+
+

मोदी र माल्दिभ्सको द्वन्द्व छचल्कियो लक्षद्वीपमा

राष्ट्रपति मोइजुले तत्कालै मन्त्रीहरूलाई निलम्बन गर्दै आपसी सम्बन्धलाई बिग्रिन नदिन मेहनत गर्ने संकेत गरेका छन् । चीन जानुपूर्व उनले भारत र चीन दुवैसँग माल्दिभ्सले सन्तुलित सम्बन्ध बनाउनुपर्ने मत राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १५:२७

२७ पुस, काठमाडौं । केरलाको लक्षद्वीप अहिले अत्यधिक चर्चामा छ । हालसालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लक्षद्वीप पुगेर त्यहाँका दृश्य सामाजिक सञ्जालमा राखेर प्रचार गरे ।

योसँगै माल्दिभ्सका मन्त्रीहरू माल्सा शरिफ, मरिएम सिहुना र अब्दुल्ला मज्हुम मजिदले मोदीप्रति अपमानजनक टिप्पणी गरे ।

 लक्षद्वीप माल्दिभ्सको विकल्प बन्ने तर्कसहित अहिले सामाजिक सञ्जालमा #BoycottMaldives ट्रेन्ड चलिरहेको छ ।

भारतीयले माल्दिभ्सको विकल्पमा किन लक्षद्वीपलाई लिने थाले ? यसले माल्दिभ्सलाई कस्तो असर पुर्‍याउला ? भारत र माल्दिभ्सको सम्बन्ध अब कसरी अघि बढ्ला ? यी प्रश्नको उत्तरका लागि यससँग जोडिएको भूराजनीति बुझ्नुपर्छ ।

विवादको सुरुवात 

माल्दिभ्समा गत वर्षको उत्तरार्धमा चुनाव थियो । चुनाव माल्दिभ्सको भए पनि त्यहाँ प्रतिस्पर्धा भने भारत र चीनबीचको देखिन्थ्यो । अन्ततः चीन निकट मोहम्मद मोइजुले राष्ट्रपतिको चुनाव जिते ।

जनवरीको पहिलो साता मोहम्मद मोइजुले आफ्नो पहिलो विदेश भ्रमण चीनको हुने संकेत गरे । यता जनवरीकै दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केरलाबाट ५०० किलोमिटर टाढाको लक्षद्वीप पुगे । उनले लक्षद्वीपका साहसिक खेलको प्रवर्द्धन गरे ।

त्यहाँको आतिथ्य र मनोरम प्राकृतिक दृश्य राख्दै सामाजिक सञ्जाल एक्समा लेखे,  ‘मैले भर्खरै लक्षद्वीपको भ्रमणको अवसर पाएँ । त्यस टापुको मनोरम प्राकृतिक दृश्य र त्यहाँको आतिथ्यबाट म निकै प्रभावित भएँ ।’  लक्षद्वीपमा उनले गरेका गतिविधिका तस्वीरसमेत मोदीले पोस्ट गरेका थिए ।

सरकार परिवर्तन भएसँगै माल्दिभ्सको भारतसँगको सम्बन्ध चिसिंदै गएको छ । अझ राष्ट्रपति मोइजुले पहिलो विदेश भ्रमण चीनमा गर्ने संकेत गरेपछि त भारत देखिनेगरी चिढिएको छ ।

मुलुकको प्रधानमन्त्रीका रूपमा मोदीले भारतका कुनै पनि भूभागको संरक्षण र प्रवर्द्धन कुनै पनि बेला गर्नसक्छन् । तर उनले माल्दिभ्ससँग सम्बन्ध चिसिएकै बेला माल्दिभ्सको टापुझैँ झलक दिने लक्षद्वीपको प्रवर्द्धन गरे ।

उनको यस कदमलाई माल्दिभ्सका मन्त्रीत्रयले आफ्नो मुलुकलाई टक्कर दिन खोजेको रूपमा लिएका देखिन्छ । त्यसपछि मन्त्रीत्रय माल्सा शरिफ, मरिएम सिहुना र अब्दुल्ला मज्हुम मजिदले मोदीलाई क्रमशः जोकर, आतंकवादी र इजरायलको ‘पपेट’ भनिदिए ।

उनीहरूको यस्तो टिप्पणीप्रति माल्दिभ्सस्थित भारतीय उच्च नियोगले तत्कालै आपत्ति जनायो र माल्दिभ्स सरकारलाई ध्यानाकर्षण समेत गर्‍यो ।

अलजजिराका अनुसार यसको जवाफ दिंदै माल्दिभ्सको विदेश मन्त्रालय लेख्यो, ‘यी विचार नितान्त व्यक्तिगत हुन् र यिनले माल्दिभ्स सरकारको विचारको प्रतिनिधित्व गर्दैनन् ।’

माल्दिभ्समा जाने पर्यटकमध्ये भारतीय पर्यटकको हिस्सा निकै ठूलो छ । मन्त्रीत्रयको भनाइले भारतसँगको सम्बन्धमा थप तिक्ता थपिने र भारतीय पर्यटकको आगमनमा कमी आउने आकलन गर्दै राष्ट्रपति मोइजुले तीनै मन्त्रीलाई बर्खास्त गरिदिए ।

माल्दिभ्सको विकल्प बन्ला लक्षद्वीप

सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका फलोअर्स ठूलै संख्यामा छन् । उनका फ्यानहरूले आफ्नो देशको प्रधानमन्त्रीको अपमान सहने कुरै भएन । भारतीय सेलिब्रेटीहरूले समेत माल्दिभ्सका मन्त्रीत्रयका टिप्पणीको विरोध गरेपछि #BoycottMaldives ट्रेन्ड सुरु हुन थालेको हो ।

माल्दिभ्सका मन्त्रीत्रयका अभियव्यक्तिको विरोध सुरुमा भारतीय अभिनेता अक्षय कुमारले गरेका थिए । ‘माल्दिभ्सका प्रवुद्ध व्यक्तिहरूबाटै भारतीयप्रति घृणा र विभेद सहितको टिप्पणीबारे थाहा पाएँ । सबैभन्दा बढी पर्यटक पठाउने राष्ट्रप्रतिको यस्तो टिप्पणीले मलाई आश्चर्य बनायो,’ उनले एक्समा लेखे ।

आफू निकै लामो समयदेखि माल्दिभ्स गइरहे पनि अबदेखि घरेलु पर्यटनमा रमाउने उल्लेख गर्दै लक्षद्वीपको फोटो राख्दै उनले #Exploreindianislands मा पोस्ट लेखे।

अक्षयकुमारपछि जोन अब्राहमले एक्समा लेखे, ‘अद्भुत आतिथ्य र मनोरम सामुन्द्रिक जीवनका साथै अथिति देव भवको संस्कार । लक्षद्वीप एकपटक जानैपर्ने ठाउँ ।’

त्यसपछि श्रद्धा कुपुरले लेखिन्, ‘ लक्षद्वीपबारेका सबै तस्वीर र मेमले मलाई त्यहाँ जान प्रेरित गरिरहेछ । त्यहाँको मनोरम तट र स्थानीय संस्कृतिलाई नियाल्नका निम्ति छुट्टी कहिल] सुरु होला भन्ने भइसक्यो यसपटक त्यहाँ किन नजाने त?’

बलिउड सुपरस्टार सलमान खानले पनि प्रधानमन्त्री मोदी निकै मनोरम स्थानमा गएको तर लक्षद्वीप भारतमै पर्ने भन्दै एक्समा लेखेका थिए, ‘प्रधानमन्त्री नरेन्द मोदीलाई निकै मनोरम र सफा तटमा देख्दा निकै आनन्द महसुस भयो । यो भन्दा पनि आनन्द त लक्षद्वीप जस्तो मनोरम ठाउँ भारतमै पर्ने कुराले दियो।’

योसँगै कतिपय भारतीय निर्माताले त माल्दिभ्समा फिल्म छायांकनको योजना धमाधम रद्द गर्न थालेका छन् ।

बलिउड स्टारले मात्रै होइन खेलजगतका सेलिब्रेटीहरूले पनि लक्षदीपको प्रवर्द्धन गर्न थाले । क्रिकेट आइकन सचिन तेन्दुलकरले तटमा क्रिकेट खेल्दै गरेको दृश्य सहित पोस्ट गरेका थिए, ‘मनोरम सामुन्द्रिक जीवन, सुन्दर तट! लक्षद्वीप जानैपर्ने स्थान हो । मेरो आगामी छुट्टी म त्यहीँ बिताउनेछु।’

सिने खेलकुद तथा विभिन्न क्षेत्रका सेलिब्रेटीले लक्षद्वीपको प्रवर्द्धन गरेसँगै उक्त तट भाइरल भयो । गुगल र ट्रिप एडभाइजरमा लक्षद्वीप सम्बन्धी खोजी अत्यधिक छ ।

 लक्षद्वीपलाई प्रधानमन्त्री तथा सेलिब्रेटीहरूले समेत प्रवर्द्धन गरिरहेको र त्यहाँको खोजीको तथ्यांकबाट उत्साहित हुँदै टाटा ग्रुपले दुई वटा होटल निर्माण गर्ने घोषणा गरेको छ । ११० कोठा सहितका दुईटा भिल्ला सन् २०२६ भित्रै बनाइसक्ने घोषणा टाटा ग्रुप अन्तर्गतको भारतीय होटल कम्पनी लिमिटेडले गरेको हो ।

सेलिब्रेटीहरूले माल्दिभ्स झैँ झलक दिने गन्तव्य र जानैपर्ने ठाउँका रूपमा प्रवर्द्धन गरेपछि र त्यहाँ ताज ग्रुपले भिल्ला र सरकारले हवाइ अड्डा समेत बनाउने निर्णय गरेसँगै भारतीयहरूले लक्षद्वीपलाई माल्दिभ्सको विकल्पका रूपमा लिन थालेका हुन् ।

माल्दिभ्सलाई पर्ने असर

सन् २०२३ को तथ्यांक अनुसार माल्दिभ्स पुग्ने भारतीय पर्यटकको संख्या दुई लाख छ । सन् २०२३ मा पाँच वर्षअघिको तुलनामा माल्दिभ्स जाने भारतीय पर्यटकको संख्यामा ११ प्रतिशतले वृद्धि भएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

 लक्षद्वीपमै माल्दिभ्सको झैँ पूर्वाधार निर्माण सुरु हुनु र साहसिक खेलको प्रवर्द्धन हुनुले माल्दिभ्स जाने भारतीयको संख्या घट्ने अनुमान गर्न सकिन्छ ।

त्यसमाथि लक्षद्वीपले पर्यावरण पर्यटनलाई प्रवर्द्धन गर्ने नीति लिएको छ । यसले बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने देखिन्छ ।

दीगो विकास र पर्यावरण पर्यटनलाई मध्येनजर गर्दै बंगारम, कदमत तथा मिनिक्वेमा धमाधम रिसोर्ट बनिरहेका छन् । दीगो पर्यटन प्रवर्द्धनका निम्ति केरला सरकारले पर्यावरणमैत्री तट र भिल्ला बनाउनका निम्ति त्यहाँ विश्वव्यापी बोलपत्र आह्वान गरेको छ ।

कुटनीतिक सम्बन्ध

पछिल्लो समय भारत र माल्दिभ्सको सम्बन्ध निकै चिसिएको छ । परम्परालाई तोड्दै माल्दिभ्सका राष्ट्रपति मोइजु चीन गएसँगै भारत झन् चिढिएको छ । त्यसमाथि मन्त्रीत्रयले मोदीको अपमान गर्ने किसिमले गरेका टिप्पणीपछि त भारत झन् रुष्ट छ ।

राष्ट्रपति मोइजुले तत्कालै मन्त्रीहरूलाई निलम्बन गर्दै आपसी सम्बन्धलाई बिग्रिन नदिन मेहनत गर्ने संकेत गरेका छन् । चीन जानुपूर्व उनले भारत र चीन दुवैसँग माल्दिभ्सले सन्तुलित सम्बन्ध बनाउनुपर्ने मत राखेका छन् ।

माल्दिभ्सको भूमिमा रहेका भारतीय सेना हटाउने घोषणा गरेका मोइजुले भारतसँगको सम्बन्धलाई कसरी सन्तुलनमा राख्लान् र मोदीको अपमानपछि आक्रोशित भारतीयलाई माल्दिभ्समा कसरी आकर्षित गर्लान्, प्रतिक्षित छ ।

एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?