+
+

काम खोज्दै ६ महिनामा साढे ३ लाख नेपाली विदेशिए, यूएई प्रमुख गन्तव्य

अच्युत पुरी अच्युत पुरी
२०८० माघ ३ गते १६:५०

३ माघ, काठमाडौं । चालु आर्थिक वर्ष (आव) सुरुवाती महिनामा केही कम भएको रोजगारीका लागि विदेशिने क्रम हिउँदमा निरन्तर बढ्न थालेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार यसपालि (आर्थिक वर्ष २०८०/८१) को पहिलो ६ महिना (साउन–पुस) मा कामको खोजीमा ३ लाख ४३ हजार ४ सय ५ नेपाली विदेशिएका छन् ।

विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या हो । यो संख्या अघिल्लो आव २०७९/८० को तुलनामा कम भए पनि यस वर्ष सुरुवाती महिनाको तुलनामा भने मंसिर र पुसमा उच्च दरले बढ्न थालेको देखिएको छ । गत आवको पहिलो ६ महिनामा ४ लाख १४ हजार ५ सय ४६ जना विदेशिएका थिए ।

विभागका अनुसार साउन २०८० मा काम खोज्दै ५५ हजार ५ सय ७५ विदेशिएकोमा पुसमा ६५ हजार ८ सय १३ नेपालीले नयाँ श्रम स्वीकृति लिएका छन् । पुस २०८० मा जारी श्रम स्वीकृति २०७९ पुसको तुलनामा समेत धेरै हो ।

अघिल्लो वर्ष पुसमा ६५ हजार ४ सय ६४ नेपाली विदेशिएका थिए । पुसमा विदेशिनेमध्ये ६ हजार ८४ महिला छन् । यो महिना नयाँ श्रम स्वीकृतिमा ३४ हजार ४ सय १५ र पुनः श्रम स्वीकृतिमा ३१ हजार ३ सय ९८ विदेशिएका छन् ।

पुससम्म कति नेपाली विदेशिए ?

मुलुक २०७९/८० २०८०/८१
साउन ६३,०३९ ५५,५७५
भदौ ७६,४०३ ५०,८८४
असोज ६२,७०६ ५६,२३५
कात्तिक ७८,३७० ४३,६२२
मंसिर ६८,५६४ ७१,२७६
पुस ६५,४६४ ६५,८१३

यूएई प्रमुख गन्तव्य

गएको ६ महिनामा विदेशिएका करिब साढे ३ लाख नेपालीमध्ये सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स (यूएई) गएका छन् । उक्त अवधिमाम ८४ हजार ८ सय ५५ नेपाली काम खोज्दै विदेशिएको विभागको तथ्यांक छ ।

मंसिरमा मात्र १८ हजार ४ सय ९३ नेपाली यूएई पुगेका थिए । पुसमा यूएई जाने नेपाली १६ हजार ३ सय ८५ छन् । पुसमा साउदी जाने छन् । यो मुलुकमा १४ हजार ३ सय ७ पुगेका छन् । कतारमा १४ हजार १८ पुगेको विभागको तथ्यांक छ ।

गत वर्ष निकै धेरै नेपाली पुगेको मलेसियामा भने यस वर्ष नेपाली कामदार संख्या निरन्तर घटिरहेको छ । मलेसियामा पुसमा मात्र ८ हजार ९१ नेपाली विदेशिएका छन् । कुवेतमा ३ हजार ५ सय १८ ले नयाँ तथा पुनः श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा छ । पुसमा मात्र जापान जानेको संख्या १ हजार १ सय ९९ देखिएको छ ।

युद्धबीच इजरायलमा नेपाली आकर्षण उस्तै

गत असोज तेस्रो साता हमास विद्रोहीले इजरायलमा आक्रमण गरे । जवाफमा इजरायलले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिरहेको छ । यो युद्ध क्रममा २२ हजारभन्दा धेरै मानिसले ज्यान गुमाइसकेको तथ्यांक आइसकेको छ । युद्धमा १० नेपालीले ज्यान गुमाएका थिए ।

दुई देशको द्वन्द्वबीच इजरायलमा नेपालीको आकर्षण भने घटेको छैन । यो वर्ष ६ महिनामा ३ सय १७ नेपाली श्रम स्वीकृति लिएर इजरायल गएका छन् । गत असोजमा इजरायल–गाजा युद्धबीच २ सय ५४ नेपाली सरकारले पठाएको चार्टर्ड जहाजबाट घर फर्किएका थिए ।

कुन महिनामा कति गए इजरायल ?

  • साउन : ३८ जना
  • भदौ : ५१ जना
  • असोज : ४९ जना
  • कात्तिक : १७ जना
  • मंसिर : ८५ जना
  • पुस : ७७ जना

युरोपमा खुल्दै रोजगारी ढोका

विभागको तथ्यांकअनुसार पछिल्ला महिना युरोपलाई समेत धेरै नेपालीले आफ्नो रोजगारीको गन्तव्य बनाउन थालेका छन् । वैदेशिक रोजगार व्यवसायी यसरी जानेले बढी आम्दानी, सुरक्षित काम र दीर्घकालीन रोजगारीजस्ता कारण युरोपलाई गन्तव्य बनाउन थालेको बताउँछन् ।

यो वर्ष पुसमा मात्र रोमानियामा १ हजार ५८, क्रोएसिया ५ सय ५८, साइप्रस ३ सय ५७, माल्टा २ सय ६३, पोल्यान्ड १ सय ८३, सर्बिया १ सय ३५, बेलायत १ सय ८७, स्लोभाकिया ४१ र टर्कीमा २० नेपाली कामको खोजीमा पुगेका छन् ।

धनुषा, सिरहा, रुपन्देहीबाट धेरै विदेश गए

वैदेशिक रोजगारीका लागि विदेशिनेमध्ये पुसमा धनुषा, सिरहा र रुपन्देही अगाडि छन् । धनुषाबाट ३ हजार ४ सय ४३, सिरहा २ हजार ६ सय ५६ र रुपन्देहीबाट २ हजार ६८ र सुनसरीबाट २ हजार ५७ जना विदेशिएका छन् ।

सबैभन्दा कम मुस्ताङबाट १४ जना विदेशिएको तथ्यांक छ । नेपालबाट जानेमध्ये अझै पनि ठूलो संख्या अदक्ष रहेको समेत सरकारको आँकडाले देखाएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?