+
+

‘जवान’ अभिनेता सांगे काठमाडौंमा, घुमघाम र ओटीटी बजारको खोजी मुख्य उद्देश्य

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १२:४९
अभिनेता प्रदीप खड्कालगायतसँग भुटानी अभिनेता सांगे सेल्ट्रिम

काठमाडौं । शाहरुख खान स्टारर ‘जवान’ फेम्ड बलिउड अभिनेता सांगे सेल्ट्रिम शनिबार काठमाडौं आइपुगेका छन् । अभिनेता प्रदीप खड्काको निम्तोमा नेपाल आएका सांगेको काठमाडौं भ्रमण तीन उद्देश्यले भएको देखिन्छ ।

पहिलो– प्रदीपको शीर्ष भूमिका रहने फिल्म ‘ऐरी’बारे छलफल, दोस्रो– काठमाडौं घुमघाम र तेस्रो– उनी समेत सञ्चालक रहेको भुटानको ओटीटी एप सांग्रिलामा नेपाली कन्टेन्ट पनि राख्नेबारे बजार सम्भाव्यताको खोजी ।

दुईजना अन्य कलाकारसँगै शनिबार काठमाडौं उत्रिएका सांगेले राति अबेरसम्म ठमेल क्षेत्र घुमे । त्यहाँको क्लब एलओडीबारे धेरै कुरा सुनेका उनी त्यहाँ पनि पुगेका थिए । शनिबार साँझ प्रदीपले हालै सञ्चालनमा ल्याएको ‘प्याराडाइज’ रेस्टुरेन्टमा पुगेर लाइभ म्युजिकमा पनि भाग लिए ।

यसअघि भारतमा समेत प्रदीप र सांगेबीच भेट भइसकेको छ । त्यतिबेला सांगेले तस्वीर सेयर गर्दै फिल्म ‘ऐरी’लाई शुभकामना समेत दिएका थिए । त्यतिबेलै उनी फिल्ममा जोडिने अड्कलबाजी काटिएको थियो ।

सांगे ‘ऐरी’मा जोडिने सम्भावना बलियो रहेको र आधिकारिक रुपमा अनुबन्धित भइसकेपछि सार्वजनिक गरिने प्रदीपले जानकारी दिए । यसबाहेक भुटानी ओटीटी एप सांग्रिलामा नेपाली फिल्म, गीत र सिरिज समेत राख्नेबारे बुझ्न सांगेको टिम आएको जनाइएको छ । ‘विशेषतः उहाँको मुख्य प्राथमिकता घुमघाम नै हो,’ प्रदीपले भने ।

आफ्नो निम्तोमा सांगे नेपाल घुम्न आएको प्रदीपले अनलाइनखबरलाई जानकारी दिए । सांगेको यो पहिलो नेपाल भ्रमण हो । आइतबार उनले चन्द्रागिरि डाँडा घुम्दैछन् । सैनिक सेवापछि सांगे मिस्टर भुटान मात्र बनेनन्, उनी भुटानी फिल्ममा समेत कहलिए । ‘जवान’को अभिनयले उनलाई थप चर्चा दिलाएको छ ।

मंगलबार भारत फर्किने सांगेको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?