+
+

सात महिनामा डेढ लाख जनाले चढे लुम्बिनी केबलकार

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १८ गते १२:४६

१८ पुस, बुटवल । बुटवल र पाल्पा जोड्ने गरी बनेको लुम्बिनी केबलकार सात महिनामा करिब डेढ लाख पर्यटकले चढेका छन् ।

बुटवलको गोलपार्क बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दूरीको केबलकार गत जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको थियो । सात महिनामा एक लाख ४६ हजार ६ सय ४५ जना पर्यटक केबलकारको यात्रा गरी पाल्पाको बसन्तपुर पुगेका कम्पनीले जनाएको छ ।

जेठ १५ देखि पुस १४ गतेसम्म एक लाख ४० हजार ५०१ जना आन्तरिक पर्यटक, भारतसहित सार्क राष्ट्रका ६ हजार ११८ जना तथा तेस्रो मुलुकका ३५ जना पर्यटक केबलकार चढेका कम्पनीका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए ।

यो सात महिनाको अवधिमा सबैभन्दा धेरै ३५ हजार ७९७ जना पर्यटक गत कात्तिकमा आएका थिए । असोजमा सबैभन्दा कम ९ हजार ६५० जनाले केबलकार चढेका छन् । कम्पनीले प्रत्येक टिकट दरको एक–एक प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई स्थानीय कर वापत दिंदै आएको छ ।

सात महिनामा ८ करोड ३६ लाख १५ हजार ६१२ रुपैयाँको टिकट बिक्री गरेको कम्पनीले भदौ २६ गतेसम्मको कर वापत ३ लाख ९३ हजार ३ सय ५४ रुपैयाँका दरले दुई पालिकालाई ७ लाख ८६ हजार ७०८ रुपैयाँ दिएको छ । यो केबलकारमा दुईतर्फी यात्राको ७ सय ५० रुपैयाँ टिकट दर तोकिएको छ ।

बुटवलको वडा नंं ३ र तिनाउ गाउपालिकाको वडा नं ३ का बासिन्दा, अपांगता भएका नागरिक र ३ देखि ४ फिट उचाइ भएकालाई ५० प्रतिशत छुट, विद्यार्थी, ७० वर्षदेखि ८० वर्ष सम्मका जेष्ठ नागरिकलाई ४० प्रतिशत तथा ३ फिट भन्दा कमका बच्चा र ८० वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क गरिएको सैजूले बताए ।

२५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ । ‘सञ्चालनमा आएको छोटो समयमै आन्तरिक र भारतीय पर्यटकको आगमन उत्साहजनक छ’–अपरेसन म्यानेजर सैंजूले भने–‘टप स्टेशनमा पर्यटकलाई दिनभर भुल्ने र राति पनि बास बस्न सक्ने गरी थप पूर्वाधारहरु बनाउंदै छौं ।’

केबलकारको टप स्टेशनमा रेष्टुरेन्ट, जीपलाइन, सेल्फी जोन सञ्चालनमा आइसकेका छन् भने स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान निर्माणको चरणमा छन् । यस्तै दुई वर्षभित्र १५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनोसहित साढे ३ अर्ब लागतमा पाँचतारे होटेल बनाउने योजना छ ।

करिब सय जनालाई रोजगारी दिएको कम्पनीले पाँच तारे होटेल सञ्चालनमा आउंदा थप ५ सय जनालाई रोजगारी दिन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?