+
+

निफको ‘लाइनअप’ सार्वजनिक, ४० देशका ८८ फिल्म प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १६:११

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)ले छनोट फिल्मको ‘लाइनअप’ सार्वजनिक गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ४० देशका ८८ फिल्म छनोट भएको जानकारी दिइयो ।

निफको सातौं संस्करण चैत १ देखि ५ गतेसम्म काठमाडौंमा हुँदैछ । क्यूएफएक्सका सिभिल, लबिम, भक्तपुर र छाया सेन्टरमा रहेका मल्टिप्लेक्समा फिल्म देखाइने भएको छ ।

निफमा छनोट भएका फिल्मको लाइनअप हेर्दा थुप्रै फिल्म कान्स, लोकार्नो, बर्लिन लगायतका फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा फेस्टिभललाई विभाजन गरिने र फिचर, लघु र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने उल्लेख छ ।

जसमा १७ फिचर, ५१ छोटा फिल्म र २० डकुमेन्ट्री फिल्म छन् । १४ विधामा पुरस्कार वितरण हुने जनाइएको छ । फिल्म प्रदर्शनसँगै फिल्मका विभिन्न विधासँग सम्बन्धित कार्यशाला, छलफल र अन्तरक्रिया पनि गरिने जनाइएको छ ।

आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले फेस्टिभललाई मोफसलमा प्रदेश स्तरमा पनि बिस्तारको तयारी भएको बताए ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिको गौतम बुद्ध अवार्ड दिइने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्मबाट एउटालाई ‘चलचित्र समाजहरुको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफएस डन क्विहोटे अवार्ड’ प्रदान गरिने भएको छ ।

यो संस्करणदेखि फेस्टिभलमा ‘अडियन्स च्वाइस अवार्ड’ विधा पनि थपिएको छ । दर्शकको रुचि, बानी र सुझावको तथ्यांक संकलन गर्न देशभरबाट अनलाइन सर्वेक्षण पनि गरिने भएको छ । भोटिङ र सर्वेक्षणका लागि खल्ती मोबाइल एपसँग सहकार्य गरिने भएको छ ।

निर्माता, निर्देशक तथा अभिनेता नीर शाहले पुँजी व्यवस्थापन र बजार बिस्तार नेपाली फिल्मको अहिलेको मुख्य चुनौती रहेको बताए । यी दुई कुरामा सुधार नगरेसम्म कानुन ल्याएर मात्र केही नहुने उनको भनाइ थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म ऐनमार्फत विद्यमान समस्या समाधान गर्न सकिने र फिल्मको अन्तर्राष्ट्रियकरण हुने धारणा राखे । यसका लागि बोर्डले माघ ४ गते विधेयकमा समेटिने सुझावबारे सर्वपक्षीय छलफल बोलाएको उनले जानकारी दिए ।

चिनियाँ दूतावासका सांस्कृतिक मामिला प्रमुख थाङ–होइ–सुनले नेपाली फिल्म चीनमा र चिनियाँ फिल्म नेपालमा रिलिज हुने वातावरण मिलाउनुपर्ने बताए । ‘यसो गर्न सकिए दुई मुलुकको संस्कृति आदानप्रदान गर्न सकिन्छ,’ उनले भने, ‘नेपाली फिल्मलाई चीनमा स्वागत गर्न हामी तयार छौं ।’

अभिनेता प्रदीप खड्काले फिल्मलाई सञ्चार मन्त्रालय मातहत राख्न नहुने भन्दै फिल्म पर्यटनको बहस चलाउनुपर्ने बताए ।

लाइनअपअनुसार नेपाल पानोरमा खण्डमा डेसान, एक भगवत् एक गीता, पखेंटा र बुलाकी स्क्रिनिङ हुनेछन् । यी सबै फिल्म हलमा रिलिज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?