+
+
समयान्तर :

पपुलिजम् अर्थात् मस्तिष्कविहीन हृदय

समकालीन नेपाली राजनीतिमा ‘विकल्प’ दिन भन्दै उदाएका दल र नेतृत्वको बोली, व्यवहार र शैली अनि मुलुकमा निर्माण हुँदै गएको ‘विकल्प’को भाष्यले त्यही ‘सतही उपाय’लाई औंल्याएको प्रतीत हुन्छ । यस्तो उपाय साँचो अर्थमा मौजुदा आर्थिक-सामाजिक रूपान्तरणको जेलिंदै गएको गाँठो फुकाउने ‘विकल्प’ चाहिं बन्न सक्दैन ।

मनिकर कार्की मनिकर कार्की
२०८० पुष १८ गते १६:३८

केही दिनअघि ललितपुरको बालकुमारीमा कोरिया भाषा परीक्षा सम्बन्धी आवेदन विवादको विषयलाई लिएर युवाले प्रदर्शन गरे । समाचारहरूमा जनाइए अनुसार करिब तीन हजार युवाले नाराबाजी सहित प्रदर्शन गरेका थिए । सोही क्रममा प्रदर्शनकारीले आगजनी गरी मन्त्री प्रकाश ज्वाला चढेको मोटर जलाइदिए । मन्त्रीको मोटर आगजनी हुनबाट बचाउन नसकेको प्रहरीले संयमता गुमाएर भीड नियन्त्रण गर्न गोली चलाउँदा दुई जना युवाको मृत्यु भयो ।

सो घटनापछि अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा विभिन्न कोणबाट बहस भइरहेको छ । कतिपय टिप्पणीकर्ताले सरकारले दुई युवाको ‘हत्या’ गरेको आरोप लगाउँदै तत्काल गृहमन्त्रीको राजीनामा मागेका छन् । उता सरकारले भने घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउने र मृतकका परिवारलाई १० लाख दिने निर्णय गरेको छ । सो घटनापछि राजनीतिक दलहरूले पनि आ-आफ्नै विश्लेषण सहित विज्ञप्ति जारी गरेका छन् ।

कतिपयले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिनको माग गरेका छन् भने कतिपय राजनीतिक दलहरूले सरकारलाई ‘व्यक्तिहत्या’को आरोप पनि लगाएका छन् ।

बालकुमारीको घटना अकल्पनीय र खेदजनक घटना हो । अनि सो घटना घट्नुमा प्रहरी प्रशासनको कमजोरी पनि स्पष्टै देखापर्छ । राजधानीमै एकाध हजार युवाले गरेको प्रदर्शनलाई संयमित भएर विना मानवीय क्षति नियन्त्रण गर्न नसक्नु प्रहरीको लाचारी हो । त्यति सामान्य घटनालाई नियन्त्रण गर्ने क्षमता गुमाउनु प्रहरी प्रशासनको कमजोरी हो । जब बिहानैदेखि प्रदर्शन हुन सुरु हुँदै थियो भने आवश्यक थप सुरक्षाकर्मी प्रबन्ध नगर्नु अर्को कमजोरी थियो ।

हो, केही प्रदर्शनकारीले सरकारी सवारी साधनमा आगजनी गरेर सार्वजनिक सम्पत्तिमा नोक्सानी पुर्‍याए । त्यो उनीहरूको गल्ती हो, जुन गल्तीको कानुनी उपचार पनि हुन्थ्यो र छ । तर, त्यही बहानामा प्रदर्शनकारीहरू नै हताहती हुने गरी अत्यधिक बल प्रयोग गर्नु प्रहरीको गैरजिम्मेवारी हो । यो सुरक्षा कमजोरी हो । यसर्थ, उक्त घटनालाई सरकारका अन्य कमि-कमजोरीसँग जोडेर बदख्वाईं गर्नु चैं राजनीतिक बेइमानी हुनेछ । निश्चय नै सरकारका कमि-कमजोरीका लागि आलोचना गर्ने अनेक प्रसंग र प्लेटर्फमहरू छन् । तर, बालकुमारी घटनामा राजनीति गर्नु चैं किमार्थ सही होइन ।

जुन कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उत्तेजित शैलीमा सामाजिक सञ्जाल मार्फत पार्टीपंक्तिलाई आन्दोलित हुन आहृवान गरेको प्रसंगबाट उजागर हुन्छ । उनले बालकुमारीमा भएको आकस्मिक एवं खेदजनक घटना माथि गर्न खोजेको राजनीतीकरणले नयाँ भन्नेहरूको पूर्वाग्रही एवं मौकापरस्त चिन्तन उजिल्याइदिएको छ । किनकि रविजीले सरकारको ‘नालायकीपन’ भन्दै बालकुमारी घटनासँग नक्कली भुटानी शरणार्थीदेखि वाइडबडी जहाज खरिद, सुनकाण्ड, ललितानिवासहुँदै निर्माणाधीन बुटवल-नारायणगढ सडकखण्ड निर्माणमा भएको ढिलासुस्तीसम्मलाई एकैठाउँमा राखेर प्रश्न गरेका छन् ।

उनले बालकुमारी घटनापश्चात् पीडितका परिवारको दुःखद् अवस्थाको चित्रण गर्दै भनेका छन्- ‘…यी त सरकारका नालायकीपनका केही प्रतिनिधि काण्ड हुन् । हुँदाहुँदा, पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बीच सडकमा गोली हान्ने ?’ रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत नै ‘देशको दुर्गति बनाउनेहरूको भण्डाफोर’ गर्ने घोषणा गर्दै रास्वपाले देशभर विरोध कार्यक्रमहरू सुरु गरेको बताएका छन् । रविजीको पछिल्लो अभिव्यक्ति जे बिक्छ, त्यही बेच्ने ‘पपुलिष्ट’ शैली हो ।

ठिकै छ, सरकार जनताप्रति जवाफदेही हुनुपर्छ, जनताका समस्या समाधान गर्नका लागि काम गर्नुपर्छ । सरकारलाई जवाफदेही बनाउनका लागि पनि सचेत नागरिकको तर्फबाट आलोचनात्मक चेत जगाउनु आवश्यक हुन्छ । सरकारलाई तथ्य र तर्कले आलोचनात्मक टिप्पणी गर्दा सच्चिएर जनमुखी काम गर्ने अवसर पाउँछ । तर, कुनै फरक पृष्ठभूमि र सन्दर्भमा घटित घटनालाई नै जोडेर सरकार विरुद्ध जनतालाई उक्साउने गरी अभिव्यक्ति दिनु वा कथित आन्दोलनको धमास दिनु चैं किमार्थ उचित होइन । बालकुमारी घटनामा रविजीले त्यही गैर-राजनीतिक मुद्दालाई राजनीतिक रंग दिएर आफ्नो उही प्रचारमुखी ‘पपुलिष्ट’ चरित्र पुनः उदांगो पारेका छन् ।

पछिल्लो समय सार्वजनिक भएको ‘सहकारी ठगी’ प्रकरणमा रविजीकै सक्रियतामा खोलिएको ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालक कम्पनी गोरखा मिडिया नेटवर्क मुछिएको छ । सो कम्पनीका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई एवं उनको समूहले देशका मुख्य शहरहरूमा सञ्चालित सहकारीहरूका हजारौं बचतकर्ताको रु.७ अर्ब बढी रकम हिनामिना गरेको खबर तथ्य सहित सार्वजनिक भइसकेको छ । तथापि सम्बन्धित निकाय र प्रहरी प्रशासनले प्रभावकारी छानबिन गरी वित्तीय अपराध गर्नेमाथि कानुनी कारबाही र पीडितको बचत फिर्ताका लागि अग्रसरता देखाएको छैन ।

पपुलिजम्’को हाराले गरिने राजनीतिले समस्याको दिगो समाधान दिंदैन । राजनीतिशास्त्रमा पपुलिजम् एउटा यस्तो अवधारणा हो, जसले पारम्परिक राजनीतिक संस्कार र संस्थापनको विरुद्ध जनतालाई भड्काउन मद्दत गर्छ । किनकि यसमा मूलतः भावना हाबी हुन्छ, मस्तिष्क हैन । भावनाले मान्छेलाई उराल्ने र भड्काउने काम गर्छ

यद्यपि रविजीले त्यसप्रति पटक-पटक अनभिज्ञता प्रकट गरेका छन् । ठीकै छ, कम्पनीले गरेको कसुरमा व्यक्तिलाई मुछ्न नमिल्ला । तर, रवि लामिछाने अहिले सार्वजनिक ओहोदामा बसेको र उनी एक राजनीतिक दलको प्रमुख भएको नाताले कानुनी र नीतिगत हेराफेरीमा पनि ‘मलाई थाहा छैन’ को सहज उत्तरबाट उम्किन सक्दैनन् । उनी जोडिएको मात्र होइन, उनकै अग्रसरतामा खोलिएको संस्थाले आर्थिक हिनामिना गरेको कुरा सार्वजनिक भइसकेपछि त्यसको यथोचित छानबिनमा सघाउनु उनको सार्वजनिक दायित्व पनि हो । यदि जो-कोही पनि कानुनी रूपमा दोषी देखिन्छ भने ऊ सजायको भागीदार बन्नैपर्छ । झन् दोषी छैन भने त कानुनी उपचारबाट क्लिन चिट लिनु अझ बढी श्रेयस्कर हुनेछ ।

हुन त रवि लामिछानेले राजनीतिमा जसरी उडान भरे, त्यो आफैंमा ‘पपुलिष्ट’ कदम नै थियो । विगतमा सत्ता-संघर्षका अनेकन् घटनाबाट दिक्क भएका जनतामा मौजुदा दल र राजनीतिप्रति बढ्दै गएको असन्तुष्टिलाई रवि लामिछानेले आफ्नो ‘ढोक्सा’मा पार्न सफल भए । उनको अहिलेको राजनीतिक सफलताको पछाडि उति ठूलो इतिहास र संघर्षको च्याप्टर छैन । बस् टेलिभिजन कार्यक्रम सञ्चालनका दौरान प्राप्त गरेको ख्याति र लोकपि्रयतालाई उनले पूँजीकृत गरेका मात्रै हुन् । उनले कार्यक्रम सञ्चालनका दौरान तत्कालीन राज्य संयन्त्रका कमि-कमजोरी खरो रूपमा औंल्याए । राजनीतिक नेतृत्वको स्वार्थमुखी चरित्रलाई उदांगो पारिदिए । त्यति मात्र होइन, घटनाविशेषमा जनताका छोराछोरीले पाएको दुःख, कष्ट र पीडालाई उजिल्याउँदै जिम्मेवार निकायको जवाफदेहिता खोजिदिए ।

टेलिभिजन मार्फत उनले ‘जनताको आवाज’ बोले । अनि सहाराविहीन जनता उनै रविलाई आफ्नो सहारा ठान्न थाले । रविले पनि क्रमशः आफ्नो रफ्तार बढाउँदै गए, किनकि उनलाई केवल प्रश्न सोधिदिए पुग्दथ्यो । उनलाई उत्तरको खोजी जरूरी थिएन । अनि समस्या उजिल्याए पुग्थ्यो, समाधान प्रेस्क्राइब गर्नुपर्ने दरकार थिएन । फेरि आम मनोविज्ञानले पनि सकारात्मकता भन्दा नकारात्मकता नै बढी खोज्दछ । रवि लामिछानेले पनि आफ्ना कार्यक्रमहरू मार्फत त्यही ‘नकारात्मकता’ लाई नै पस्किने काम गरे । विषयवस्तुको संवेदनशीलतालाई उछालेर प्रश्न सोध्ने र हरेक घटनामा ‘न्यायाधीश’ बनी दलिल पेश गर्ने उनको शैली चर्चित पनि बन्यो ।

त्यही शैलीले उनको लोकपि्रयता बढ्यो । देश-देशावरमा रहेका नेपाली उनका फ्यान बने । उनलाई कसैले सांसद, कसैले मन्त्री त कसैले प्रधानमन्त्रीको रूपमा पनि देख्न थाले । संभवतः उनले त्यही ख्याति र लोकपि्रयतालाई ‘क्यास’ गर्दै राजनीतिमा आए । राजनीतिमा आएसँगै उनले उस्तै चर्का कुरा र आफ्नो ‘मिडिया स्कूपिङ’को शैलीलाई भने बरकरार राखिरहे । उनको चर्चा, परिचर्चा चुलिंदै गयो । मुलुकमा दलहरूले प्रतिबद्धता गरे अनुरूपको आर्थिक एवं सामाजिक रूपान्तरण भएन । बढ्दो श्रम शक्तिलाई स्वदेशमै अवसर सिर्जना हुन सकेन । मुलुकको आन्तरिक उत्पादनमा बढोत्तरी हुन सकेन । अर्थतन्त्रको रक्त-कोषिकामा उत्पादन बेगरको व्यापार मात्रै देखापर्‍यो ।

श्रम बजारमा प्रवेश गर्ने नयाँ पुस्तालाई गतिलो र सुरक्षित रोजगारीको व्यवस्था हुन सकेन । अनि ती नयाँ पुस्ताको एक मात्र सपना विदेशयात्रा हुनपुग्यो । सक्नेले अध्ययनका लागि छोराछोरी विदेश पठाए, नसक्नेहरू मलेशिया र अरबको श्रमबजारमा बेचिन पुगे । उता विदेशिएको ठूलो पंक्तिको बलियो उपस्थिति भर्चुअल दुनियाँमा बढ्दै गयो । उनीहरूको उपस्थितिसँगै त्यसको प्रभाव घर, परिवार र समाजमा पनि बढ्यो । त्यही भर्चुअल प्रभावलाई ‘क्यास’ गर्दै केही व्यक्ति र दलहरू राजनीतिमा उदाए ।

उनीहरूले आफ्ना हरेक गतिविधि र निर्माण गर्ने भाष्य त्यही सामाजिक सञ्जाल मार्फत स्थापित गरे । फेरि सामाजिक सञ्जालमा आक्रोश र असन्तुष्टि पोख्न सहज पनि भयो । प्रविधिले व्यक्तिको उपस्थिति र पारिस्थितिकीय अवस्था भन्दा उसको लेखाइ र बोलीलाई नै मुख्य बनाइदियो । परिणामस्वरूप मौजुदा दल र नेतृत्वप्रति व्यापक वितृष्णा सिर्जना गरियो । अब मान्छेले निर्धक्क र विना कुनै संकोच असन्तुष्टि पोख्न थाले । र, त्यही ‘सामाजिक सञ्जाल’ मार्फत नै विकल्पको खोजी सुरु भयो ।

अनि त्यही सञ्जाल मार्फत नै ‘देश बनाउने स्किम र योजना’हरू सार्वजनिक हुन थाले । आखिर जे गर्नु थियो, त्यही सञ्जाल मार्फत न गर्नु थियो । अनेकन् बान्की र कलेवरमा ‘देश बनाउनेहरूको ठूलो जमात’ सञ्जाल मार्फत नै तयार भयो । स्वाभाविक रूपमा सञ्जालमा जसको सक्रियता बढी छ, उसैले विकल्पको पनि बाजी मार्‍यो ।

निश्चय नै विचारले ‘कारण’ खोज्छ । यसले घटना वा विषयको गहिराइसम्म पुगेर कारण उत्खनन् गरी मानवीय मूल्य, मान्यता र विवेकको वकालत गर्दछ । पपुलिजम्ले भने विषयको गहिराइमा भन्दा पनि सतह वरिपरि समाधानको उपाय खोजेको हुन्छ

यसै पनि समाजको चरित्र बरालिने खालकै हुन्छ । उदाहरणका लागि कुनै पनि आन्दोलन वा संघर्षका नाउँमा जब सडकमा केही मानिस निस्किन्छन् तब त्यो विस्तारै भीडमा परिणत हुन्छ । जब मानिस भीडमा हुन्छ, तब उसको विवेकको स्थान उत्तेजनाले लिन्छ । आखिर मानिसमा भएको भनिने विवेक केवल आदर्श न हो । सहनशीलता चैं केवल शान्त भएको बेला देखिने पर्दा मात्रै हो । जब पर्दा उघि्रन्छ, तब मान्छेको क्रूरता नजर पर्छ । वास्तवमा मानिस भावनामा बहकिन्छ र बहकिएपछि नै अनेकन उपद्रव गर्न पुग्छ ।

अब एकछिन त्यसैगरी सामाजिक सञ्जालमार्फत उदाएका काठमाडौं महानगरका मेयर बालेन शाहको चर्चा गरौं । उनले महानगरमा गरेका केही शैक्षिक एवं प्रशासनिक सुधारलाई सकारात्मक मान्नुपर्छ । उनले आफ्नो चुनावी एजेण्डामा मूलतः काठमाडौंको फोहोर व्यवस्थापन र सौन्दर्यकरणलाई उठाएका थिए । फोहोर व्यवस्थापनमा केही अस्थायी प्रगति भएसँगै काठमाडौं सफा, सुन्दर र व्यवस्थित बन्दै गएको अनुभूति गर्न सकिन्छ । तथापि काठमाडौं महानगरले नाक जोडिएको ललितपुर महानगर तथा वरिपरिका अन्य स्थानीय तहहरूलाई साथमा लिएर काम गर्न सकेको देखिंदैन । जबसम्म काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहहरूले फोहोरमैला व्यवस्थापनमा एकीकृत प्रयत्न गर्दैनन् काठमाडौंमा उत्सर्जन हुने फोहोरमैलाको वैकल्पिक एवं दीर्घकालीन व्यवस्थापन हुनसक्ने छैन ।

उता सौन्दर्यकरण भन्दै सडकछेउ गमला राख्नेदेखि रंगरोगनसम्मका कामहरू भइरहेका देखिन्छन् । काठमाडौंका साँघुरा फुटपाथ र कतिपय आकाशेपुलको रेलिङमा समेत फूलका गमला देखिएका छन् । निश्चय नै यो हेर्दा राम्रै देखिन्छ । तर, यसले पैदलयात्रीहरूलाई भने थप सकस भएको अनुभूति हुन्छ । जस्तो कि आकाशेपुलको रेलिङ छेउमा गमला राखिदिंदा रेलिङ समाएर हिंड्न नमिल्ने भएको छ । त्यस्तै फूटपाथका गमलाले पनि पैदलयात्रीलाई निस्फिक्री भएर हिंड्न मिलेको छैन ।

त्यसो त फूललाई सुन्दरताको मानक ठानियो । अनि वातावरण सुन्दर बनाउने नाउँमा जताततै फूलकै मात्र उपयोग हुन थाल्यो । बगैंचामा फूल, सडक डिभाइडरमा फूल, फुटपाथमा फूल, घरको आँगनमा फूल, छतमा फूल, यत्रतत्र फूलैफूल । अहा ! विस्तारै काठमाडौं अब मन्दिरै मन्दिरबाट फूलैफूलको शहर बन्नेभो ! गज्जब राम्रो कुरा, फूलैफूलको सुन्दरता ! तर, के सुन्दरता फूलमा मात्रै भेटिन्छ ? अनि सौन्दर्यकरण भनेको रंगरोगन र फूल फुलाउनु मात्रै हो ? त्यहाँ जीवन चाहिंदैन ? त्यहाँ मान्छेको जीविका चाहिंदैन ? वास्तवमा सौन्दर्यको अर्थ केवल फूल र बगैंचा मात्र होइन, करेसाबारीको उत्पादन पनि हो भन्ने बिर्सनुहुँदैन ।

मलाई लाग्छ, शहर सुन्दर मात्र हैन, जीवन्त पनि हुनुपर्छ । त्यसैले काठमाडौंको यो सौन्दर्यकरणले हजारौं निमुखा जनताको रोजीरोटी खोसिदिएको तथ्य पनि बिर्सन मिल्दैन । काठमाडौंको सौन्दर्यकरणको डोजरले हजारौं गरिखाने जनताको सम्पत्ति कबाड बनाएका दृश्यहरू छरपस्टै छन् । कुनै जघन्य अपराधी र तस्करलाई लखेटे जसरी गल्ली-गल्लीमा सडक वा घरदैलो व्यापारीलाई लखेटेका अनेकौं दृश्य सञ्जालहरूमा सुरक्षित नै छन् । के तिनलाई काठमाडौंको सुन्दरतामा रमाउने हक छैन ? हो, काठमाडौं लगायत सबै शहर सुन्दर अनि व्यवस्थित हुनुपर्छ । तर, त्यहाँका जनताको गरिखाने अवसरको मूल्यमा भने किमार्थ हैन ।

यी सबै गतिविधिले मुलुकमा फस्टाउँदै गएको ‘पपुलिजम्’ को संकथनलाई नै पुष्टि गर्दछ । तर, यसको सहाराले गरिने राजनीतिले समस्याको दिगो समाधान दिंदैन । राजनीतिशास्त्रमा पपुलिजम् एउटा यस्तो अवधारणा हो, जसले पारम्परिक राजनीतिक संस्कार र संस्थापनको विरुद्ध जनतालाई भड्काउन मद्दत गर्छ । किनकि यसमा मूलतः भावना हावी हुन्छ, मस्तिष्क हैन । भावनाले मान्छेलाई उराल्ने र भड्काउने काम गर्छ ।

पपुलिस्ट दल र नेतृत्वले आफूलाई ‘जनताको आवाज’को रूपमा उभ्याएको दावी गर्दछ । तर, उसले यसो गर्नुको पछाडि चर्चा र प्रशंसाको अवसरलाई ग्रहण गर्नु हो । यसर्थ, जनताको भावना उराल्दै संस्थापन पक्षका विरुद्ध अभियान छेड्नु नै पपुलिस्ट कार्यनीति हो । पपुलिजम् राजनीतिक स्केल (पोलिटिकल स्पेक्ट्रम) को दायाँ या बायाँ दुवैतर्फ ढल्केको हुन्छ । दायाँतिर ढल्केको ‘राइट-विङ पपुलिजम्’ र बायाँतिर ढल्केको ‘लेफ्ट-विङ पपुलिजम्’ । अहिले नेपालको पपुलिजम् चैं दायाँतिर ढल्केको प्रतीत हुँदैन ।

अर्थशास्त्री पाउल कोलियरले पपुलिजम् र विचारधारा -आइडियोलोजी) लाई यसरी संश्लेषण गरेका छन्- ‘पपुलिजम्ले मस्तिष्कविहीन हृदय (हेडलेस हर्ट) बोकेको हुन्छ भने आइडियोलोजीले हृदयविहीन मस्तिष्क (हर्टलेस हेड) बोकेको हुन्छ ।’ निश्चय नै विचारले ‘कारण’ खोज्छ । यसले घटना वा विषयको गहिराइसम्म पुगेर कारण उत्खनन् गरी मानवीय मूल्य, मान्यता र विवेकको वकालत गर्दछ । पपुलिजम्ले भने विषयको गहिराइमा भन्दा पनि सतह वरिपरि समाधानको उपाय खोजेको हुन्छ ।

समकालीन नेपाली राजनीतिमा ‘विकल्प’ दिन भन्दै उदाएका दल र नेतृत्वको बोली, व्यवहार र शैली अनि मुलुकमा निर्माण हुँदै गएको ‘विकल्प’को भाष्यले त्यही ‘सतही उपाय’लाई औंल्याएको प्रतीत हुन्छ । यस्तो उपाय साँचो अर्थमा मौजुदा आर्थिक-सामाजिक रूपान्तरणको जेलिंदै गएको गाँठो फुकाउने ‘विकल्प’ चाहिं बन्न सक्दैन ।

लेखकको बारेमा
मनिकर कार्की

वैकल्पिक अर्थतन्त्रमा रूचि राख्ने कार्की अर्थराजनीतिक विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ ‘समयान्तर’ प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?