+
+

सिवाई-बेल्हा पुलको प्रस्ताव क्याबिनेटमा पेश गर्न भौतिक सचिवलाई प्रधानमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १६:५९

२३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले चौदण्डीगढी नगरपालिका-५ स्थित सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुलको रिपोर्ट र बन्‍ने आधारसहितको प्रस्ताव आउँदो क्याबिनेटमा पेश गर्न भौतिक मन्त्रालयका सचिवलाई ठाडो निर्देशन दिएका छन् ।

सोमबार उदयपुरका स्थानीय जनप्रतिनिधि र प्रमुख राजनीतिक दलका प्रतिनिधिको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले भौतिक मन्त्रालयका सचिव केशव कुमार शर्मालाई फोनमार्फत कुरा गर्दै आउँदो क्याबिनेट बैठकमा पुल बन्‍ने गरीको सम्पूर्ण रिपोर्ट पेश गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले उदयपुरका स्थानीय जनप्रतिनिधि र प्रमुख राजनीतिक दलका प्रतिनिधिलाई अलपत्र अवस्थामा रहेको पुल आउँदो क्याबिनेटबाटै पास गराउने गरी काम हुने आश्वासनसमेत दिएको चौदण्डीगढी नगरका पूर्वमेयर खगेन्द्र राईले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘ हामीले अलपत्र अवस्थामा रहेको सिवाई-बेल्हा जोड्ने पुलको बारेमा ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री ज्यूले सिधै भौतिक मन्त्रालयका सचिवलाई फोन गर्नुभयो । सचिवलाई त्रियुगा नदीमा सिवाई-बेल्हा जोड्ने पुलको रिपोर्ट र बन्‍ने आधारसहित आउँदो क्याबिनेटमा पेश हुने गरी फाइल ल्याउन  निर्देशन दिनुभयो।’

यस्तै प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काले उक्त पुलको महत्वको बारेमा प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ गरेका थिए । डा. खड्काले यो पुलका कारण उदयपुर मात्रै नभई खोटाङलगायतका जिल्लाको यातायातमा प्रभावित हुने गरेको बताएका थिए ।

यसअघि उदयपुरका जनप्रतिनिधिसहितको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई  मन्त्रालयमै ज्ञापनपत्र बुझाउँदै भाँचिएको पुल तत्काल निर्माण सुरु गर्न खबरदारी गरेका थिए । उनीहरूले पुल नबनाए मन्त्रालयमै धर्ना दिने उदयपुरका जनप्रतिनिधिको चेतावनीसमेत दिएका थिए ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर-५ सिवाई-बेल्हा जोड्‍ने पुल २०६६ सालमा शिलान्यास भई २०७७-०७८ मा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको थियो । तर, निर्माण सकिनै लागेको पक्की पुल त्रियुगाको बाढीले बगाएको थियो ।  पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अलपत्र अवस्थामा छ । उद्घाटनअघि नै भाँचिएको पुल  जस्ताको तस्तै अवस्थामा रहेपछि वर्खायाममा यहाँका  स्थानीय वासिन्दाले सास्ती बेहोरिरहेका छन् ।

यो पुलले उदयपुरलाई खोटाङको दक्षिणी भेग र भोजपुरको पश्चिमी भेगलाई तराई-मधेशसँग जोड्छ । उदयपुरकै चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५, ९ र १० का करिब २० हजार जनसंख्यालाई नगरको केन्द्रसँग सिधा सम्पर्क गराउँछ। तर, पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीलाई आउ-जाउ गर्न समस्या भएको छ ।

पुलको निर्माण महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंले गरेको थियो । पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?