+
+

पुल नबनाए मन्त्रालयमै धर्ना दिने उदयपुरका जनप्रतिनिधिको चेतावनी

सहदेव चौधरी सहदेव चौधरी
२०८० पुष १९ गते १९:०४

१९ पुस, काठमाडौं । उदयपुरका जनप्रतिनिधिसहितको टोलीले चौदण्डीगढी नगरपालिका -५ स्थित सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल निर्माण नगरे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै धर्ना दिने चेतानवी दिएका छन् ।

बिहीबार स्थानीय जनप्रतिनिधि र प्रमुख राजनीतिक दलका प्रतिनिधिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाउँदै भाँचिएको पुल तत्काल निर्माण सुरु गर्न खबरदारी गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले भाँचिएको पुल जसरी पनि बन्‍ने प्रक्रिया र माग पूरा नभएसम्‍म उदयपुर नफर्किने र  मन्त्रालयमै धर्ना दिने बताए । ‘मन्त्री, सचिव, डिजी बोलाएर हुन्छ कि के गरेर हुन्छ त्यो काम हुनुपर्छ। मन्त्रिपरिषदबाट हाम्रै अगाडि पुल बन्‍ने बजेट र प्रक्रिया पास हुनुपर्छ । नत्र हामी घर फर्किँदैनौं’, उनले भने ।

चौचण्डीगढी नगरपालिका-५ का वडाअध्यक्ष तुलसी ढकालले गत कात्तिकमा पनि पुल निर्माण गर्ने वचन पाएको तर काम नभएको बताए ।  ‘गत साउन १४ गते मन्त्रीले दिनुभएको आश्वासन र वचन पूरा भएन । त्यसकारण हामी सबै जनप्रतिनिधिहरू फेरि संघीय राजधानी काठमाडौं आएका छौं। अब पनि पुल निर्माण सुरू गर्ने सुरसार नदेखाए यहीँ मन्त्रालयमै धर्ना बस्‍ने छौं’, उनले भने ।

चौदण्डीगढी नगरपालिकाका पुर्वमेयर खगेन्द्र राईले जनताको माग सुनुवाइ नभइकन आफूहरू गाउँ फर्कन नमिल्‍ने भन्दै अब पुल निर्माणको छिनोफानो हुनुपर्ने बताए । उनले अनलाइनखबरसँग भने, ‘हामीलाई जनताले पुल निर्माणको काम सकाएर मात्रै गाउँ आउनु भनेको छ। यदि यो काम सुनुवाइ नभए कुन मुख लिएर गाउँ फर्कनु ?’

मन्त्री ज्वालाले उक्त ज्ञापनपत्र बुझ्‍दै सिवाई- बेल्हा जोड्ने पुल निर्माणबारे मन्त्रालयमा दिनदिनै छलफल भइरहेको बताए । उनले भने, ‘यो ठाउँको पुल निर्माणको काम नयाँ शिराबाट सुरू हुने चिन्ता मैले लिएको छु। अहिलेलाई यही विश्वास दिलाउन चाहन्छु ।’

सडक विभाग विभागको महानिर्देशक सुशील ढकालले उक्त पुलको प्राविधिक समस्या समाधान भएको र छिट्टै निर्माणको प्रक्रिया सुरु हुने बताए ।

भौतिक मन्त्रालयका  निमित्त सचिव अर्जुनजंग थापाले सिवाई-बेल्हा जोड्ने पुल सम्पन्न गर्ने गरी प्रक्रियाको अन्तिम चरणमा रहेको बताए । उनले भने, ‘अब खाली मन्त्रिपरिषदबाट पुलको भेरिएसन पास गराउन बाँकी छ। यसपछि निर्माण कम्पनीलाई कामको जिम्मा लगाउछौं ।’

चौदण्डीगढी नगरपालिका वडा नम्बर-५ सिवाई-बेल्हा जोड्‍ने पुल २०६६ सालमा शिलान्यास भई २०७७-०७८ मा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको थियो । तर पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अलपत्र अवस्थामा छ । उद्घाटनअघि नै भाँचिएको पुल  जस्ताको तस्तै अवस्थामा रहेपछि वर्खायाममा यहाँका  स्थानीय वासिन्दाले सास्ती बेहोरिरहेका छन् ।

यो पुलले उदयपुरलाई खोटाङको दक्षिणी भेग र भोजपुरको पश्चिमी भेगलाई तराई-मधेशसँग जोड्छ । उदयपुरकै चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५, ९ र १० का करिब २० हजार जनसंख्यालाई नगरको केन्द्रसँग सिधा सम्पर्क गराउँछ। तर, पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीलाई आउ-जाउ गर्न समस्या भएको छ ।

पुलको निर्माण महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंले गरेको थियो । पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो ।

हेर्नुहोस् भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बुझाएको ज्ञापनपत्र :

 

लेखकको बारेमा
सहदेव चौधरी

समसामयिक र सूचना प्रविधिसम्बन्धी समाचार लेख्ने चौधरी अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?