+
+

एनएसएल फाइनल : ‘जसले टिम क्यारेक्टर देखाउँछ, उसैले जित्छ’

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १९:३६

१३ पुस, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फाइनलमा शनिबार धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्नैदछन् ।

धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । ललितपुरले पनि दोस्रो क्वालिफायरमा पोखरालाई नै पराजित गरेको थियो ।

लिग चरणमा दोस्रो भएको धनगढीले पहिलो क्वालिफायरमा लिगको शीर्ष स्थानमा रहेको पोखरालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको थियो ।

पहिलो क्वालिफायर हारे पनि पोखराले दोस्रो अवसर पाएको थियो । तर ललितपुरले अतिरिक्त समयमा पराजित गर्‍यो । लिगमा चौथो भएको ललितपुरले तेस्रो भएको काठमाडौं रेजर्सलाई ३-० ले पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो ।

२०७८ सालमा भएको पहिलो संस्करणमा पनि फाइनल पुगेको धनगढी काठमाडौं रेजर्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।

पहिलो संस्करणमा तेस्रो भएको ललितपुरले पहिलो पटक फाइनल खेल्न लागेको हो ।

यी दुई टिम जसले जिते पनि एनएसएलले नयाँ विजेता पाउनेछ । दोस्रो संस्करणको च्याम्पियनले एनएसएलको ट्रफीसहित नगद ७० लाख प्राप्त गर्नेछन् । उपविजेताले २० लाख पाउनेछन् ।

शुक्रबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान र प्रशिक्षकले फाइनलका लागि तयार भएको बताएका छन् । साथै फाइनल खेल प्रतिस्पर्धात्मक हुने पनि बताएका छन् ।

धनगढीका प्रशिक्षक युगल किशोर राईले फाइनल प्रतिस्पर्धात्मक हुने र राम्रो खेल्नेले जित्ने बताए ।

‘ललितपुरले दश खेलाडीमा भएर पनि क्वालिफायरमा राम्रो खेलेको थियो । फाइनल खेल कडा प्रतिस्पर्धा हुनेछ । इन्डिभिडुयल क्यारेक्टर र टिम क्यारेक्टर जसले देखाउँछ उसले जित्छ ।’

धनगढीका कप्तान देवेन्द्र तामाङले भोलि जितकै लागि खेल्ने बताए । पहिलो सिजन धनगढी फाइनल पुग्दा आफू नभएको भन्दै यस पटक उपाधि दिलाउन प्रयास गर्ने बताए ।

ललितपुरका मुख्य प्रशिक्षक इयान गिलानले प्रतियोगिताको क्लाइमेक्स नै फाइनल भएको बताए । स्पेनिस प्रशिक्षक गिलानले भने, ‘फाइनल कडा खेल हुनेछ । यो प्रतियोगिताको क्लाइमेक्स हो ।’

लगातार खेल्नुपर्दा खेलाडीलाई रिकभरीको टाइम कम भएको र फिजियोले लगातार काम गरिरहेको उनले बताए । फाइनलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा रहेको उनले बताए ।

कप्तान अनन्त तामाङले धनगढीले पहिलो क्वालिफायरमा पोखरासँग राम्रो खेलेको भन्दै फाइनलमा आफ्नो टिमले पनि राम्रो खेल्नुपर्ने बताए । ‘हामी आफ्नो बेस्ट दिनेछौं,’ उनले भने ।

धनगढीको नतिजा

वीरगञ्ज युनाइटेड विरुद्ध २-१ ले विजयी
बुटवल विरुद्ध १-० ले विजयी
ललितपुरसँग गोलरहित बराबरी
स्पोर्टिङ इलाम विरुद्ध २-२ को बराबरी
चितवन विरुद्ध १-० ले विजयी
काठमाडौं विरुद्ध १-१ को बराबरी
झापा विरुद्ध २-० ले पराजित
पोखरा विरुद्ध १-१ को बराबरी

प्लेअफ :
पोखरा विरुद्ध पेनाल्टीमा ४-३ ले विजयी

ललितपुरको नतिजा

बुटवल लुम्बिनी विरुद्ध २-० ले विजयी
पोखरा थण्डर्ससँग गोलरहित बराबरी
धनगढीसँग गोलरहित बराबरी
वीरगञ्ज युनाइटेड विरुद्ध २-२ को बराबरी
चितवन विरुद्ध ३-१ ले विजयी
झापा विरुद्ध गोलरहित बराबरी
स्पोर्टिङ इलामसँग १-० ले पराजित
काठमाडौं विरुद्ध १-० ले पराजित

एलिमिनेटर :
काठमाडौ विरुद्ध ३-० ले विजयी

क्वालिफायर टु :
पोखरा विरुद्ध २-१ ले विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?