+
+

सौगात मल्ल र विपिन कार्की स्टारर ‘द रेड सुट्केस’ चैत ३० मा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १२:१३

काठमाडौं । सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा स्टारर फिल्म ‘द रेड सुट्केस’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण कम्पनी आइसफल प्रोडक्सनले चैत ३० गतेलाई प्रदर्शन तय गरेको हो ।

भेनिससहित विश्वप्रसिद्ध फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेको यो फिल्म नेपाली हलमा भने बल्ल रिलिज हुन लागेको हो । फिडेल देवकोटा निर्देशित फिल्मले भेनिस प्रिमियरमा तीन मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।

निर्माता रामकृष्ण पोखरेलले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा सोमबार थिएट्रिकल पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरे । पोस्टरमा एक पात्र लगेज तान्दै गन्तव्यतर्फ हिंडेको देखिन्छ ।

नेपालको आप्रवासी परम्परा र नियतिलाई दर्शाउने यो फिल्म भेनिसबाहेक जर्मनीको म्यानहाइम हाइडेलवर्ग, स्वीट्जरल्याण्डको जुरिच र भारतको मुम्बईमा छनोट भएको थियो । निर्माता पोखरेलले विदेशी दर्शकबाट फिल्मले प्रशस्त स्नेह पाएको र घरेलु दर्शकबाट सोही स्तरको स्नेहको अपेक्षा गर्दै फिल्म प्रदर्शन गर्ने निर्णयमा पुगेको बताएका छन् ।

निर्देशक देवकोटाले फिल्मको प्रदर्शन ‘होमकमिङ’ जस्तै रहेको बताए । ‘सुरुमा फिल्म बनाउँदा यो कथा विश्वले हेर्नुपर्छ भन्ने लागेको थियो । त्यो सपना साकार भयो । अब चाहिं यो कथा घर फर्किएको छ,’ उनले भने, ‘यो फिल्म समसामयिक समाजको ऐना पनि हो । यसले हाम्रो समयको सबैभन्दा ठूलो सामाजिक यथार्थलाई उठाएको छ । प्रदर्शनपछि यसमा बहस पनि छेडियोस् भन्ने मेरो आग्रह छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?