+
+

केपी ओली कपको उपाधिका लागि मछिन्द्र र एनआरटी भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १८:०६

१७ फागुन, काठमाडौं । डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लव र न्युरोड टिम (एनआरटी) जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार सम्पन्न सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र र एनआरटीले आ-आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन् । यी दुईबीच शनिवार उपाधि भिडन्त हुनेछ ।

एनआरटीले अर्को शिर्ष डिभिजन क्लव जावलाखेल युथमाथि ३–० को सहज जित निकाल्यो । एनआरटीको जितमा सञ्जीव बिष्टले दुई तथा विवेक गुरुङले एक गोल गरे । मच्छिन्द्रले भने भारतीय क्लव मानेभञ्ज्याङ फुटबल क्लवलाई ५–० ले हराउँदै एनआरटीसँगको भेट पक्का गर्‍यो ।

मछिन्द्रको जितमा विमल घर्तीमगर, स्टेफन समिर बिनोङ, हिसुब थपलिया, देवेन्द्र तामाङ र आयुश घलानले गोल गरे । त्यसअघि एनआरटीले खेलको शुरुवातमा नै अग्रता लियो । पाँच मिनेटमै विवेकको गोलबाट एनआरटीले अग्रता पाएको हो ।

रन्दीप पौडेलको क्रस बललाई उनले पहिलो टचमा नै पोस्टको जाली चुमाए । तर पहिलो हाफमा थप गोल हुन सकेन । पहिलो हाफमा एनआरटी १–० ले अगाडि रह्यो । यद्यपि, दोस्रो हाफमा भने एनआरटी चम्कियो । दोस्रो हाफ शुरु भएको केही समयमा नै एनआरटीले दोस्रो गोल थप्यो ।

नेपाली राष्ट्रिय टोलीका सदस्य सञ्जीव विष्टले ५०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । रिचर्ड विलियम्सको थ्रु पासलाई सञ्जीवले सदुपयोग गरेका हुन् । यस क्रममा उनले जावलाखेलका डिफेन्डर सुनील खड्का र गोलकिपर युनेस चौधरीलाई बिट गर्दै जाली चुमाए ।

सात मिनेटपछि नै सन्जीवले व्यक्तिगत दोस्रो गोल गरे । पेनाल्टी बक्स बाहिरबाट उनको प्रहार जाली चुम्न पुग्यो । त्यसपछि दुवै तर्फबाट केही प्रयास भए पनि थप गोल हुन सकेन । यसअघि एनआरटीले थ्री स्टारलाई १–० र जावलाखेलले आयोजक केपी ओली एफसीलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए ।

दोस्रो सेमिफाइनलमा मछिन्द्र पाहुना टोलीमाथि सहजै हाबी भयो । खेलको २६औं मिनेटमा विमलले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । दुई मिनेटपछि नै स्टेफनले मच्छिन्द्रको अग्रता दोब्बर बनाए ।

हिसुबले ३७ औं मिनेटमा हिसुबले गोल गरे । त्यससँगै पहिलो हाफमा नै मच्छिन्द्रले सहज अग्रता लियो । दोस्रो हाफमा पनि मछिन्द्र दुई गोल थपेपछि पाहुना टोली बाहिरिन बाध्य भयो । देवेन्द्रले ५४औं मिनेटमा गोल गरे र मच्छिन्द्र ४–० ले अगाडि बढ्यो ।

उत्सव राईको कर्नर बललाई उनले हेडमार्फत जाली चुमाए । त्यसपछि केही समय पाहुना टोलीले मच्छिन्द्रलाई रोक्यो । तर, इन्जुरी समयमा आयुषले गोल गर्दै मछिन्द्रलाई ५–० को रबाफिलो जित दिलाए ।

सुरुमा हिसुबको प्रहारलाई गोलकिपर लालमनसाँगाले बचाए । तर, रिबाउन्ड बललाई आयुशले सहजै पोस्टको दिशा दिए । यसअघि मछिन्द्रले विभागीय टोली नेपाल पुलिस क्लवलाई ४–० र मानेभञ्ज्याङले भारतकै दिल्ली एफसीलाई ३–१ ले हराउँदै सेमिफाइनललमा स्थान बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?