+
+
ब्लग :

दमाई जातिबाट खोसिंदै नौमती बाजा

वडामा बाजा बजाउने १० वटा समूह छन्। १० मध्ये ५ वटा दलित समुदायका र ५ वटा मगर र गुरुङ जातिका छन्। उस्तै र उही शैलीमा बाजा बजाउने समूहले जातकै आधारमा फरक–फरक पारिश्रमिक पाउने गरेका छन्।

 

अनिल परियार अनिल परियार
२०८० पुष १६ गते १३:११

दलित समुदायले सदियौंदेखि अँगाल्दै आएको नौमती बाजा बजाउने पेशा विद्यमान जातीय विभेदका कारण खोसिंदैछ। जातकै कारण सीप अनुसारको पारिश्रमिक त पाएका छैनन् नै, कामबाट पनि विस्थापित भइरहेका छन्।

किन र कसरी यस्तो भइरहेको छ भनेर बुझ्न एउटा घटना काफी छ। २०७५ सालको कुरा हो। म स्नातकोत्तर तहको शोधकार्य गर्दै थिएँ। मेरो विषय थियो, दमाई जातिको नौमती बाजासँगको सम्बन्ध।

अध्ययनका क्रममा म पञ्चेबाजा बजाउने एक समूहमा आबद्ध दलित समुदायका प्रतिनिधि सुरेश परियारसँग कुराकानी गरिरहेको थिएँ। कुराकानीकै क्रममा उनको फोन बज्यो। मसँगको कुराकानी रोकेर उनी फोनमा बोल्न थाले। कुरा गर्दागर्दै उनको अनुहार मलिन देखियो।

फोनमा बोल्नेको स्वर नसुने पनि उनी कोसँग बोलिरहेका थिए र के विषयमा कुरा गरिरहेका थिए भनेर मैले सहजै अड्कल काटें। संवाद सकिएपछि सुरेशले सुनाए, ‘बाजा बजाउने मगर समूह होला भनेर मलाई फोन गरेका रहेछन्। तर दलितको समूह भन्ने थाहा पाएपछि हुन्न भने।’

सुरेश सहितका १५ जनाले केही महिना अघि बाग्लुङ्गे नौमती बाजा समूह गठन गरेका थिए। उनीहरूलाई विवाह र अन्य पर्वमा बोलाइन्थ्यो। दलितहरूको समूह भएकाले ब्रतबन्ध, पूजा जस्ता धार्मिक कार्य तथा अनुष्ठानहरूमा बोलाइँदो रहेनछ।

उनको कुरा सुनेर म छक्क परें। जुन समुदाय वर्षौंदेखि बाजा बजाउँदै आएको छ, उही समुदाय समाजमा बहिष्कारको शिकार भइरहेको छ। पञ्चेबाजा बजाउन जान्ने मगर समूहले जातकै आधारमा काम पाइरहँदा दमाई जातिको भने काम खोसिएको छ।

मेरो अध्ययन रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ मा केन्द्रित थियो। वडामा बाजा बजाउने १० वटा समूह छन्। १० मध्ये ५ वटा दलित समुदायका र ५ वटा मगर र गुरुङ जातिका छन्। उस्तै र उही शैलीमा बाजा बजाउने समूहले जातकै आधारमा फरक–फरक पारिश्रमिक पाउने गरेका छन्।

औसतमा, दलित समुदायले एउटा कार्यक्रममा बाजा बजाएबापत बढीमा २० हजार पाउने गर्छन् भने गैरदलित समुदायले कम्तीमा २५ देखि बढीमा ३० हजारसम्म पाउने गर्छन्। एक त कम पारिश्रमिकमा बाजा बजाउनुपर्ने त्यहीमाथि काम पनि कमै मात्रामा पाउने गरेका छन्।

दलित समुदायले जातीय विभेद खेप्दै आएका कारण पुर्ख्यौली पेशाको रूपमा बजाउँदै आएको पञ्चेबाजालाई आधुनिक स्वरूपमा ढाल्ने अवसर पाएका छैनन्। विना पारिश्रमिक सेवामूलक कामको लागि उनीहरूलाई बाध्य पारिएको छ।

जस्तै, विजयादशमीको अवसरमा घटस्थापनादेखि दशमीसम्म र पूर्णिमाको दिन समेत गरेर ११ दिन बिहान र बेलुकी अनिवार्य नगरा बजाउनेमा दलित समुदायका मात्रै हुन्छन्। उनीहरूलाई नवमीको दिन देवीलाई बलि चढाइएको राँगो बाहेक अरू पारिश्रमिक दिइन्न।

उता पूजा गर्ने पण्डितले भने आफ्नो दैनिक पारिश्रमिक र सेवा–सुविधाहरू आफैंले तोकेर लिने गर्छन्। पूजापश्चात् प्रसादको रूपमा सबैले टीका ग्रहण गर्न पाउँदा, पूजाकार्य सम्पन्न गर्नका लागि बाजा बजाउने उनै दलितलाई भने दुना वा पातमा छुट्टै राखेर आफैं लगाउनका निमित्त पर सारिदिन्छन्।

यसरी सेवामूलक काममा खटिनुपर्ने, जातीय विभेदका कारण अपमानित हुनुपर्ने र स्रोतमा पहुँच नहुनुका का्रण दलित समुदायले आफ्नो नौमती बाजालाई आधुनिकीकरण र व्यावसायिक बनाउन सकेनन्।

उता श्रमको पारिश्रमिक नदिइने हुनाले सेवामूलक बाजा बजाउने काममा गैर-दलित सं‌लग्न भएको देखिंदैन। उनीहरूले नौमती बाजा बजाएतापनि जातीय विभेद खेप्नुपर्दैन। उल्टै उनीहरूले व्यावसायिक रूपमा नौमती बाजा बजाउने अभ्यास गरेका कारण समाजबाट हौसला र सम्मान पाउँछन्। जसका कारण दलित समुदायले भन्दा बढी ज्याला पाउँछन्।

यसले थप व्यवसायीकरणमा मद्दत गर्ने कारणले उनीहरूको नौमती बाजा फस्टाउँदै गइरहेको छ। ब्राह्मण समुदायमा गरिने ब्रतबन्ध, उपनयन, चौरासी पूजा लगायतका रीतिरिवाजहरूमा बाजा बजाउनका लागि गैरदलित समुदाय खासगरी मगर, गुरूङलाई बोलाइन्छ।

गैरदलितको उक्त बाजा बजाउने समूहमा कठिन खालका बाजा बजाउनका लागि भने प्रायः दमाई वाद्यवादकलाई राखिएको हुन्छ। सहनाइ, कर्नाल, नरसिंहा जस्ता पौन फेरेर श्वासप्रश्वासको प्रक्रियामार्फत शक्ति लगाएर लगातार बजाउनुपर्ने कठिन बाजाहरू दमाई वाद्यवादकहरू बजाउँछन्। अन्य बाजाहरू भने सबैले बजाउने गर्छन्।

गैर-दलित समुदाको समूहमा बसेर त्यस्ता कठिन बाजा बजाउन पनि उनीहरूले आफ्नो जात भने लुकाउनुपर्ने हुन्छ। मगर, गुरूङहरूकै परम्परागत पोशाकमा सजिनुपर्ने हुन्छ। उनीहरूलाई कसैले परिचय सोधिहालेमा सोही अनुसारको नाम, थर बताउनका लागि पहिल्यै भनिएको हुन्छ।

बाजा बजाउने कार्यमा गैर दलित र दलितबीचको विभेदको स्वरूप यतिमै सीमित छैन। घरेलु तथा साना उद्योग व्यवसाय सञ्चालन गर्नका निमित्त उपलब्ध सरकारी अनुदान लिनबाट समेत वञ्चित भइरहेका छन्। राज्यद्वारा प्रदान गरिएका यी सेवा–सुविधाबारे अधिकांश उनीहरू जानकार छैनन्। जानकार भए पनि उनीहरूको पहुँच पुग्दैन।

गैरदलित समुदायकाहरूले भने घरेलु तथा साना उद्योग अन्तर्गत सोही कामलाई व्यवसायको रूपमा दर्ता गरेर सरकारी अनुदान लिएका छन्। सरकारी अनुदान लिएर दलित समुदायसँग भएको सीप गैरदलित समुदायले आफूमा सारिरहेका छन्।

समुदायगत परम्परागत व्यवसायलाई आधुनिकीकरण गर्ने संवैधानिक व्यवस्था गरिए पनि दलित समुदायको निमित्त उनीहरूको पुर्ख्यौली पेशा व्यवसाय भने बेवास्तामा परेको छ। दलित समुदायको कठिन परिश्रम र विभिन्न संघर्षको प्रतिफलस्वरूप नौमती बाजा ऐतिहासिककालदेखि अहिलेसम्म प्रचलनमा रहिरहेको छ। प्रचलनमा रहेको नौमती बाजा बजाउने पेशालाई आयआर्जन गर्ने व्यवसायमा रुपान्तरण गरिंदै लैजाँदा दलित समुदायको पहुँच र नियन्त्रण क्रमशः गुम्दै गयो। गैरदलित समुदायको पकड बढ्दै गयो।

सांस्कृतिक विविधता संरक्षणको अवधारणा राज्यले अपनायो। यद्यपि, जातीय विभेदको पिंधमा पारिएका दलित समुदायको पुर्ख्यौली सीप, दक्षता संरक्षण र पुस्तान्तरणमा ध्यान दिनसकेको छैन।

परिणाम, दलितहरू पुर्ख्यौली सीप, कलाबाट विमुख हुँदै गइरहेका छन्। पुर्ख्यौली पेशालाई जीविकोपार्जनको आधार बनाउनको निमित्त आधुनिक पेशा-व्यवसायको पहुँच बाहिर छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?