+
+

जयशंकरको भ्रमणमा २५ वर्षे विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुँदै

तीन अन्तरदेशीय प्रसारणलाइन उद्घाटन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १८ गते १९:३८

१८ पुस, काठमाडौं । बिहीबारदेखि सुरु हुने भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका दौरान दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा अन्तिम हस्ताक्षर हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका सिलसिलामा १७ जेठमा नेपाल र भारतबीच २५ वर्षका लागि भारतसँग विद्युत् व्यापारको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । सो अवसरमा दुई देशका ऊर्जासचिव स्तरमा दीर्घकालीन विद्युत् व्यापार (लङटर्म पीपीए)मा प्रारम्भिक सम्झौता भएको थियो ।

सो सम्झौतालाई भारत सरकारले अनुमोदन गरेसँगै बिहीबारदेखि सुरु हुने भारतीय विदेशमन्त्री एस जयशंकरको भ्रमणका दौरान सम्झौता पत्रमा हस्ताक्षर हुने ऊर्जा, जलस्रोत तथा सिँञ्चाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहले जानकारी दिए । उनका अनुसार यस सम्झौता पत्रमा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतीय ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

यसै सम्झौतामा आगामी १० वर्षभित्र भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने विषय समेत समावेश छ । यो सम्झौताले नेपालमा उत्पादित विद्युतका लागि निर्यातको बाटो सुनिश्चित गर्नेछ ।

नेपालको मन्त्रिपरिषद्‍बाट गत जेठमै सम्झौताको प्रस्ताव पारित गरेको भए पनि भारत सरकारले पारित गर्न बाँकी रहेको भन्दै पूर्ण सम्झौतामा हस्ताक्षर भएको थिएन ।

सन् २०१४ मा नेपाल र भारतबीच ऊर्जा व्यापार सम्झौता (पीटीए) भएको थियो । त्यसपछि २०७८ चैत १८ देखि २० सम्म तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा दौरान ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्रमा हस्ताक्षर भएको थियो ।

सोही पीटीएमा आधारित भएर जारी भएका निर्देशिका र कार्यविधिबमोजिम भारतसँग बिजुलीको व्यापार हुनेछ । नेपाल र भारतबीचको सम्झौता र विद्युत् व्यापारले सरकारसँगै निजी क्षेत्रले समेत लाभ उठाउनेछ । खासगरी नेपालमा जलविद्युतमा लगानी बढाउने र उत्पादित बिजुलीको व्यापार सुनिश्चित गर्न यो सम्झौता महत्वपूर्ण हुनेछ ।

अहिले भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगासम्म निर्यात गर्न स्वीकृति दिएको छ ।

उता, मध्यमकालीन विद्युत् सम्झौता बमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेडसँग ११० मेगावाटसम्म निर्यात गर्ने समझदारी भइसकेको छ । यसरी नेपालबाट ६३२ मेगावाट विद्युत् निर्यातका लागि भारतले स्वीकृति दिइसकेको छ ।

यस वर्षायाममा मात्र नेपालले विद्युत् निर्यातबाट १५ अर्ब २४ करोड रुपैयाँ आर्जन गरेको छ । नयाँ समझदारीले दीर्घकालीन व्यापारको बाटो खोल्ने छ । नेपाल विद्युत् प्राधिकरणमार्फत अहिले प्रतिस्पर्धामार्फत भारतको डे–अहेड बजारमा गरिरहेको विद्युत् व्यापारलाई दीर्घकालीन व्यापार सम्झौताले सहज बनाउने छ । प्रतिस्पर्धी बजारमा बिजुली बेच्दा औसतः मूल्य कम आउने गर्छ ।

भारतसँगको दीर्घकालीन पीपीए अनुसार निजी क्षेत्रले पनि भारतमा विद्युत् बिक्री गर्न सक्छन् । तर, लगानीकर्ता नेपाली वा भारतीय हुनुपर्छ । यसले चिनियाँ लगानीकर्तालाई भने निरुत्साहित गर्छ ।

नेपालले भारतसँग लामो समयदेखि दीर्घकालीन विद्युत् व्यापार सम्झौताको प्रस्ताव गरे पनि भारत सकारात्मक नहुँदा कार्यान्वयनमा आउन सकेको थिएन । प्रधानमन्त्री प्रचण्डको भ्रमणमा समेत भारतले यस विषयलाई पन्छाउन खोजेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले यो सम्झौता नगर्ने भए अन्य सम्झौता पनि नलिने अडान लिएसँगै प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । जसलाई नेपाली जलविद्युत् विकासका लागि सरकारी अधिकारीहरु ‘कोशेढुंगा’को संज्ञा दिन्छन् ।

विज्ञहरुका अनुसार १० हजार विद्युत् नियमित आपूर्ति गर्न सक्दा नेपालले वार्षिक ९ खर्ब रुपैयाँसम्म आर्जन गर्नसक्छ । तर, त्यस परिणामको विद्युत् निर्यात गर्न नेपालको उत्पादन क्षमता २५ हजार मेगावाट पुग्नुपर्छ ।

ऊर्जा मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म २ हजार ८७४ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रणालीमा जडान भएको छ । मुलुकभित्र सौर्य ऊर्जाबाट ४४.६१ मेगावाट क्षमता उत्पादन भएको छ भने लघु तथा साना जलविद्युत् आयोजनाबाट ३७.९४ मेगावाट विद्युत् उत्पादन भएको छ ।

तीन वटा प्रसारणलाइनको उद्घाटन

ऊर्जा मन्त्रालयका सहसचिव सिंहका अनुसार विदेशमन्त्री जयशंकरको भ्रमणकै दौरान तीन वटा प्रसारणलाइनको उद्घाटन समेत हुँदैछ ।

१३२ केभीका कुशाहा–कटैया प्रसारणलाइन, रक्सौल–परवानीपुर प्रसारणलाइन र नौतनवा–मैनहिया प्रसारणलाइनको समेत यसै भ्रमणका दौरान उद्घाटन गरिने ऊर्जा मन्त्रालयले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?