+
+

करण र सागरको उत्कृष्ट प्रदर्शनमा पुलिस क्लब च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते ८:४८

१५ पुस, काठमाडौं । करण केसीको विष्फोटक ब्याटिङक अनि सागर ढकालको ४ विकेट बलिङ प्रदर्शनमा नेपाल पुलिस क्लबले प्रो क्लब च्याम्पियनसिप क्रिकेटको उपाधि जितेको छ ।

शनिबार पर्सास्थित नारायणी क्रिकेट मैदानमा भएको फाइनलमा घरेलु टोली पर्सा-११ लाई १०० रनको फराकिलो अन्तरले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

पुलिसले दिएको १४६ रनको लक्ष्य पछ्याएको पर्सा-११ पुलिसको बलर सामु टिक्न नसक्दा ११ ओभरमा ४५ रनमै अलआउट भयो । पर्सा ११ का लागि ओपनर अनिल शाहले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पर्सालाई  अलआउट गर्न पुलिसका सागर ढकालले  ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । यस्तै ललित राजवंशीले २ ओभरमा ५ रन तथा रासिद खानले १ ओभरमा ४ रन दिएर समान २ विकेट लिए । करण केसीले र शेर मल्लले समान एक/एक विकेट लिए । करणले तीन ओभरमा ७ रन मात्र खर्चे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले करणको आक्रामक ब्याटिङमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

करणले १७ बल खेल्दै पाँच छक्का प्रहार गरी अविजित ४० रन बनाए । अर्जुन साउदले २६, शंकर रानाले १९, दिलिप नाथले १७ तथा कप्तान आरिफ शेखले १६ रन जोडे ।

पर्सा-११ का सइफुल्लाह अन्सारी र पवन सर्राफले समान २ विकेट लिए ।

जोरा इन्टरनेसनलको आयोजनामा भएको दश दिने प्रतियोगितामा नेपालका चार र भारतका दुई गरी कुल ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?