+
+

खेल जितेर नेपालको क्रेजी दर्शकलाई खुशी दिन चाहन्छौं : कप्तान देव खनाल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते ११:४०

३ माघ, काठमाडौं । आईसीसी यू-१९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेका नेपाल यू-१९ क्रिकेट टोलीका कप्तान देव खनालले नेपालको क्रिकेट क्रेज धेरे रहेको र विश्वकपमा खेल जितेर खुशी दिन चाहेको बताएका छन् ।

१९ जनवरीदेखि सुरु हुने यू-१९ विश्वकपअघि देवसहित सहभागि टोलीका कप्तानले आईसीसीसँग कुरा गरेका थिए । जसमा नेपाल कप्तान देवले नेपालका क्रिकेटको क्रेज अत्याधिक रहेको बताए ।

‘नेपालमा क्रिकेटको क्रेजबारे सबैलाई थाहा नै छ । हाम्रो साथमा नेपालमा ठूलो समर्थक छन् र उनीहरूकै कारण हामी उत्प्रेरित छौं’ देवले भने, ‘त्यो क्रेजको कुनै तुलना हुन सक्दैन । हामी खेलाडीको रूपमा खेल जितेर उनीहरूलाई खुसी दिन चाहन्छौं ।’

नेपालको सिनियर टिमबाट समेत खेलिसकेका कप्तान देवले लामो समयपछि यू-१९ विश्वकप खेल्न उत्साहित रहेको र आफ्नो टिमका खेलाडीहरुको सपना पूरा हुन लागेको बताएका छन् ।

नेपालले ८ वर्षपछि यू-१९ विश्वकपमा पुनरागमन गर्दैछ । सन् २००० मा यू-१९ विश्वकपमा डेब्यु गरेको नेपालले पछिल्लो पटक २०१६ मा बंगलादेशमा भएको यू-१९ विश्वकप खेलेको थियो । जहाँ समूह चरण पार गर्दै नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो र आठौं भएको थियो ।

त्यो नै नेपालको अहिलेसम्मको सबैभन्दा राम्रो नतिजा हो । यस पटक नेपाल रहेको समूह डी मा तीन टेष्ट राष्ट्र पाकिस्तान, अफगानिस्तान र न्युजिल्याण्डको युवा टोली छ ।

नेपालले २१ जनवरीमा न्युजिल्यान्डविरुद्ध पहिलो खेल खेल्दैछ । यस्तै २४ जनवरीमा पाकिस्तान र २७ जनवरीमा अफगानिस्तानविरुद्ध खेल्नेछ ।

यस्तै समूह ए मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका समूह बी मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड तथा समूह डी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाव्वे र नामिबिया छन् ।

चारै समूहको खेलपछि हरेक समूहमा शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । जहाँ दुई समूह हुनेछन् । समूह ए र समूह डी को ३-३ टिम सुपर सिक्समा एक समूहमा हुनेछ भने समूह बी र समूह सी को ३-३ टोली सुपर सिक्समा अर्को समूहमा हुनेछ । सुपर सिक्सको दुई समूहको शीर्ष २-२ टोली सेमिफाइनल पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?