+
+

जयशंकरको नेपाल भ्रमण : हवाई एजेण्डामा पुनः कमजोर तयारी

अच्युत पुरी अच्युत पुरी
२०८० पुष १९ गते ९:२२

१९ पुस, काठमाडौं । नेपाल र भारतबीच उच्च सरकारी तहबाट सल्टाउनु पर्ने कैयौं एजेण्डामा कमजोर तयारी गर्दा यस पटक पनि नागरिक उड्डयनसँग सम्बिन्धत एजेण्डामा ठोस उपलब्धि नहुने देखिएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको बिहीबारबाट हुने नेपाल भ्रमणमा नागरिक उड्डयनसँग सम्बन्धित एजेण्डा के उठाउने भन्ने विषय बुधबार साँझसम्म पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टुंगो लगाइसकेको छैन ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार कुन विषयमा कसरी प्रस्तुत हुने भन्नेबारे अझै टुंगो लागेको छैन । ‘हामी अझै पनि छलफलमै छौं,’ उनले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री ज्यूको भारत भ्रमणमा उठेका विषयलाई मूर्तरुप दिने प्रयास हुनेछ ।’

गत १८ जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदी बीचको भेटमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली (आइएलएस) सञ्चालन गर्न दिने सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिएका थिए । तर, यसबीचमा सो प्रणाली सञ्चालन गर्ने सम्बन्धमा प्राविधिक तहमा भने कुनै काम भएको छैन । सोहीकारण कार्यान्वयनमा पनि आउन सकेको छैन । यस पटक यो विषयलाई टुंग्याउने तयारी रहेको बताइए पनि निश्चित भइसकेको छैन ।

मन्त्रालयका एक अधिकारीका अनुसार नेपालले विगतदेखि नियमित उठाइरहेका हवाई रुटका विषयलाई पनि पुनः उठाउने तयारी छ । भारतले भने यसअघि प्रस्तावित रुट र यसमा रहेका प्राविधिक कठिनाइबारे नेपाललाई स्पष्ट जानकारी दिई विकल्प ल्याउन भनेको र यसमा नेपाल पक्षले नै विकल्प ल्याउन नसकेको बताइरहेको छ ।

खासगरी भैरहवाबाट नेपालले मागेको इन्ट्री रुटमा भारतले असहमति जनाइरहेको छ । गोरखपुरमा भारतीय सेनाको क्याम्प रहेको र सो रुट व्यावसायिक उडानका लागि उपयुक्त नभएको तर्क भारतको छ ।

अहिले पश्चिमतर्फबाट आउने जहाजहरु पूर्वको सिमरा इन्ट्री प्वाइन्टबाट नेपाल छिरी पुनः भैरहवातर्फ जानुपर्ने बाध्यता छ । यो रुट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि व्यवहारिक हुन सकेको छैन । यसबाहेक नेपाल र भारतबीच नेपालगञ्ज र महेन्द्रनगर रुटबाट सबै प्रकारका व्यवसायिक जहाज नेपाल भित्रिन दिनेबारे छलफल चलिरहेको भए पनि भारतले अनुमति दिइसकेको छैन । नेपालबाट बाहिरिने जहाजहरु अहिले भैरहवा, महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट जान सक्छन् । तर, नेपाल भित्रन भने सिमरा नै पुग्नुपर्ने बाध्यता छ ।

नेपालले उठाइरहेको अर्को विषय नेपालगञ्ज र विराटनगर विमानस्थलबाट छिमेकी भारतीय शहरमा उडानको अनुमति पनि हो । यस प्रयोजनका लागि नेपाल सरकारले यी दुई विमानस्थलको टर्मिनललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन काम समेत गरिरहेको छ । तर, भारतसँग ठोस सहमति गर्न नसक्दा नेपालको योजना अधुरै रहेको छ ।

बुद्ध एयरले नेपालगञ्जबाट भारतको राजधानी दिल्लीमा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बनारस उडान गर्ने योजना सार्वजनिक समेत गरेको थियो । तर, भारतले अनुमति नदिएपछि यी योजना अझै पुरा हुन सकेको छैन ।

हिमालय एयरलाइन्सले समेत भारतमा उडान अनुमतिका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेपनि त्यसमा भारतले सहमति जनाएको छैन ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?