नेपालमा जेनजी आन्दोलनपछि मानिसहरुको दैनिकीले बिस्तारै गति लिँदैछ । घाइते शरीर र मनहरु उठ्न खोज्दैछन् । प्रकृतिले आफ्नो धर्म छोड्दैन भनेझैं दिन र रात हुँदै सेप्टेम्बर ८ बाट देशले नयाँ मिति फेरिरहेको छ । देश–विदेशमा रहेका नेपालीहरु अब के हुने हो भन्दै डराइरहेकै अवस्थामा छौं ।
दशैं-तिहार सकिइसकेको छ । म नेपाल छाडेर बेलायत आएको लगभग तीन बर्ष हुन लाग्यो । दशैँका बेला मेरो भाइको विवाह तय भएको थियो । भाइ अष्ट्रेलियाबाट नेपाल पुगे पनि म भने बेलायतमा भिसा लम्ब्याउने प्रकृयाले गर्दा भाइको बिवाहमा सामेल हुन पाइनँ । जेनजी आन्दोलन, दशैं-तिहार, भाइको बिहे अनि मेरो विदेशको बसाइ । चाहेर पनि मन शान्त पार्न सकेकी छैन । यसमा पनि बेलायतमा रहेका अन्य नेपालीजस्तै भिसाको चटारोले मलाई थप हैरान बनाएको छ ।
देशमा होस् या विदेशमा, चाडबाडको माहोल नेपाली मनले थाहा पाइहाल्ने रहेछ । त्यसमा पनि दशैँ–तिहारमा घर जाने मानिसहरुको लर्को देख्दा यो परदेशमा बसेको मन मर्दै, बाँच्दै गर्दोरहेछ । थाहा छैन, यो परदेशी जीवनबाट कहिले मुक्ति मिल्छ, तर पनि दिन गन्न छाड्दिनँ । त्यसमाथि दशैँकै मौका पारेर तय गरिएको भाइको बिहेमा सहभागी हुन नपाउँदाको पीडा बेग्लै छ । भाइको बिहे दशैँमा नै गर्नुपर्छ भनेर मैले पनि जोड गरेकी थिएँ । पशुपतिको यात्रा र सिद्राको व्यापार एकैपटक भ्याउन खोजेकी थिएँ । तर, देशमा छाएको अनिश्चितता अनि मेरो नयाँ भिसाको प्रकृयाले अनिश्चितकालीन बाटोमा ल्याएर ठिङग्रिङ्ग पारिदियो ।
आखिर, नेपालीहरुको भागमा कहिलेसम्म विदेशिरहनुपर्ने नियति व्यहोर्नुपर्ने हो ? के म युके आएको लगभग तीन बर्षमै भिसा प्रकृया बीचैमा छाडेर सधँैका लागि नेपाल फर्कन सक्छु ? कदापि सक्दिनँ । बर्षौंदेखि जरा गाडेर रहेको भ्रष्ट मानसिकता र परिपाटीसँग लड्दै देशभित्रै केही गरौँ भन्ने सोच्दादेशभित्र हजारौँ ठाउँमा हन्डर ठक्कर खाइयो । अन्तत: केही उपलव्धी हासिल नभएपछि विदेशिन बाध्य भएका मजस्ता नेपालीहरु बेलायतमा धेरै छन् ।
आज बेलायतमा संघर्ष गरिरहेका लाखौँ नेपाली युवाको मुख्य संघर्षमध्ये भिसाको संघर्ष पनि एउटा हो । कोही वर्किङ भिसामा त कोही स्टुडेन्ट भिसामा लाखौँ खर्च गरेर युके छिरिसकेपछि त्यो खर्च नउठाई फर्कने कुरै भएन । आएको ऋण तिरिसकेपछि पनि नेपाल फर्किने माहोल आफूले मिलाउन नसकेसम्म भिसा थप्ने बाटो खोज्दै हिँड्नै पर्यो ।
फेरि, यस्तै बाध्यतामा परेका मानिसहरुबाट फाइदा लुट्नेहरुको कमी संसारैभरि नहुने रहेछ । विभिन्न देशका नीति नियम पनि यस्तै अप्ठ्यारोमा भएकाहरुबाटै सकेसम्म ट्याक्स असुल्ने र कमाएको पैसा यतै खर्च गराउनेखालका हुँदा रहेछन् ।
मानिस एक ठाउँबाट अर्को ठाउँमा किन बसाइँ सर्छ ? यो जटिल प्रश्न हो । आफ्नो थातथलो छोडेर हिँड्न सोचेजस्तो सजिलो छैन । हरेकका आ–आफ्नै कारणहरु होलान् । अझ आफ्नो देश छाडेर अन्य देश जाने निर्णय हलुका निर्णय पक्कै होइन । दिनहुँ ४–५ हजार नेपालीले देश छाडिरहेकै छन् ।
धेरैजसो मानिसले स्थायी तरिकाले विकसित राष्ट्रमा नै बस्न पाइयोस् भनेर सपना सजाएको मैले पाएँ । तर, नेपालबाट भिसा लगाएर विकसित देश छिर्न जति गाह्रो छ, त्योभन्दा कैयौँ गुणा गाह्रो यता आइसकेपछि हुने रहेछ । आउँदाको भिसा छोटो समयका लागि हुन्छ । त्यतिञ्जेलमा पढ्ने, ठाउँ चिन्ने, बस, ट्रेनमा हिँड्न सिक्ने, काम खोज्ने, काम सिक्ने, आदि इत्यादि गर्दा गर्दै भिसाको अवधि सकिन्छ ।
आएको ऋण फिर्ता पठाउँदा पठाउँदै, एक–दुई जोर राम्रा कपडा वा फोनका ईच्छाहरु पूरा गर्दा गर्दै, एक–दुई ठाउँका घुमफिरको फोटो अपलोड गर्दा गर्दै, एक–दुई रेष्टुरेण्टका स्वाद चाख्दा चाख्दै पैसा कमाइ भैसकेको त हुँदैन । अझ कति युवाले त आएको पाँच/सात महिनासम्म पनि काम नपाएको सुनिन्छ । त्यसपछि थप भिसा लम्ब्याएर काम खोज्नुको विकल्प हुँदैन ।
भिसा मिलाइदिन्छु भन्दै पैसा लिएर अलपत्रमा पारिएका नेपाली युवाको कथा कहानी सुन्दा आङ नै जिरिङ्ग हुन्छ । तल्लो बाटो हुँदै अमेरिका, युके छिर्नेहरुको कथा, उपन्यासदेखि फिल्मसम्म पनि बनेका छन । युके छिर्न लाहुरेका छोराछोरी बनेर नेपाली युवाले एक करोड रुपैयाँसम्म तिरेको पनि सुन्ने, देख्ने मौका मिल्यो । २५–३० हजार पाउण्डसम्म तिरेर अलपत्र पर्नेहरुदेखि खुल्लमखुल्ला ‘स्पोन्सरसीप’को किनबेच युके सरकारको कानमा पुगेरै होला, सरकारले नियम झन भन्दा झन कडा बनाइरहेको छ ।
विकसित राष्ट्रलाई अन्य देशका विद्यार्थी र कामदार चाहिने तर उनीहरु यहाँ आइसकेपछि जुन बाटो पनि अपनाएर बस्न खोजेपछि आप्रवासी समस्या विकराल बन्दै गएको चर्चा बारम्बार चलिरहन्छ । त्यसपछि यीनै देशले कडा नियम लिएर आउँछन् । र यो भुंग्रोमा नेपालजस्तै गरीब देशका सोझा साझा नागरिकहरु फसिहाल्छन् ।
सन् २०२४ जनवरीदेखि बेलायत सरकारले ब्याचलर वा मास्टर्स डिग्री पढ्न आउने विदेशी विद्यार्थीहरुले ‘डिपेन्डेन्ट’ अर्थात आफ्नो परिवार ल्याउन नपाउने नियम ल्यायो । ‘माष्टर्स बाई रिसर्च’ वा पीएचडी कोर्ष पढ्न आउनेले मात्रै आफ्नो परिवार ल्याउन मिल्ने प्रावधान भयो । यसो गर्दा श्रीमान–श्रीमती सँगै हुनका लागि दुवैले छुट्टाछुट्टै भिसा आवेदन दिन पर्यो । मतलब, सरकारले दोहोरो करदेखि सम्पूर्ण भिसा प्रकृयामा पैसा कमाउन पायो । अथवा, आफ्नो देशका विश्वविद्यालयले नयाँ विद्यार्थी पाउने भए ।
भिसा लम्ब्याउनका निम्ति कि त कुनै कम्पनीबाट स्पोन्सरसीप पाउन पर्यो, नभए फेरि विश्वविद्यालयमा भर्ना हुनै पर्यो । नभए मानिसहरु आफ्नै देश फिर्ता जानपर्यो वा अन्य कुनै देश जानपर्यो । जसरी पनि विकसित देशलाई पैसा भित्र्याउने मानिसहरु मात्र चाहिएको छ । अनि यस्तै अप्ठ्याराहरुका बीच फाइदा उठाउन मौका कुरेर बसिरहेका कम्पनी, विचौलिया वा ठगहरुको शिकारमा धेरैजना नेपालीहरु परिरहेका छन् ।
गत वर्ष म र मेरो श्रीमान पनि युकेमा नेपालीहरुबीच एकदमै नाम चलेको होलसेल खाद्यान्न कम्पनीको शिकार बन्न पुग्यौँ । सुरुमा पैसा नमाग्ने नियत देखाएर स्पोन्सरसीपको प्रलोभनमा पारी काममा लगे । अनि पुरानो काम, बस्ने कोठा सबै छाडेर उनकै कम्पनी नजिक कोठा सर्ने निधो भयो । त्यसको दुई–तीन दिनपछि अब सरकारले नयाँ नियम परिवर्तन गर्दै छ, त्यसैले भिसाको लागि भनेर २५ हजार पाउण्ड मागे । सम्झौताअनुसार महिनावारी तलवमा सरकारलाई तिरेको ट्याक्स पनि आफैंले तीर्नुपर्ने भयो । काम भने निकै पेलिएर सासै नफेरी गर्नुपर्ने तर तलब भने न्यूनतम भन्दा धेरै तल ।
‘पैसा त बेलायतमा बस्न पायो भने जति पनि कमाइन्छ नि’ भन्दै काम गरेका दिनहरुको उचित पारिश्रमिक पनि दिएनन् । यस्तो अवस्थामा हामी २/३ महिना बिचल्लीमा पर्यौं ।
भ्रष्ट र घुसखोर मानसिकता बोकेका नेपालीहरु देशभित्र मात्र होइन, विदेशमा पनि छ्याप छ्याप्ती भेटिने रहेछन् । युके सरकारले सन् २०२५ जुलाइ २२ तारेखदेखि करीब सयभन्दा बढी पेशालाई ‘स्किल्ड वर्क’ को कोटाबाट हटाएको छ । यसले भिसा लम्ब्याएर बस्न चाहानेहरुलाई निकै अप्ठ्यारो बनाइदिएको छ । यसको मारमा परेर हजारौँ नेपालीहरु घर न घाटको अवस्थामा पुगेका छन् । विदेश आएको ऋणसमेत तिर्न नसक्ने भएपछि आफ्नो स्वाभिमान नै बेचेर बाध्यतामा शरणार्थी भिसासम्म लिएर दिनदिनै मर्दै बाँच्दै गरेका नेपालीहरुको संख्या बेलायतमा कम छैन ।
बेलायतमा संघर्षको कथा आफ्नो ठाउँमा छँदैछ, नेपालमा भर्खरै भएको जेनजी आन्दोलनमा आफ्नो काख सधैँका लागि रित्तिएको पत्याउन गाह्रो भएका आमाहरुको चित्कार कानमा गुन्जिरहेको छ । ती शहीद परिवारमा के–के भइरहेको होला ? उनीहरुका लागि कहाँ गयो दशैँ–तिहार ? कहाँ गयो खुसीयाली ?
हो, मलाई आफ्नै समस्या ठूलो लागिरहेछ । तर, मैले देशका लागि के गरेँ ? म आफैँलाई प्रश्न गरेको गर्यै छु । के म रहरले देश छोडेर हिँडेकी थिएँ ? म त आफ्नो उज्ज्वल भविष्य बनाउँछु भन्दै गाउँबाट १७ वर्षकै उमेरमा काठमाडौं छिरेकी थिएँ । देशको राजधानीमा २० औँ पटक डेरा सरिसकेर उमेरले ३० काटिसकेपछि पनि देशमै केही गर्छु भन्दै कम्मर कस्दै हिँड्दै थिएँ । तर, अफसोच, कम्मरको पटुका फुस्केछ । अनि म विदेश हिँडेँ ।
एकदिन मेरो भाइ पनि त्यही त्रिभुवन विमानस्थलबाट स्वाभिमानी झोला भिरेर अष्ट्रेलिया उडेको थियो । उड्ने बेला उसले भनेको थियो– झोला नै भिरेर हिँड्न परेपछि किन देशभित्र झोले बनेर चिनिनु ? बरु कसैले नचिन्ने ठाउँमा एउटा थोत्रो झोला भिरेर काम गर्दै बाँच्छु ।
धन्न बेलैमा हिँडेछ भाइ । नत्र … मेरो कलमले योभन्दा बढी लेख्ने आँट गरेन ।
प्रतिक्रिया 4