+

के हो ट्रान्स फ्याट ?

२०८० पुष  १८ गते १४:५९ २०८० पुष १८ गते १४:५९
के हो ट्रान्स फ्याट ?

ट्रान्स फ्याट अंग्रेजी शब्द हो । ट्रान्स फ्याट धेरै कम सुन्नमा आएको शब्द पनि हो । यसबारे धेरैलाई जानकारी छैन । अंग्रेजी भाषामा पनि सन् १९७८ मा मात्र अंग्रेजी शब्दकोशमा लेखिएको शब्द हो । ट्रान्स फ्याट एक प्रकारको अति खराब चिल्लो पदार्थ हो । आंशिक रुपमा हाइड्रोजिनेटेड तेल (पीएचओ) ट्रान्स फ्याट प्राकृतिक रूपमा केही जनावरमा हुन्छ, जस्तै गाई । यी हानिकारक हुँदैनन् ।

तर कृत्रिम रूपमा उत्पादन गरिएको ट्रान्स फ्याट हानिकारक हुन्छ । यो प्रशोधित खानामा पाइने एक प्रकारको बोसो हो । यसलाई नेपालीमा अति खराब चिल्लो भन्दा उत्तम हुन्छ । यसलाई खराब वा हानिकारक चिल्लो मात्र भनेर पुग्दैन, अति खराब चिल्लो नै भन्नुपर्छ । यसको नेपाली शब्द छैन । तसर्थ छोटकरी नेपालीमा अखचि भन्न सकिन्छ ।

स्वास्थ्यका दृष्टिकोणले ट्रान्स फ्याट (अखचि) चिल्लो पदार्थमध्ये सबैभन्दा हानिकारक चिल्लो हो । खानामा अखचिको मात्रा धेरै भएमा हृदयघात, मस्तिष्कघात, मधुमेह, उच्च रक्तचाप, मोटोपन, स्तन क्यान्सरजस्ता स्वास्थ्य समस्या देखा पर्छन् ।

ट्रान्स फ्याट (अखचि) प्राकृतिक र कृत्रिम गरी दुई स्रोतबाट प्राप्त हुन्छ । राँगा, भैंसी, खसी, बोका आदिको जनावरको रातो ट्रान्स फ्याट (अखचि)का प्राकृतिक स्रोत हुन् । रातो मासुमा पाइने चिल्लोमा ट्रान्स फ्याट (अखचि)को मात्रा तीनदेखि नौ प्रतिशत हुन्छ । थोरै मात्रामा खाँदा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्स फ्याट (अखचि)ले स्वास्थ्यमा त्यति नकारात्मक असर पार्दैन । पार्सियल्ली हाइड्रोजेनेटेड ओइल (पीएचओ) अर्थात् आंशिक रुपमा हाइड्रोजिनेटेड तेल भनिने कृत्रिम स्रोतबाट प्राप्त हुने (अर्थात् फ्याक्ट्रिमा उत्पादन गरिने) औद्योगिक ट्रान्स फ्याट (अखचि) स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ ।

यस्तो चिल्लो पदार्थ वनस्पति तेललाई तताएर, त्यसमा आंशिक मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ । यस्तो प्रक्रियाबाट तरल अवस्थामा रहेको वनस्पति तेल कोठाको तापक्रममा बाक्लो वा ठोस पदार्थमा परिवर्तन हुन्छ । ट्रान्स फ्याट सामान्य तापक्रममा जम्छ । फ्याक्ट्रीमा सस्तो तेललाई तताएर, हाइड्रोजन मिसाएर उत्पादन गरिने ट्रान्स फ्याटबाट चिल्लो पदार्थको मात्रा बढ्नुका साथै यसमा खानेकुरा पकाउँदा खानाको रुप, स्वाद राम्रो बन्छ र धेरै दिनसम्म टिक्छ । वनस्पति तेल भन्दा यो धेरै सस्तो पर्न आउँछ । व्यवसायमा फाइदा हुने भएकाले खाद्य उद्योगमा यसको प्रयोग धेरै हुन्छ । नेपालको उद्योगमा उत्पादन हुने वनस्पति घिउ, केकमा प्रयोग हुने सर्टनिङ, मार्गारिन आदि औद्योगिक ट्रान्स फ्याटका केही उदाहरण हुन् ।

चिल्लो पदार्थका प्रकार

चिल्लो पदार्थ मुख्यतया तीन प्रकारका हुन्छन्, स्याच्युरेटेड, अनस्याच्युरेटेड र ट्रान्स फ्याट । यिनीहरुको मोलिक्यूलको बनावट (आणविक संरचना) फरक-फरक हुन्छ । स्याच्युरेटेड फ्याटमा कार्बनचेनको सबै भागमा हाइड्रोजन अणुले भरिएको हुन्छ ।

अनस्याच्युरेटेडमा हाइड्रोजन अणु केही ठाउँमा अथवा एकातर्फ मात्र खाली हुन्छ । ट्रान्स फ्याटमा हाइड्रोजन अणु दुईतर्फबाट खाली हुन्छ । यस प्रकार हाइड्रोजन अणुको कम बेसी र स्थानले चिल्लोलाई फरक रुप दिन्छ । स्याच्युरेटेड फ्याट र ट्रान्स फ्याट सामान्य तापक्रममा जम्छन् तर अनस्याच्युरेटेड फ्याट भने तरल नै रहन्छ ।

ट्रान्स फ्याट कति खान सकिन्छ ?

ट्रान्स फ्याटबारे गरिएका विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धानअनुसार मान्छेलाई दैनिक आवश्यक चिल्लो पदार्थको एक प्रतिशत भन्दा बढी मात्रा ट्रान्स फ्याट भएमा यो स्वास्थ्यका लागि हानिकारक हुन्छ । वैज्ञानिक सल्लाह यो रहेको छ कि मान्छेलाई दैनिक आवश्यक पर्ने कुल ऊर्जा (क्यालोरी)को एक तिहाइ चिल्लो पदार्थबाट प्राप्त हुनुपर्छ । दैनिक क्यालोरीको दश प्रतिशत स्याच्युरेटेड फ्याटबाट र एक प्रतिशत भन्दा कम ट्रान्स फ्याटबाट प्राप्त हुनुपर्छ । खानामा ट्रान्स फ्याट शून्य भए सबैभन्दा उत्तम हुन्छ ।

एक प्रतिशत ट्रान्स फ्याट भनेको कति हो ? यो सजिलै नाप्न सकिन्छ । मानौं एक जना मानिसलाई दैनिक दुई हजार क्यालोरी ऊर्जा दिने खाना खानुपर्छ । दुई हजार क्यालोरीको एक प्रतिशत भनेको २० क्यालोरी हो । २० क्यालोरी ऊर्जा करीब दुई ग्राम चिल्लो पदार्थबाट प्राप्त हुन्छ । एक चिया चम्चामा ५ ग्राम हुन्छ र १ ग्राम चिल्लोले ४ क्यालोरी शक्ति दिन्छ । दुई ग्राम भनेको आधा चिया चम्चा भन्दा अलिकति कम हो । यस प्रकार दैनिक दुई हजार क्यालोरी बराबर खाना खाने व्यक्तिले आफ्नो खानामा आधा चिया चम्चा भन्दा कम ट्रान्स फ्याट प्रयोग गर्न सकिन्छ ।

ट्रान्स फ्याटले स्वास्थ्यमा कस्तो असर पार्छ ?

ट्रान्स फ्याट अत्यन्तै खराब चिल्लो पदार्थ भएकाले यसले रगतमा खराब कोलेस्टेरोलको मात्रालाई बढाउँछ र असल कोलेस्टेरोल घटाउँछ । खराब कोलेस्टेरोल रक्तनलीहरुको भित्री भागमा जम्न गई रक्तनली साँघुरिने क्रमलाई बढाउँछ । त्यसैगरी रगतको थेग्रा जम्ने सम्भावनालाई बढाउँछ । जसले गर्दा हृदयघात र मस्तिष्कघात हुने जोखिम हुन्छ । त्यसैले ट्रान्स फ्याट मुटु र रक्तनलीहरुका लागि अत्यन्तै हानिकारक छ । यसले मधुमेह, उच्च रक्तचाप, मोटोपन, महिलाहरुमा स्तनको क्यान्सरको जोखिम बढाउँछ ।

कस्तो खानामा ट्रान्स फ्याट बढी हुन्छ ?

वनस्पति तेललाई जति धेरैपटक ततायो त्यति नै त्यसमा ट्रान्स फ्याटको मात्रा बढ्दै जान्छ । जति धेरै ततायो तेल त्यति बढी हानिकारक बन्दै जान्छ । यस्तो तेलमा पकाएको पकौड़ा, समोसा, चाउचाउ, आलु, मासु जस्ता खानेकुरा स्वादिलो भएपनि स्वास्थ्यका लागि हानिकारक हुन्छन् । फ्याक्ट्रीमा तयार गरी प्याकेटमा बन्द गरिएका खाद्यपदार्थ जस्तै बिस्कुट, कुकिज, तयारी चाउचाउ, भुजिया, दालमोठ, कुर्कुरे, चिजबल, आलु चिप्स आदिमा अत्याधिक मात्रामा ट्रान्स फ्याट हुने भएकाले लेबल हेरेर मात्र उपभोग गर्नुपर्छ ।

त्यसैगरी वनस्पति घिउमा बनाएका बेकरी आइटमहरु केक, डोनट, पाउरोटी, आइसक्रिम, पिज्जा तथा तेलमा डिप फ्राइ गरेर तयार पारिने फास्टफुड जस्तै पकौडा, समोसा, पुरी, चिकेन फ्राई, आलु फ्राई, बर्गर, ससेज आदिमा प्रशस्त मात्रामा ट्रान्स फ्याट हुन्छ । वनस्पति घिउमा तारेर बनाइने मिठाईहरु जेरी, लालमोहन, गुँदपाक, पुस्टकारी, लाखामरी आदिमा पनि धेरै मात्रामा ट्रान्स फ्याट हुन्छ ।

ट्रान्स फ्याटको प्रयोग कसरी घटाउने ?

-डिप फ्राइ गरेको खाना नखाने ।

-बजारमा प्याकेटमा बन्द गरी तयारी खानेकुरामा ट्रान्स फ्याटको मात्रा हेरेर मात्र खाने ।

-वनस्पति घिउको सट्टा गाईभैंसीको घिउको प्रयोग गर्ने ।

-वनस्पति तेलमा खाना पकाउँदा डढेको तेलमा दोहोर्‍याएर खाना नपकाउने ।

-तेलमध्ये तोरीको तेल र नरिवलको तेल बढी प्रयोग गर्ने, ओलिभ तेललाई नतताउने वा नझान्ने ।

-रातो मासुको सट्टा सेतो मासु खाने, दूधलाई चिल्लो निकालेर पिउने ।

-मिठाई, आइसक्रिम, पिज्जा, केक, आदि कम खाने ।

-तयारी चाउचाउमा राखेको वनस्पति घिउ नखाने ।

-प्याकेटको खाना र त्यसको बाहिर छापिएको लेबल हेर्ने ।

बजारमा बेचिराखेको खानाको प्याकेट बाहिर लेबल टाँसिएको हुनुपर्छ । जसमा त्यसभित्रको खानेकुरा कहिले बनाएको, कहिलेसम्म खान मिल्ने र त्यसमा कुन कुन पौष्टिक तत्व छन् भन्ने लेखिएको हुनुपर्छ । त्यसमा चिल्लो, नुन, गुलियो, ट्रान्स फ्याट कति छ ? भन्ने जानकारी पनि हुनुपर्छ । लेबल नभएको प्याकेटको खानेकुरा खानुहुँदैन । ट्रान्स फ्याट भएको खानेकुरा किन्नु हुँदैन ।

ट्रान्स फ्याटसम्बन्ध नीति र कानुन

नेपालमा खाद्यपदार्थमा हुनुपर्ने ट्रान्स फ्याटको मात्राको मापदण्डसम्बन्धी नीति र कानुन बनिसकेको छैन । सरकारले सन् २०२३ भित्र खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याटको मात्रा दुई प्रतिशत कायम गर्ने महत्वकांक्षी लक्ष्य लिएको भएपनि त्यो पूरा भएन ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको ‘नसर्ने रोगहरु नियन्त्रणको बहुपक्षीय कार्ययोजना २०२१–२५’ मा ट्रान्सफ्याटको मात्रा दुई प्रतिशत कायम गर्ने व्यवस्था समेटिएको छ । अखची भएको तयारी खाना नियन्त्रण गर्न त्यसअनुसारको कानुन पनि आवश्यक पर्ने हुँदा त्यस्तो कानुन बनाउन वा हाल भइरहेको कानुनलाई परिमार्जित गर्नेतर्फ पहल भइरहेको छ ।

अब सबै नागरिकले पनि सचेत हुनु जरुरी छ । अति खराब चिल्लो भएको बजारमा पाइने खानेकुरा आफू पनि नखाने र अरुलाई पनि नखुवाउने गरेर यसबाट हुने हानि कम गर्न सकिन्छ । हाल भइरहेको कानुनी व्यवस्थाअनुसार अखाद्य वस्तु भएको कुरा आयात गर्न वा उत्पादन गर्न नपाइने व्यवस्था त छ । अब यसलाई सशक्त रुपमा पालन गर्न गराउन आवश्यक पर्छ । हामी सचेत भयौं भने आफू र आफ्ना बालबच्चा पनि यस्तो अखची खानबाट र अनेक जटिल रोग लाग्नबाट जोगिन सक्छौं । पैसा तिरेर रोग किन किन्नु होइन र ?

सानै उमेरमा मुटुरोग, हृदयघात, मस्तिष्कघात, मधुमेह, उच्च रक्तचाप, मोटोपन, महिलाहरुमा स्तन क्यान्सर र अन्य धेरै नसर्ने खालका रोग लाग्नु मुख्य कारण ट्रान्स फ्याट नै हो । यस्तो परिस्थितिमा सुधार ल्याउन खाद्य पदार्थमा ट्रान्स फ्याट नियन्त्रण सम्बन्धी नीति र कानुन बन्नु जरुरी छ ।

खानेकुरा ट्रान्स फ्याट डा. प्रेमराज वैद्य स्वास्थ्य
डा. प्रेमराज वैद्य
लेखक
डा. प्रेमराज वैद्य
सिनियर कार्डियो भास्कुलर सर्जन

डा. वैद्यले एमडी, एमएस गरेका छन् । उनको मेडिकल काउन्सिल दर्ता नम्बर ३२६३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय