+
+

२१ वर्षदेखि वेपत्ता द्वारिका उदय, अझै फर्किने आशामा परिवार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १८:१८

२ फागुन, बुटवल । आधुनिक बुटवलको आर्थिक, शैक्षिक र पर्यटन विकासको अगुवा थिए द्वारिका उदय । तत्कालीन लुम्बिनी अञ्चल अस्पताल, कान्ति मावि, सिद्धार्थ क्याम्पस, परिवार नियोजन संघको भवन उदयकै अगुवाइ र मेहनतमा बनेका हुन् ।

कुनै समय जनावर मरेपछि फाल्ने ठाउँ बनेको जंगललाई मणिमुकुन्दसेन उद्यान (फूलबारी) को रुपमा विकास गरी वर्षेनी हजारौं पर्यटक आउने थलो बनाउने कामको अगुवाइ पनि उनै उदयले गरेका थिए ।

तत्कालीन वडाध्यक्ष समेत रहेका उदयले इलाका प्रहरी कार्यालय बुटवलको एकतले भवन निर्माणमा पनि योगदान गरेका थिए ।

बुटवलमा घुम्ती चलचित्र प्रदर्शन र पछि फिल्म हल खोलेर सर्वसाधारणलाई फिल्म हेर्न नौतनवा जानुपर्ने वाध्यताको अन्त्य गराउने उदय नेपाल चलचित्र संघको २ कार्यकाल अध्यक्ष समेत भएर काम गरेका थिए ।

आफ्नो निजी जीवन र स्वार्थ त्यागेर समाजको हितका लागि अहोरात्र काम गर्दै आएका उदय अहिले भने गुमनाम छन् । २०५९ सालमा काठमाडौंबाट पोखरा जाने भनी घरबाट हिंडेर भैरहवा हुंदै सुनौली पुगेका ६२ वर्षका उनको २१ वर्ष बित्दासम्म कुनै अत्तोपत्तो नहुदा परिवारका सदस्य पीडामा छन् ।

उनको अवस्था जीवित छ वा छैन भन्ने थाहा नपाउँदा परिवारका सदस्य हैरान छन् । द्वारिकाका छोरा प्रदीपकुमार उदय बुवाको अवस्था थाहा नहुँदाको पीडा असह्य भएको बताउँछन् ।

२०५९ साल माघ मसान्तको दिन काठमाडौंस्थित छोरीको घरमा बस्न गएका द्वारिका विहानै प्रदीपको कोठामा आएर पोखरा जाने भनेर हिँडेका थिए । त्यसपछि फर्केका छैनन् ।

‘अघिल्लो दिन दिदीकोमा बस्न जानुभएको थियो, विहान मेरो कोठामा आउनुभयो, म त्यही दिन फिल्म मिलन बिछोडको लागि मुम्बई जाने तयारीमा थिएँ, बुवाले पोखरा जाने भन्नुभयो, गाडी लिएर जानुस् भन्दा प्लेनमा जान्छु भन्नुभयो प्लेनको टिकटपनि लिइसक्नुभएको थियो तर त्यसपछि कहिल्यै फर्किनुभएन’, प्रदीपले भने ।

परिवारका सदस्य अहिलेसम्म द्वारिका जीवितै फर्किने आशामा छ । ‘तर उहाँबारे कुनै अत्तोपत्तो नहुँदा वर्षौंदेखि मन बोझिलो हुँदै गएको छ, हाम्रो परिवार मात्र हैन सिंगो बुटवल दुखी छ ।’

द्वारिकाका सहकर्मी बुटवलका अग्रज व्यवसायी जीवनप्रसाद ओझा द्वारिका बुटवलको विकासका पर्यायवाची र निस्वार्थ समाजसेवी भएको स्मरण गर्छन् । ‘उनी व्यक्तिगत लाभ र स्वार्थ नहेरी त्यसबाट टाढा रहेर आधुनिक बुटवल बनाउन अहोरात्र खटिने व्यक्ति थिए’, ओझाले भने ।

बुटवलमा सामुदायिक स्तरबाट सिद्धार्थ क्याम्पस बनाइ गुणस्तरीय शिक्षाको सुरुवात द्वारिकाले गरेको ओझा सम्झिन्छन् । ‘उनी नखाई नखाई भवन बनाउन आफैं खटिएका थिए, त्यसले धेरैलाई सामाजिक काम गर्न प्रेरणा दिएको थियो’, उनले भने ।

द्वारिकाका समकालीन पत्रकार डा. बालकृष्ण चापागाईं मणिमुकुन्द सेन उद्यानको परिकल्पनाकार, कान्ति मावि र अञ्चल अस्पतालको खाली जग्ग्गामा सटर बनाएर भाडामा लगाई त्यसको आम्दानीबाट शिक्षा र स्वास्थ्यको गुणस्तर बढाउन द्वारिकाले नै अगुवाइ गरेको सम्झन्छन् ।

‘उहाँ बुटवलको सच्चा समाजसेवी र अभिभावक हो, धेरैलाई समाजसेवामा लाग्न प्रेरित गरेका मान्छे हो’, डा. चापागाईंले भने, ‘आफ्नो काम व्यवसाय छाडेर समाजको लागि बिना स्वार्थ काम गर्ने मान्छे विरलै हुन्छन्, त्यसमध्ये उहाँ हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?