+
+

फोहोर व्यवस्थापन अध्ययन गर्न इन्दोरको विज्ञ समूह काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १४:०९

४ माघ, काठमाडौं । घरेलु फोहोरको दिगो समाधान गर्न काठमाडौं महानगरपालिकाले विज्ञ समूहबाट सामाजिक, आर्थिक तथा प्राविधिक अध्ययन थालनी गर्ने भएको छ । यसका लागि भारत इन्दोरबाट विज्ञ समूह काठमाडौं आएको छ ।

भारतको सफा सहरका रूपमा परिचित इन्दोरले आठ वर्ष अवधिमा घरेलु फोहोर व्यवस्थापनमा उल्लेखनीय काम गरेको भन्दै महानगरले इन्दोरको काठमाडौंसँगको सान्दर्भिकता अध्ययन गराउन खोजेको हो ।

‘इन्दोरको विज्ञ टोली एक महिना काठमाडौंमै बसेर फोहोर उत्पादन, प्रकृति, वर्गीकरण, संकलन, ढुवानी र अन्तिम व्यवस्थापनलाई विभिन्न कोणबाट अध्ययन गरेर ढाँचा सिफारिस गर्नेछन्,’ महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्साल भन्छन्, ‘यसको महत्वपूर्ण पक्ष भनेको व्यक्ति तथा समुदायको सहभागिता हो । अध्ययनमा शहरी आचरणलगायत व्यवहारका पक्षमा पनि अध्ययन हुनेछ ।’

अध्ययनका लागि आएको इन्दोर नगरको घरेलु फोहोर व्यवस्थापन विभाग (सोलिड वेस्ट म्यानेजमेन्ट डिपार्टमेन्ट) का सूचना, शिक्षा र सञ्चार विज्ञ (आईईसी एक्सपर्ट) अमित चौहानले सफाइका लागि सहरवासीको सचेतना र सहभागिता आवश्यक हुने बताए ।

‘शहरको सचेतनाले फोहोर वर्गीकरणमा सघाउ पुग्छ । स्रोतमा फोहोर वर्गीकरण भयो भने व्यवस्थापनको काम सहज हुन्छ,’ उनले भने ।

काठमाडौं महानगरपालिकाले हाल फोहोर संकलन, ढुवानी र ल्यान्डफिल साइटमा अन्तिम व्यवस्थापनको काम गरिरहेको छ ।

वातावरण व्यवस्थापन विभागका इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वटा वडामा महानगरपालिकाले मात्र फोहोर संकलन गर्छ ।

यस्तै राजमार्ग, पार्क, मठमन्दिर तथा सार्वजनिक स्थलको सफाइ महानगरपालिकाका कर्मचारीले गर्ने गरेका छन् ।

दैनिक करिब २ सय ४० टन फोहोर महानगरपालिकाले ल्यान्डफिल साइट पुर्‍याउने गरेको छ । अन्य वडामा निजी क्षेत्रले फोहोर संकलन गरेर करिब ५ सय टन फोहोर साइटमा पुर्‍याउँछन् ।

काठमाडौं महानगरपालिकासहित उपत्यकाका अन्य स्थानीय तहले ल्यान्डफिल साइटमा दैनिक १ हजार ६ सय टन फोहोर लैजाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?