काठमाडौं । एउटा गायकका लागि अब गाउन सक्दिनँ कि भन्ने अवस्था कस्तो होला ? १० वर्षअघिको बहुचर्चित वेम्बली एरिनाको कन्सर्टको बेला अमृत गुरुङलाई यस्तै भएको थियो ।
लोकपप ब्याण्ड नेपथ्यका यी लिड भोकलिस्टभित्र उकुसमुकुस थियो । बीबीसीसँगको हालैको एक अन्तर्वार्तामा उनले वेम्बली एरिनाको कन्सर्टलाई आफूले जीवनकै अन्तिम कन्सर्ट ठानेको बताएका छन् । आफू त्यो समय धेरै पीडा दुःखी रहेको उल्लेख गरेका छन् ।
सन् २००५ मा अमृतको घाँटीमा फ्यारेन्जाइटिस रोग पहिचान भएको थियो । तर संगीतप्रतिको लगाव र निष्ठाले अमृतलाई कहिल्यै झुकाएन । बरु उनी नयाँ जोशसहित स्टेजमा उत्रिए । सन् २०२३ मा उनले क्यानडा, अष्ट्रेलिया र जापानमा भव्य कन्सर्ट गरे । उनको गायकीको जोशमा संगीतप्रेमीले मनोरञ्जन लिए ।
नेपथ्य ब्याण्डले अहिलेसम्म १७ देशमा सांगीतिक प्रस्तुति दिइसकेको छ ।
उनै अमृत आइतबार जन्मदिन मनाउँदैछन् । शुभचिन्तक र संगीतकर्मीले सामाजिक सञ्जालबाट गुरुङलाई जन्मदिनको शुभकामना दिइरहेका छन् । समकालीन नेपाली संगीतकर्मीमाझ अमृतको लोकप्रिय लोभलाग्दो छ ।
एकातिर ढल्किंदो उमेर र अर्कोतिर फ्यारेन्जाइटिसको कारण बिग्रिएको स्वरलाई सुधार्न अमृत लागिपरेका छन् । यसका लागि उनले केही खानेकुरामा बन्देज लगाएका छन् । बिग्रिएको आवाजलाई उनै बनाउँदैछन् ।
अन्तर्मुखी स्वभावका अमृत गायकभन्दा पर एक परोपकारी, दयालु र सादगी मान्छे हुन् । एक्लै पदयात्रामा निस्कन्छन्, गाउँको गोठमा गएर बस्छन् र अहिलेको समाजका घटनाप्रति चासो राख्छन् । एउटा स्टारमा हुनुपर्ने यी गुणले उनलाई फ्यानमाझ अनुकरणीय बनाएको छ ।
गत असोजमा अनलाइनखबरलाई दिएको अन्तर्वार्तामा विदेशिने नेपालीको बाध्यताप्रति अमृतको टिप्पणी थियो– भोको पेटले आदर्श गाएर मान्छेले कतिञ्जेल बाँच्छ र ?
प्रतिक्रिया 4