+
+
ब्लग :

मेरो छोरी त अमेरिका जाँदैछिन्, तपाईंको छोरा नि !

प्रेमबहादुर विश्वकर्मा प्रेमबहादुर विश्वकर्मा
२०८० पुष २७ गते १०:३०

‘मेरो छोरीले एलएबाट प्लस टु सकिन् र अहिले काठमाडौंमा बसेर अमेरिकाको लागि प्रयास गरिरहेकी छन्। छोरो पनि अमेरिकामै छ। हामी बुढाबुढी मात्र यता छौं। अनि तपाईंको छोरा नि ?’

यो प्रश्न बेलुका घुम्न निस्कँदा काँक्रेविहार नजिकैको चौतारीमा भेटिएका मैले पहिले पढाएका विद्यार्थीका अभिभावकको हो।

‘मेरो छोरा काठमाडौंमा बीआईटी गरिरहेको छ’, मैले भनें। उनले भने, ‘तपाईंको बाबु ज्ञानी रहेछन्। हाम्रा त मान्दैनन्। एउटा गयो भने अर्की जाने क्रममा छ।’ आजभोलि यस्ता कथन लाखौं भन्दा बढी नेपाली अभिभावकको हो।

एकातिर दिनहुँ फेसबुकमा उल्लेख्य सङ्ख्यामा आमाबाबु र नातेदारहरू विमानस्थलमा आ-आफ्ना छोराछोरीको फोटोमा तिम्रो फलानो देशको यात्रा सफल रहोस् भनी बिदाइ गर्नेको बाढी छ। साथै, अर्कातिर मैले पठाउन पाइनँ र मैले जान पाइनँ भन्नेको छट्पटाहट छुट्टै छ।

यता विद्यालयतिर हेर्दा प्रधानाध्यापकहरूलाई कक्षा १२ पास गरेका विद्यार्थीको सिफारिस बनाइदिन भ्याई–नभ्याई छ। किनकि कक्षा १२ पास गरेपछि विदेश जाने संस्कृति र पठाउने व्यवसाय मौलाएको छ। शिक्षा मन्त्रालय, कन्सल्टेन्सी, भाषा परीक्षा लिने निकाय, पासपोर्ट बनाउने, बैंक आदि सबैलाई चटारो छ।

नपठाऔं छोराछोरी नमान्ने। पठाऔं खर्चिलो र आफू एक्लै बस्नुपर्ने। कतिलाई रहरले त कतिलाई कहरले जसरी पनि छोराछोरीलाई विदेश पठाउनै पर्नेछ।

कतिपय नाम चलेका र देशभक्त हुँ भन्ने व्यक्तिले दु:खेसो गर्छन् कि छोराछोरी जति गर्दा नि रोक्न सकिएन र भारी मन बनाएर पठाइयो। आखिरमा जेसुकै होस् अहिले कक्षा १२ पढेपछि छोराछोरीलाई स्वदेशमै रोक्ने काम फलामको चिउरा चपाउनु जत्तिको छ।

त्यसै पूर्व सभामुख जस्ता व्यक्तिको शवले पनि विदेश गएको छोराछोरी कुर्नुपर्ने अवस्था कहाँ आएको हो र ? यस्तै भए भोलि धेरै आमाबुवाको शवले छोरा/छोरीलाई कुर्नुपर्ने हुनसक्छ।

गाउँदेखि शहरसम्म एउटा यस्तो लहर चलेको छ कि हुनेले घरजग्गा बेचेर, नहुनेले ऋण काढेर भए पनि विदेश पढ्न जानै पर्छ भन्ने विचार विद्यार्थीमा छ। त्यस्तै गरी जसरी पनि पठाउनै पर्छ अन्यथा यहाँ पढेकाले केही गर्न सक्दैनन् र पाउँदैनन् भन्ने खाले भाव अभिभावकको छ।

शिक्षा मन्त्रालयबाट एनओसी लिने, कन्सल्टेन्सी धाउने र बैंक ट्रान्जेक्सन गर्नेको संख्या पनि अत्यधिक छ। तथ्यांकमा हेर्दा २०६८ सालमा १० हजार ३२३ जनाले विदेश पढ्न जाने अनुमति (एनओसी) लिएकोमा झन्डै दश वर्षपछि आ.व. २०७७/७८ मा मात्र २७ हजार ९७८ ले अध्ययन अनुमति लिएका छन्।

यो सङ्ख्या आ.व. २०७८/७९ मा बढेर एकाएक १ लाख १२ हजार ९६८ र २०७९/८० मा १ लाख १० हजार २१० पुगेको देखिन्छ। यो निरन्तर उकालो लाग्ने क्रममा छ। जसले देशका युवा पुस्तामा निराशा, अस्थिरता, अनिश्चितता र अन्योलता प्रतिबिम्बित गरेको छ।

यस प्रकारको वातावरण सिर्जित भएको छ कि यहाँका शिक्षालयहरू पूर्ण रूपमा असफल भैसके या कक्षा १२ पढेपछि विद्यार्थीका लागि स्वदेशमा पढ्ने कुनै कलेज र विश्वविद्यालय नै छैनन्। शिक्षक, प्राध्यापक छैनन् र समग्र शैक्षिक कार्यक्रम नै छैन।

शैक्षिक प्रभाव

जसरी गाउँका मान्छे शहरमा आए, त्यसपछि घर खाली भए, बारी बाँझा भए। गाउँ रित्तिए। त्यसरी नै आज यो क्रम विश्वविद्यालयबाट सुरु भएको छ। यसको छनक असार २०८० मा प्रकाशित विदेश जाने विद्यार्थीको संख्या बढेपछि ५३९ क्याम्पस बन्द हुने अवस्थामा भन्ने खबरले स्पष्ट बताउँछ।

खबरका अनुसार क्याम्पसमा सय जना भन्दा पनि कम विद्यार्थी छन्। पढ्नका लागि विकसित राष्ट्र अष्ट्रेलिया, क्यानडा, बेलायत, जापान, अमेरिका, जर्मनी, नर्वे आदि ठाउँमा गएपछि यहाँका कलेज र विश्वविद्यालयमा विद्यार्थीको संख्या घटेको छ। अबको यही गति केही वर्ष निरन्तर भएमा विश्वविद्यालय र कलेजहरू खाली हुने र त्यसको अर्थतन्त्रमा नकारात्मक असर पर्ने कुरा निश्चित छ।

आज विश्वविद्यालय र कलेज खाली हुँदैछन् तर हामी बाँकी रहन्छौं भन्ने माध्यमिकसम्म पढाउने शिक्षक र अन्य पेशा तथा व्यवसायका मानिसहरूलाई लागेको हुनसक्छ तर यो रोग यत्तिकै सकिने वाला छैन। भोलि खाली हुने पालो विद्यालयको पनि आउने छ किनकि आज त्यता पढ्न गएका १२ पास विद्यार्थी वार्षिक एक लाखका हिसाबले मात्र विदेश जाँदा पाँच वर्षमा ५ लाख जान्छन्।

उनीहरूको ठूलो संख्या उतै बिहे गरी बसे भने अबको १५/२० वर्षपछि विद्यालयमा कसका छोराछोरी आउलान् ? जसरी अहिले बोर्डिङ स्कुलका कारण सरकारी विद्यालयका शिशु कक्षामा भर्ना हुने विद्यार्थी नभएर विद्यालय समायोजन वा बन्द गर्नुपरेको छ; त्यही अवस्था २० वर्षपछि नेपालका समग्र विद्यालयमा आउन सक्छ।

शिक्षा क्षेत्र धरासायी भएपछि क्रमशः कृषि, उद्योगधन्दा, पर्यटन, बजार हुँदै समग्र आर्थिक, सामाजिक क्षेत्रमा पनि यसको असर देखिन्छ।

वैदेशिक शिक्षाको नाममा पूँजी पलायनको गत तीन वर्षको अवस्थाले देशको अवस्थाको चित्र देखाउँछ। २०७७/७८ मा २४ अर्ब ९५ करोड, २०७८/७९ मा ६७ अर्ब ७० करोड र २०७९/८० को मसान्त सम्ममा १ खर्ब ४२ करोड रुपैयाँ देशबाट बाहिर गएको नेपाल राष्ट्र बैंक र शिक्षा मन्त्रालयको तथ्यांकले बताउँछ।

यसरी सबै क्षेत्रमा नकारात्मक असर देखाउँदै जाने हो र विदेशिएका नआउने हो भने गाउँ हुँदै विस्तारै देश नै खाली हुने अवस्था नआउला भन्न सकिन्न।

 गुनासाहरू

उच्च शिक्षाका लागि विकसित देशमा जानु कुनै नौलो होइन तर देशका शिक्षालयहरू नै खाली हुनेगरी विदेश पढ्न जानुपर्ने कारण र आयाम डरलाग्दा हुन्।

देशमा गुणस्तरीय शिक्षा दिने शिक्षालय नभएको भनी विदेश जानेको संख्या पनि बाक्लै छ। राजनीतिक अस्थिरताले निम्त्याएको भविष्यप्रतिको अन्योलता, अन्याय, सामाजिक सुरक्षाको कमजोर अवस्था, भ्रष्टाचार आदिको कारणले शैक्षिक कार्यक्रम समयमै नसकिने डर र चिन्ताले पनि विद्यार्थी विदेश जाने गरेका छन्।

आफ्ना छोराछोरीको सुरक्षित भविष्यको खोजीमा देश छाड्नेको लर्को पनि कम छैन। पढ्दै कमाउँदै गर्न पाइन्छ भनी विदेश जानेको संख्या सबैभन्दा ठूलो छ।

यहाँ बसेर केही गर्ने होइन पठाई दिउँ न त भन्नेहरू छन्। हाम्रो जस्तो अविकसित मुलुकमा जे गरे पनि अन्त्यमा पैसै चाहिने हो। पढ्ने पनि पैसै कमाउनलाई त हो भन्ने बुझाइको जरा पनि गहिरो छ। फेसबुकमा छ्याप्छ्याप्ती फोटो हालेको देखेर मनमनै कुँडिनेको संख्या थपिएको थपिएकै छ।

छोराछोरी उतै भए घुम्ने अवसर मिल्ला भनी र्‍याल काढ्ने पनि छन्। अरुलाई देखाउन र फुई लाउनलाई पठाउने पनि छन्। घुमफिर र रमाउन पठाउने अभिभावकलाई पनि नजरअन्दाज गर्न मिल्दैन।

हाम्रो देशका शिक्षालय छोड्ने विकर्षणका कारण पनि पक्कै होलान्। शिक्षालयको अवस्था, विधि, पाठ्यक्रम, परीक्षा प्रणाली, शिक्षकको व्यवहार र सहयोगको अवस्था, शिक्षकको अनुशासनको डण्डा जस्ता ढिट नियम आदि। पढाउने भन्दै गएको तीन महिनामा फलानोको छोरा वा छोरीले यति पैसा पठायो उति पैसा पठायो त्यसैले पठाउनुपर्छ भन्ने बाउआमाको संख्या पनि त्यत्तिकै छ।

शिक्षाविद्हरूको भनाइमा विदेश गएका २० देखि २५ प्रतिशत विद्यार्थीले मात्र पढाइलाई प्राथमिकता दिन्छन्, बाँकी सबै पैसा कमाउन नै गएका हुन्। यसको अर्थ हो त्यहाँ पढ्दै कमाउँदै गर्ने अवसर छ।

पहिलो काम त समग्र शैक्षिक प्रणालीलाई अद्यावधिक र परिवर्तन गर्नु जरुरी छ। नीतिगत रूपमा शैक्षिक कार्यक्रम विद्यार्थीको अनुकूलता र आवश्यकतालाई सम्बोधन हुने गरी बनाउनु आवश्यक छ। विद्यार्थीले विदेश गएर पढ्दै कमाउन पाउने अवसरको पनि सिर्जना गर्नुपर्छ। अब्बल विद्यार्थीलाई यतै आकर्षण हुने र बस्ने बनाउन सक्नुपर्छ।

हामीलाई यहाँ २४ घन्टे विद्यार्थी चाहिने तर उपलब्धि निश्चित नहुने। तर उता आंशिक काम गरेर पनि पढ्न र पूरा गर्न मिल्ने कसरी ? यसलाई पनि सच्याउनुपर्ने हुन्छ। उपयुक्त नीति तथा कार्यक्रम भएमा हामीले नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिन्थ्यो कि ?

शिक्षा सबै परिवर्तनको जननी हो। यसलाई नेल्सन मन्डेलाले भने झैं शक्तिशाली हतियार बनाउन सकियो भने संसार बदल्ने ताकत राख्दछ। तर यदि हामीले शिक्षालाई कमजोर बनायौं भने त्यसले न नयाँ पुस्तालाई देशमा बचाउन सक्छ, न त देश बनाउन नै सक्छ।

(लेखक सैनिक आवासीय महाविद्यालय सुर्खेतका प्रिन्सिपल हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?