+
+

नवल खड्काको आक्रोश- कसको दबाबमा बीरगञ्जमा हाम्रो फिल्म रोकियो ?

हल संचालक भन्छन्- फिल्म चलाउन खड्काले फण्डा गरे

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १४:२१

काठमाडौं । निर्माता, निर्देशक तथा अभिनेता नवल खड्काले आफ्नो फिल्म ‘काँडेतार’लाई बीरगञ्जको हलमा च्यारिटी प्रदर्शनबाट रोक लगाइएको जनाएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराउने उल्लेख गरेका छन् ।

उनी लेख्छन्- किन ? के कारण ? कसरी ? कसले ? बीरगञ्जमा पुस २८ गते देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’को विशेष च्यारिटी शो हुनबाट रोक्यो ? यसको विस्तृत जानकारी प्रेसमिटमार्फत गराउने छौं । हामीलाई थाहा छ कि हामीले हाम्रो राष्ट्रको हित र एकतालाई मजवुत पार्दै अगाडि बढ्नुको विकल्प छैन ।’

फिल्मलाई निर्धारित फागुन २५ गते नै देशब्यापी प्रदर्शन गर्ने योजना रहेको उनको भनाइ छ । ‘तर किन देशभक्तिपूर्ण भावना संचारित गर्ने अभियानलाई बाधा पारिदैंछ ? यो गम्भीर प्रश्न छ । यसबारे जनता सचेत बन्नुपर्छ, ढिलो भइसक्यो । हामी त्यस्ता बाधालाई पञ्छाउँदै अघि बढ्नेछौं र काँडेतार चलचित्रलाई हाम्रो घोषणा अनुसार फाल्गुन २५ गतेबाट देशव्यापी प्रदर्शन गर्ने प्रतिबद्धता प्रकट गर्दछौं ।’

यसबारे अनलाइनखबरले खड्कासँग जिज्ञासा राखेको थियो । बीरगञ्जस्थित त्रिमूर्ति हलले च्यारिटी प्रदर्शन रोकेर आफूलाई क्षति पुर्‍याएको आरोप नवलले लगाएका छन् । ‘१२०० टिकट बिक्री समेत भैसकेको थियो तर, इण्डिया विरोधी फिल्म भएकाले चलाउन नमिल्ने भनेर रोक्नुभयो’ खड्काले भने ।

हलका व्यवस्थापक मेघराज साहनीले भने आफ्नो फिल्मलाई हाइलाइट गर्न खड्काले फण्डा गरिरहेको बताए । ‘हलसँग एग्रिमेन्ट नभैकन उहाँले जबर्जस्ती फिल्म देखाउन खोज्नुभयो । १५-२० वटा पनि टिकट बिक्री भएको छैन । उहाँले दादागिरीको शैलीमा फिल्म देखाउन खोज्नुभयो । मलाई कहिँबाट पनि दबाब आएको छैन’ उनले भने, ‘एग्रिमेन्ट अनुसार फिल्म चलाउन आउनुपर्‍यो ।’

पर्साका डीएसपीले पनि यसबारे सोधपुछ गर्न आफूलाई बोलाएको साहनीले बताए । ‘डीएसपी साबले पनि मलाई बोलाउनुभयो । कहाँबाट दबाब आयो भनेर सोध्नुभयो । मैले कहिँबाट आएको छैन भनेँ’ साहनीले अनलाइनखबरसँग भने ।

नवल निर्देशित यो फिल्मले नेपाल र भारतको सीमामा काँडेतार लगाएर सीमा व्यवस्थित गर्नुपर्ने सन्देश दिन्छ । अहिले नवल फिल्मको देशब्यापी च्यारिटी शोका लागि जिल्ला दौडाहामा छन् । ६० भन्दा बढी च्यारिटी शो भैसकेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?