+
+

केपी ओली कपमा दुई विदेशी टिम सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १७:३२

३ माघ, काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कप फुटबलमा विदेशी टिम समेत सहभागी हुने भएको छन् ।

केपी ओली कप २०२४ फुटबल प्रतियोगिता फागुन ११ गतेदेखि १९ गतेसम्म आयोजना हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ ।

युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले प्रतियोगितामा यस पटक विदेशी टिम समेत सहभागी हुने जानकारी दिए । ‘यस पटक हामीले अन्तर्राष्ट्रिय टिम समेत सहभागी गराउँदैछौँ । जुन नयाँ कुरा हो । भुटान र भारतबाट एक-एक टिम आउनेछन्’, थेवेले भने । उनले कुन टिम आउने भन्ने विषयमा केही समयपछि जानकारी गराउने बताए ।

उनका अनुसार आयोजकको केपी फुटबल क्लब र ७ वटा ए डिभिजनका क्लबहरु सहभागी हुने छन् ।

नेपाल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको जन्मदिनको अवसर पारेर युवा संघले गत वर्षदेखि केपी ओली कप फुटबल आयोजना गर्दै आएको छ । नेताको मृत्युपछि सम्मान गर्ने भन्दा पनि जीवनकालमै सम्मान दिने उद्देश्यले उनकै नामबाट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष थेवेले बताए ।

थेवेले फुटबल प्रतियोगिता चार ११ लाई प्राथमिकता दिएको बताए । ‘हामीले चार ११ लाई प्राथमिकता दिएका छौँ । फागुन ११औं महिना र प्रतियोगिता पनि ११ गते सुरु गर्दैछौँ । यसको विजेताले पुरस्कार पनि ११ लाख पाउनेछन् भने फुटबलमा पनि एक टिमबाट ११ जना खेल्छन् ।’

उनका अनुसार उपविजेताले ५ लाख पाउने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने । हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार प्राप्त गर्नेछन् । यसका अतिरिक्त हरेक खेलको विजेता टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताको खेलहरु च्यासलस्थित मैदानमा हुने र फाइनल खेल दशरथ रंगशालमा खेलाइने आयोजक युवा संघका अध्यक्ष थेवेले जानकारी दिए । फाइनल खेलमा मात्र टिकट राखिएको र त्यसबाट उठेको रकमको ५ प्रतिशत विभिन्न च्यारिटीमा खर्च गरिने उनले जानकारी दिए ।

गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?