+
+
Shares

मानव सभ्यतादेखि जोडिएको मयूर किन यति महत्त्वपूर्ण छ ?

सापेक्ष सापेक्ष
२०८२ असार ४ गते ७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मयूरलाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।
  • यसको प्राकृतिक वासस्थान भारत, म्यानमार र कंगोमा छ र वासस्थान विनाशले संकटमा परेका छन्।
  • मयूरको सुन्दरता र व्यवहारले मानव सभ्यतासँग गहिरो सम्बन्ध राख्दछ।

पृथ्वीमा अनेकौँ जीवहरू छन् । तर केही यस्ता छन्, जसको सुन्दरताले हामीलाई सदा मोहित पारिरहन्छ । मयूर तिनैमध्येको एक हो । विशेषगरी भाले मयूरको मनमोहक रंगीन प्वाँख संसारभर प्रख्यात छ ।

यसलाई वैज्ञानिक भाषामा पाभो क्रिस्टाटस भनिन्छ । यिनीहरू फासियानिडे परिवारको पाभोनिनी उप-परिवारमा पर्दछन्, जहाँ तितरा र कुखुराजस्ता पक्षीहरूलाई राखिएको छ ।

यसको नाम‍बारे पनि धेरैलाई अलमल भएको देखिन्छ । नेपालीमा मयूर शब्दले भाले र पोथी दुवैलाई जनाए पनि अंग्रेजीमा भालेलाई पिकक(Peacock) र पोथी मयूरलाई पीहेन(Peahen) भनिन्छ ।

सौन्दर्य, ऐश्वर्य, सकारात्मक ऊर्जा, गौरव, आत्मविश्वास आदिको प्रतीक मानिने मयूरको इतिहास मानव सभ्यता जत्तिकै पुरानो छ । यसको उत्पत्ति भारतीय उपमहाद्वीपमा भएर करिब चार हजार वर्षअघि नै अन्य सभ्यताहरूमा फैलिएको मानिन्छ ।

ऐतिहासिक महत्त्व

अद्‍भुत सुन्दरताले गर्दा मयूरले प्राचीन सभ्यताहरूमा उच्च सम्मान पायो । १७ औं शताब्दीको प्रारम्भमा मुगल सम्राट शाहजहाँका लागि बनाइएको प्रसिद्ध मयूर सिंहासन यसको शाही महत्वको ज्वलन्त उदाहरण हो ।

त्यस सिंहासनमा सुन र रत्नजडित दुई मयूरको आकृति बनाइएको थियो । त्यसले गर्दा मयूरलाई राजसी शक्ति तथा वैभवको चरम प्रतीकको रूपमा स्थापित गर्‍यो । हिन्दू धर्ममा मयूरलाई ज्ञान, संगीत र कलाकी देवी सरस्वतीसँग सम्बन्धित मान्ने गरिएको छ । यसको प्वाँखले ज्ञान तथा प्रबुद्धतालाई प्रतिनिधित्व गर्छ ।

भगवान कृष्णलाई पनि प्रायः आफ्नो मुकुटमा मयूरको प्वाँखसहित नै चित्रण गर्ने गरिन्छ । त्यसले प्रकृति तथा ब्रह्माण्डीय व्यवस्थासँगको उनको सम्बन्धलाई दर्शाउँछ ।

यसैगरी हिन्दू धर्ममा मयूरलाई मार्नु र खानु महापाप मानिन्छ । यसको यस्तो सांस्कृतिक तथा धार्मिक महत्वलाई स्वीकार गर्दै भारत सरकारले २६ जनवरी १९६३ मा मयूरलाई भारतको राष्ट्रिय चरा घोषणा गर्‍यो । यो म्यानमारको पनि राष्ट्रिय चरा हो ।

यद्यपि मयूरको प्रभाव भारतीय उपमहाद्वीपमा मात्र सीमित छैन । खोज्ने हो भने यसले प्राचीन ग्रीक, चीन, रोमन संस्कृति, फारसी संस्कृति, चिनियाँ आदिमसम्म महत्त्व राख्ने गरेको पाइन्छ । उदाहरणका लागि प्राचीन फारसमा मयूरलाई अमरत्वको प्रतीक मानिन्थ्यो । फारसीहरू मयूरको मासु नसड्ने विश्वास गर्थे । मयूरका आकृतिहरू अचेमेनिड साम्राज्य (प्राचीन इरानी राज्य)का दरबार र मन्दिरहरूमा सजिएका हुन्थे ।

त्यससँगै मयूरलाई कला, साहित्य तथा पौराणिक कथाहरूमा पनि प्राचीन कालदेखि नै चित्रण गरिएको छ । यसले राजसी, सुन्दरता र अमरत्वको प्रतीकका रूपमा परम्परागत कला, मध्यकालीन चित्रकला र समकालीन डिजिटल कलाकृतिहरूमा स्थान पाएको छ ।

मुगल युगमा मयूरका आकृतिहरू बुनेका कपडाहरूमा पाइन्थे । र यसका प्वाँख मुकुट र गहनाहरूमा प्रयोग गरिएको हुन्थ्यो ।

साहित्यमा पनि मयूरको सुन्दरताको वर्णन प्रशस्त पाइन्छ । कवि प्रिया मल्होत्राले मयूरलाई ‘प्रकृतिको जीवित कलाकृति’ भनी वर्णन गरेकी छिन् । बाइबलमा पनि मयूरलाई राजा सोलोमनका जहाजहरूले एसियाबाट ल्याएका सबैभन्दा बहुमूल्य वस्तुहरूमध्ये एकको रूपमा उल्लेख गरिएको छ ।

शारीरिक बनावट, आकार र आयु

भाले मयूर आफ्नो लामो, पुच्छर (जसलाई ‘ट्रेन’ भनिन्छ) का लागि प्रख्यात छ । यसले यो भाग प्रेम प्रदर्शन गर्न प्रयोग गर्ने गर्छ । ट्रेन भने २.२ मिटर (७.५ फिट) कुल लम्बाइको लगभग १.५ मिटर (५ फिट) सम्म लामो हुन सक्छ ।

यसमा २०० भन्दा बढी प्वाँखहरू हुन्छन् । भाले मयूरको टाउको, घाँटी र छाती निलो रङको, अनुहारको छाला सेतो हुन्छ । यसको टाउकोमा पङ्खा आकारको जुरो हुन्छ । तर पोथी मयूर भने भालेको तुलनामा कम आकर्षक देखिन्छन् । तिनीहरूको अनुहारको छाला र जुरोको आकार भालेको जस्तै हुन्छ, तर जुरो खैरो रङको हुन्छ ।

घाँटी सेतो, छाती र घाँटीको पछाडिको भाग हरियो, पेट फिक्का खैरो देखि क्रिम रङको हुन्छ । र, बाँकी शरीर हल्का खैरो-खैरो रङको हुन्छ ।  पोथीको पुच्छर भालेको जस्तो ठूलो हुँदैन।

यिनीहरूको औसत आयु १० देखि २५ वर्षसम्म हुन्छ । तर सामान्यतया १५ देखि २० वर्ष मानिने गरिएको छ । यो पन्छी औषतमा १६ किलोमिटर प्रतिघण्टाको गतिमा दौडन सक्छ ।

रंगीन प्वाँखको रहस्य

मयूरको रंगीन प्वाँखको पछाडि पनि रोचक तथ्य छ । त्यो चम्किलो रंगीन चमक कुनै पिग्मेन्ट (रङ कण) को कारणले नभई संरचनात्मक रङको कारणले बन्ने गर्छ ।

त्यस्तो रङ प्वाँखका बार्ब्युल भनिने भागहरूमा रहेका सूक्ष्म संरचनाहरूले प्रकाशलाई परावर्तन गराएर बनेको हो । बार्ब्युलहरूको बीचको दूरीमा हुने सानो परिवर्तनले विभिन्न रङहरू बन्ने गर्छन् । तर कताबाट हेरिरहेको छ भन्ने कुराले पनि रङमा केही फरक देखिन सक्छ ।

जुन चम्किलो रङ जीव विज्ञानसँग पनि जोडिएको छ । जीव वैज्ञानिक चार्ल्स डार्विनले भनेझैं पोथीहरूले सबैभन्दा सुन्दर भाले मयूरलाई रोज्ने भएकाले भालेलाई यस्तो सुन्दर प्वाँख विकास गर्न प्रोत्साहन मिलेको हो । सरल तरिकाले भन्दा भालेलाई आफ्नो आकर्षण देखाउन सो रङले निकै सहयोग गर्ने गर्छ ।

यता पोथीलाई भालेको स्वास्थ्य र बलियोपन थाहा पाउन संकेत दिन्छ । किनकि कमजोर भालेले त्यस्तो जटिल शारीरिक संरचना आकर्षक बनाउन सक्दैन ।

प्राकृतिक वासस्थान, भौगोलिक वितरण र आहार

मयूरहरू मुख्यतया जंगलका जीव हुन् । यिनीहरूले जमिनमा गुँड बनाउँछन् र रातमा अग्ला रूखहरूमा बास बस्छन् । तिनीहरू दिनमा सानो समूह बनाएर जमिनमा चर्ने गर्छन्।

भारतीय मयूर विशेषत: भारत र श्रीलंकाको मूल निवासी हुन् । हरियो मयूर म्यानमारदेखि जाभासम्म पाइन्छ । कंगो मयूर कंगो गणतन्त्रको जंगली भित्री भागमा मात्र पाइन्छ ।

मयूरहरू सर्वाहारी हुन्छन् । उनीहरूले अन्न, कीरा, साना सरिसृप, साना स्तनधारी जीव, फलफूल, बालीहरू आदि खाने गर्छन् । यिनीहरूले स-साना सर्पहरू पनि समात्ने र खाने गर्छन् ।

सामाजिक संरचना

मयूरहरू सामाजिक चराहरू हुन् । यिनीहरू सानो समूह वा बथानमा बस्छन् । यिनीहरूको सामाजिक संरचना प्रायः मातृसत्तात्मक हुन्छ । किनकि धेरै समूहमा पोथीहरू समूहको मुख्य भाग हुन्छन् ।

मयूरहरू तिनीहरूको चर्को आवाजका लागि पनि परिचित छन् । तर यस्तो स्वर भने उनीहरूले प्रजनन मौसममा मात्र निकाल्ने गर्छन् । टाढासम्म सुन्न सकिने त्यस्तो आवाज कतिपय अवस्थामा मानिसले मद्दत मागेको जस्तो पनि सुनिन्छ ।

आफ्नो शरीरबाट निकाल्ने चम्किलो रङसँगै भालेहरूले पोथीलाई आकर्षित गर्न आवाजलाई पनि प्राथमिक माध्यमको रूपमा प्रयोग गर्छन् । यससँगै कुनै खतरा महसुस हुँदा पनि मयूरहरूले विशेष प्रकारको आवाज निकाल्ने गर्छन् ।

प्रजनन प्रक्रिया र भालेको प्रेम प्रदर्शन

एउटा भाले मयूरले प्रजनन् मौसममा दुईदेखि पाँचवटा पोथीको समूह बनाउने गर्छ । उनीहरूको प्रजनन वर्षा मौसममा निर्भर हुन्छ ।

त्यो समय निकै हेर्न लायक हुन्छ । भनिन्छ, भाले मयूरको प्रेम प्रदर्शन गर्ने दृश्य प्रकृतिको सबैभन्दा आकर्षकमध्येको एक हो । भालेले आफ्नो लामो, पुच्छरलाई पंखाजस्तै फिजाउँछ र सिधा राख्छ । यस क्रममा भालले हिँड्ने, कराउने र नाच्ने जस्ता गतिविधि पनि गर्ने गर्छ ।

यता पोथीले भालेको मूल्यांकन गर्न उसको अगाडि ९० डिग्रीको कोणमा उभिने गर्छ । त्यसपछि भालेले आफ्नो प्वाँखहरूलाई करिब ४५ डिग्री दायाँतिर फर्काउँछ । त्यसो गर्दा सूर्यको प्रकाशले प्वाँखको चम्किलोपनलाई अझ बढाउँछ ।

यदि पोथीले भालेसँग अन्तरक्रिया गर्न चाहे भालेतिर फर्केर आफ्नो ट्रेनलाई कपाउँछ । यसपछि मैथुन प्रक्रिया सुरु गर्छ । पोथी मयूरले जमिनमा खाल्डो खनेर आफ्नो गुँड बनाउने गर्छ । जसमा पात, हाँगा जस्ता सामग्रीहरू प्रयोग गरिएको हुन्छ ।

त्यसमा जंगली मयूरले सामान्यतया ६ देखि ८ वटा अण्डा पार्छन् । यी अण्डा हल्का खैरो रङका हुन्छन् । त्यसबाट बच्चा जन्मन भने करिब २८ दिन लाग्ने हुन्छ । तर बच्चा हुर्काउन भने भाले मयूरले केही पनि सहयोग गर्दैन ।

समग्रमा आफ्नो सुन्दरता, आकर्षक प्वाँख र व्यवहारका कारण परिचित मयूर प्रकृतिको एक अमूल्य रत्न हो भन्दा फरक पर्दैन । किनकि मानव सभ्यतादेखि नै मयूर हामीबिच जोडिएको छ ।

यद्यपि पछिल्लो समयमा हरियो मयूर र कंगो मयूर जस्ता प्रजातिहरू वासस्थान विनाश, अवैध शिकार र विषादी प्रयोग जस्ता कारण संकटमा छन् । नेपालमा तराई र पहाडका केही जंगलहरूमा मयूर पाइन्छन् । विषेशत: सानो खरमयूर र ठूलो खरमयूर गरी नेपालमा दुई प्रकारका मयूर पाइन्छन् । मयूर नेपालमा संरक्षित चरा हो ।

संसारमा भने भारतीय मयूर, हरियो मयूर र कंगो मयूर गरी तीन प्रकारका मयूर पाइन्छन् । यी मध्ये हरियो मयूर र कंगो मयूर लोपोन्मुख प्रजातिमा राखिएको छ । यसकारण यस्तो विशेषता र विरासत भएको मयूरको अस्तित्वका लागि सामूहिक प्रयास आवश्यक छ ।

लेखक
सापेक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?