+
+
फिचर :

विद्युतीय गाडीको बिक्रीमा टेस्लालाई पछि पार्यो चिनियाँ कम्पनी बिवाइडीले

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १८:३०

२०  पुस, काठमाडौं । अमेरिकी कम्पनी टेस्लालाई पछि पार्दै चिनियाँ कम्पनी बिवाइडीले विश्वमा सबैभन्दा धेरै विद्युतीय गाडी बिक्री गर्ने कम्पनी बन्न सफल भएको छ ।

बितेको वर्ष सन् २०२३ को अन्तिम त्रैमासिकमा बिवाइडीले किर्तिमानी ५ लाख २६ हजार गोटा विद्युतीय गाडी बिक्री गरेको छ ।  यो सँगै बिवाइडीले पहिलोपटक कुनै त्रैमासिकमा टेस्लाले भन्दा धेरै विद्युतीय गाडी बेच्न सफल भएको हो ।

उक्त त्रैमासिकमा टेस्लाले ४ लाख ८४ हजार विद्युतीय गाडी बिक्री गरेको छ । यद्यपि टेस्लाका लागि पनि उक्त संख्या हालसम्मकै धेरै हो ।उता कर्जाको लागत उच्च भएसँगै चौथो त्रैमासिकमा अमेरिकी कम्पनी टेस्लाका गाडीको मागमा भने गिरावट आएको  छ।

वर्षको अन्तिम त्रैमासिकमा चिनिया कम्पनीले भन्दा ४० हजार गोटा कम विद्युतीय गाडी बिक्री गरेको भएपनि वर्षभरिको कारोबारमा भने टेस्ला नै अग्रस्थानमा रहेको छ ।सन् २०२३ मा समग्रमा टेस्ला कम्पनीले १८ लाखवटा विद्युतीय गाडी बिक्री गरेको छ ।

वार्षिक रुपमा टेस्लाको व्यापार विश्लेषकहरुको अपेक्षा भन्दा राम्रो भएको छ । सन् २०२२ को तुलनामा २०२३ मा टेस्लाका विद्युतीय गाडीको बिक्री २० प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

यद्यपि गतवर्षको सुरुमा एलन मस्कले गरेको प्रक्षेपण भने पूरा हुन सकेन । सन् २०२३ को सुरुवातमा टेस्लाका मालिक एलन मस्कले वर्षभरमा कम्पनीले २० लाख विद्युतीय गाडी बिक्री गर्ने बताएका थिए ।

ग्राहकहरुलाई लोभ्याउनका लागि टेस्लाले विद्युतीय गाडीको मूल्यमा पटक पटक कटौती गरेको थियो ।चिनिया कम्पनी बिवाईडीले पछिल्लो त्रैमासिकमा प्राप्त गरेको सफलता टेस्लाका लागि चेतावनी सूचक रहेको बताइएको छ ।

विश्लेषकहरुका अनुसार विद्युतीय गाडीको बजार निकै प्रतिस्पर्धी बनेको छ र बिवाइडीले तिव्र गतिमा प्रगति गरिरहेको छ । यस्तो अवस्थामा टेस्लालाई यो क्षेत्रमा अग्रता कायम गरिरहन ठूलो चुनौति खडा भएको छ ।

सेन्झेनमा मूख्यालय रहेको बिवाइडीले सन् २०२३ मा कूल ३० लाखवटा न्यू इनर्जी भेहिकल्स (एनइभी) बिक्री गरेको छ । यसमा ब्याट्रीबाट मात्र चल्ने र हाइब्रिड गाडी दुबै पर्दछन् । त्यसमध्ये बाट्रीबाट मात्र चल्ने गाडीको संख्या १६ लाख रहेको छ । यसको अर्थ वर्षभर बिवाइडीले बिक्री गरेको ब्याट्रीबाट मात्र चल्ने विद्युतीय गाडीको संख्या टेस्लाको भन्दा २ लाखले कम हो ।

वांग चुआनफुले सन् १९९५ मा सेन्झेनमा बिवाइडी कम्पनीको स्थापना गरेका हुन् । यो कम्पनी स्मार्टफोन, ल्यापटप तथा अन्य विद्युतीय उपकरणमा प्रयोग हुने रिचार्जेबल ब्याट्रीहरुको उत्पादनका लागि पनि चर्चित छ ।

सन् २००२ मा सार्वजनिक कम्पनीको रुपमा शेयर जारी गरेको बिवाइडीमा सन् २००८ देखि वारेन बफेटको समेत शेयर रहेको  छ।कम्पनी आफैले गाडीका ब्याट्रीहरु उत्पादन गर्ने भएकाले अन्य प्रतिस्पर्धी कम्पनीहरुको तुलनामा विद्युतीय गाडी उत्पादनमा बिवाइडीलाई तुलनात्मक लाभ रहेको छ ।

आफ्नै उत्पादनका ब्याट्री भएकाले सन् २०२३ को अन्तिम त्रैमासिकमा बिवाइडीले विद्युतीय गाडीको मूल्यमा कटौती गरेको थियो, जसका कारण गाडीको माग बढेको थियो । गत डिसेम्बर महिनामा बिवाइडीका विद्युतीय गाडीको बिक्रीमा ७० प्रतिशत बढोत्तरी भएको थियो । बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?