलेक्सन गरिसकेको छ । उनीबाहेक रणवीर सिंहले ‘रकी और रानी की प्रेम कहानी’ जस्तो हिट फिल्म दिए ।

विक्की कौशलका लागि पनि यो वर्ष निकै राम्रो रह्यो । उनका दुई फिल्मले १०० करोडभन्दा बढी कलेक्सन गर्न सफल भएका थिए । जुन २ मा रिलिज भएको फिल्म ‘जरा हटके जरा बचके’ ले ११५ करोड कमायो । योसँगै डिसेम्बर १ मा रिलिज भएको ‘सामबहादुर’ले पनि हालसम्म १०९ करोड कमाइसकेको छ । रणवीर र विक्कीबाहेक कार्तिक आर्यनले पनि हिट दिन सफल भए । उनको फिल्म ‘सत्यप्रेम की कथा’ले ११७.७७ करोड कमाएको थियो ।

२०२३ मा दीपिका पादुकोण, आलिया भट्टजस्ता अभिनेत्रीको वर्चस्व थियो । दीपिका फिल्म ‘पठान’मा शाहरुखको अपोजिटमा देखिएकी थिइन्, जसमा ‘बेशरम रंग’ गीतमा उनको गेरुवस्त्रको बिकिनीलाई लिएर निकै विवाद भयो । वर्षको सबैभन्दा ठूलो हिट फिल्म ‘जवान’ मा पनि उनको विशेष भूमिका थियो ।

आमा बनेपछि आलिया भट्ट ‘रकी और रानी की प्रेम कहानी’मा देखा परिन् जुन हिट भयो । यसबाहेक उनी हलिउड फिल्म ‘हार्ट अफ स्टोन’मा पनि देखिइन् । व्यक्तिगत र व्यावसायिक रूपमा कियाराका लागि यो वर्ष राम्रो रह्यो । एकातिर उनले फेब्रुअरीमा सिद्धार्थ मल्होत्रासँग विवाह गरिन् । योसँगै २९ जुनमा रिलिज भएको फिल्म ‘सत्यप्रेम की कथा’ हिट भयो ।

२०२३ को डिसेम्बर भारतीय बक्स अफिसमा १ हजार ५९५ करोड रुपैयाँ भन्दा बढी कमाइका साथ इतिहासको सबैभन्दा ठूलो महिना साबित भयो । डिसेम्बर १ मा रिलिज भएको ‘एनिमल’ कमाइको हिसाबले सबैभन्दा अगाडि रह्यो । दोस्रो स्थानमा प्रभास स्टारर ‘सलार’ छ ।

डिसेम्बरबाहेक अगस्ट २०२३ मा पनि भारतीय बक्स अफिसमा १ हजार ५२९ करोड भारु कमाइको रेकर्ड बन्यो । १० अगस्टमा रिलिज भएको रजनीकान्तको ‘जेलर’ कमाइको हिसाबले सबैभन्दा अगाडि थियो । यो फिल्मले विश्वभर ७२३ करोड कमायो । दोस्रो स्थानमा सन्नी देओलको ‘गदर २’ थियो, जसले अगस्टमा ६११ करोड भारु कमाउन सक्यो ।

साउथका ठूला फिल्म जस्तै जेलर, पोन्निया सेल्वन : पार्ट २, वारिसु, वाथी, दसराले राम्रो कमाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?