+
+

उद्घाटनअघि नै भाँचिएको पुल एक वर्षदेखि जस्ताको तस्तै, स्थानीय वासिन्दा समस्यामा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १८:४१
तस्वीर/भिडियो : भास्कर चौधरी

२३ जेठ, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्कीपुल उद्घाटनअघि नै भाँचिएपछि यस क्षेत्रका वासिन्दा समस्यामा परेका छन् । वर्षायाम नजिकिँदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरु ज्‍यान जोखिममा राखेर नदी तर्न बाध्‍य भएका छन् ।

पुल नहुँदा चौदण्डीगढी-५ स्थित सिवाई-बेल्हाका वासिन्दा बढी समस्यामा परेका स्थानीय भास्कर चौधरीले बताए । उनले भने, ‘१२ वर्षपछि पुल बनेको थियो । तर उक्त पुल उद्‌घाटन नहुँदै भत्किएपछि सिवाइ-बेल्हाका वासिन्दा ज्यान जोखिममा राखेर तर्न बाध्‍य छौं ।’

दैनिक वर्षाको कारण नदीमा पानीको बहाव बढ्दै जान थालेपछि बेल्टार बजार आउजाउ गर्नुपर्नेहरु डराएका छन् । हालसम्म उनीहरु नदीमा हेलिएरै वारपार गर्दै आइरहेका छन् ।

चौदण्डीगढी– स्थित सिवाइ बेल्हा जोड्‍ने उक्त पुलको मर्मत तथा पुनःनिर्माणमा कसैले चासो नदेखाएको वडा नम्बर ५ का वडाअध्‍यक्ष- तुलसीराम ढकालले बताए । उनले नगरपालिकासँग यसबारेमा थप बुझ्ने बताए । उनले भने, ‘पुल भाँचिएपछि सम्बन्धित निकाय कसैले पनि चासो देखाएका छैनन् । वर्षायाममा यहाँका वासिन्दाले दु:ख पाएका छन् । यसबारेमा म सम्बन्धित निकायमा कुरा राख्छु ।’

गत वर्ष असार १९ गते त्रियुगा नदीमा आएको बाढीले पुलको एउटा पिलर भासिएको थियो भने दुई वटा स्लाब बगाएको थियो । बाढीले स्लाब बगाउँदा चौदण्डीगढी नगरपालिका– ५ सिवाईका अख्तर मियाँ खोलामा खसेर घाइते भएका थिए ।

पुल निर्माण रेखदेखको जिम्मा पाएको गाईघाट–दिक्तेल सडक आयोजनाका इन्जिनियर गोपाल खकुरेलले सडक विभागको निर्देशन नआउँदा काम अघि बढाउन नसकेको बताए ।

उनले भने, ‘ अहिले वर्षायाम सुरु भइसकेको छ। पुलको निर्माणको लागि बजेट आए पनि सडक विभागबाट निर्देशन आएको छैन । त्यसमा पनि कस्तो डिजाइन, कन्स्ट्रक्सनमा बनाउने भन्‍ने खाका नआएकाले काम हुन नसकेक हो ।’

खकुरेलका अनुसार आउँदो मंसिरअघि पुल निर्माण सुरु हुने सम्भावना नरहेको बताए । ‘सडक विभागले तत्काल कुनै निर्देशन नदिएकाले यसको काम थालनी हुन मंसिरसम्‍म लाग्‍न सक्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?