+
+

फिनिसिङमा चुकेको नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १९:५४

१६ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल बुधबार नेदरल्यान्ड्ससँग मात्रै दुई रनले पराजित भयो ।

जितको लागि १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनायो ।

एक समय नेपाल १७ ओभरमा १३७–६ को दयनीय अवस्थामा थियो । जितको लागि नेपाललाई १८ बलमा ४८ रन चाहिएको थियो । क्रिजमा दीपेन्द्र सिंह ऐरी २८ रन र करण केसी ३ रनमा थिए ।

नेदरल्यान्ड्सले स्पिनर आर्यन दत्तलाई बलिङमा लगायो । दत्तको पहिलो बललाई दीपेन्द्रले पुल सट हान्दै विशाल छक्कामा परिणत गरे । दोस्रो र पाँचौ बलमा दीपेन्द्रले नै चौका हानेपछि यो ओभरमा १८ रन जोड्दै नेपाल खेलमा फर्कियो ।

अब १२ बलमा नेपाललाई जितको लागि ३० रन चाहिएको थियो । पहिलो बलमै दीपेन्द्रले तीव्र गतिका बलर भान डर गुग्टेनलाई चोभार एन्डको लङअनमा उत्कृष्ट छक्का हान्दै दर्शकमा खुसी र उत्साह बढाए ।
दोस्रो बलमा दीपेन्द्रले एक रन लिएपछि तेस्रो बलमा करणले पनि छक्का हाने । त्यसपछिका तीन बलमा गुग्टेनले योर्करका साथ दुई रन मात्रै दिए ।

रोमाञ्चक अन्तिम ओभर

नेपाललाई जितको लागि अन्तिम ६ बलमा १५ रन चाहिँदा स्ट्राइकमा दीपेन्द्र र ननस्ट्राइकमा करण थिए । पछिल्ला दुई ओभरको प्रदर्शनले खेल नेपालको पक्षमा आएको थियो र दर्शकमा उत्साह बढेको थियो ।

अन्तिम ओभरमा नेदरल्यान्ड्सको बलिङमा ३९ वर्षीय अनुभवी स्पिनर रोलेफ भान डर मर्वे आए ।

मर्वेको ओभर अघिल्ला २ ओभरजस्तो सहज नहुने अनुमान थियो । तर दीपेन्द्रले मर्वेको पहिलो बललाई एक स्टेप अघि बढेर एक्स्ट्रा कभरमा चौका हाने ।

दोस्रो फुल लेन्थको बललाई दीपेन्द्रले अघि बढेर सोहि ठाउँमा छक्का हाने । अब नेपाललाई जितको लागि ४ बलमा ५ रन चाहिएको थियो । खेल नेपालले जित्छ भनेर दर्शकको उत्साह झनै बढेको थियो ।

तेस्रो बलमा दुई रन लिनेक्रममा करण केसी रन आउट भए ।

त्यसपछि मर्वेले आफ्नो अनुभवको भरपूर्ण फाइदा उठाए । गुड लेन्थ बल खेलाउन पुगे । दीपेन्द्र स्वीप हान्न खोज्दा मिस हुँदा बोल्ड आउट हुन पुगे । जुन विकेट नेपालको हारको टर्निङ प्वाइन्ट बन्यो ।

त्यसपछि क्रिजमा आएका प्रतिशले पाँचौं बल स्वींग हुँदा छुन सकेनन् । अन्तिम बल लेग साइडमा खेलाए । डीप फाइनमा सट खेल्न खोजे पनि प्रतिश सफल हुन सकेनन् । एक रन मात्रै बटुल्न सके र नेपाल २ रनले पराजित भयो । उत्साहित दर्शक निराश भएर घर फर्किए ।

कमजोर बलिङ, डेथ ओभरमा पूनरागमन

त्रिविमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको थियो । नेदरल्यान्ड्सका माइकल लेभिटले आक्रामक ब्याटिङका साथ उत्कृष्ट सुरुवात दिलाए ।

एक समय नेदरल्यान्ड्सले खेलमा २२० को आसपासको योगफल बनाउने अनुमान गरिएको थियो । १५ ओभरमा नेदरल्यान्ड्स १४३–३ को अवस्थामा थियो ।

तर अन्तिम ५ ओभरमा ४१ रन मात्रै जोडेपछि १८४ रनमा रोकिएको थियो । जसमा १८ औं ओभरमा दीपेन्द्रको ३ रन र अन्तिम ओभरमा ७ रन निकै महत्वपूर्ण थियो ।

दुबै खेलमा फिनिसङमा समस्या

नेपालले ब्याटिङ बलियो बनाउन प्लेइङ–११ मा अलराउन्डरलाई बढी मौका दिँदै आएको छ । ललित बाहेक अन्य सबै खेलाडी ब्याटिङको क्षमता राख्छन् । तर पनि नेपाल फिनिसिङमा चुक्दै आएको छ ।

मंगलबारको खेलमा नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भएको थियो ।

अन्तिम १२ बलमा जितको लागि २४ रन चाहिएको थियो । हातमा २ विकेट थियो । रुबेन ट्रम्पलम्यानले चौथो बलमा दीपेन्द्रलाई क्याच र अन्तिम बलमा अभिनाश बोहरालाई बोल्ड गर्दै नामिबियालाई २० रनको जित दिलाएका थिए ।

ब्याटिङ बलियो बनाउन खोज्दा कमजोर बन्दै बलिङ

नेपालविरुद्ध दुबै खेलमा नामिबिया र नेदरल्यान्ड्सले खुलेर ब्याटिङ गरे । नामिबियाका जान निकोल लोफ्टी एटनले ३३ बलमै शतक पूरा गरेका थिए ।

कुशल मल्लको ३४ बलमा मंगोलियाविरुद्ध बनाएको शतकलाई पछि पार्दै एटन टी–२० आईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बने । नेपालको कमजोर बलिङकै कारण कुशल आफ्नो कीर्तिमान तोडिएको टुलुटुलु हेर्न बाध्य भए ।

दीपेन्द्रसिंह ऐरीलाई छाड्ने हो भने अन्य बलरको इकोनमी दुबै खेलमा १० माथि छ । प्रमुख बलर सोमपाल कामीले पहिलो खेलमा ३ ओभरमा ३४, करणले समान ओभरमा ३२ रन खर्चेर १ विकेट लिएका थिए । अभिनाश बोहराले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिएका थिए ।

दोस्रो खेलमा सोमपाल कामीले १ ओभरमा १४ रन खर्चिए । करणले ३ ओभरमा २९ रन खर्चेर १ विकेट लिएका थिए । त्यस्तै ललितले ४ ओभरमा ४२ रन खर्चेका थिए ।

ब्याटिङ बलियो बनाउन नेपालले अतिरिक्त ब्याटर प्लेइङ ११ मा खेलाउँदै आएको छ । सन्दीप जोराले त्यो रणनीतिमा मौका पाएका छन् ।

गुल्शन झालाई पनि नेपालले ब्याटिङ लोभमा मौका दिँदै आएको छ । जसले गर्दा एक प्रमुख बलरको कमी टोलीमा देखिन्छ । नेपालको प्रमुख हतियार बलिङ नै कमजोर बन्दै गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?