+
+

काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते ९:५३

१९ पुस, काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र  परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् ।

भारतीय वायु सेवाको विशेष विमानमार्फत आएका जयशंकरले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ ।

दिउँसो १ बजे उनी परराष्ट्र मन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी हुनेछन् ।

शुक्रबार बिहान ८ बजे पशुपतिनाथको दर्शन गरेर उनी मध्याह्न स्वदेश फर्किनेछन् ।

कोभिड महामारीका कारण विगत दुई वर्ष परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठक हुनसकेको थिएन । त्यसअघि २०७७ साल माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो । त्यसयता रोकिएको सातौं बैठक यस पटक काठमाडौंमा हुन लागेको हो ।

संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका बृहत् विषयमा समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा दुई देश बीचको व्यापार असन्तुलन कम गर्ने, आयात निर्यातमा सन्तुलन कायम गर्ने, ऊर्जा व्यापार लगायत विषयमा छलफल गर्ने तयारी छ ।

जयशंकरको भ्रमणका क्रममा २५ वर्षे विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारीसमेत छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका सिलसिलामा १७ जेठमा नेपाल र भारतबीच २५ वर्षका लागि भारतसँग विद्युत् व्यापारको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो ।

फोटो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?