+
+

उपाधिका लागि एपीएफ र न्यु डायमन्ड भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १४:१८

४ माघ, पोखरा । पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ उपाधिका लागि विभागीय टिम एपीएफ र चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्ड स्पोर्टस् क्लब भिड्ने भएका छन् ।

बिहीबार सेमिफाइनलतर्फको दुवै खेल सकिएसँगै डिफेन्डिङ च्याम्पियन एपीएफ र चन्द्रागिरि न्यु डायमन्डले फाइनलमा भेट पक्का गरेका हुन् ।

चन्द्रागिरिले विभागीय टिम नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दैै उपाधि नजिक पुगेको हो । न्यु डायमन्डले पुलिसलाई २५–१९, २५–१८ र २५–१८ सेटमा सहज जित निकालेको हो ।

बिहीबार नै भएको सेमिफाइनअन्तर्गत पहिलो खेलमा विभागीय टोली एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–२ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

पहिलो २ सेट भने आर्मीले अग्रता लिएको थियो । तर, पछिल्ला ३ सेट लगातार गुमाउँदै आर्मी सेमिफाइलनबाट बाहिरिन पुगेको हो ।

पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मीले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटबाट लगातार २५–१२, २५–१६ र १५–१३ ले पछि पर्दै पराजित भएको थियो ।

एपीएफलाई ह्याट्रिक अवसर

टाइगर ग्रुप अफ पोखराको आयोजनामा भइरहेको टाइगर कपको चौथो संस्करणको फाइनलमा पुगेको विभागीय टोली एपीएफ साविक विजेता पनि हो । तेस्रो संस्करणको फाइनलमा एपीएफले अर्को विभागीय टिम नेपाल आर्मीलाई ३–१ को सेटमा हराउँदै विजेता बनेको थियो ।

एउटा विदेशीसहित ६ टिम सहभागी भएको प्रतियोगितामा एपीएफ समूह ‘ए’अन्तर्गत समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । यसपटक पनि एपीएफले उपाधि रक्षा गरेमा टाइगर कपमा ह्याट्रिक गर्नेछ ।

त्यसअघि एपीएफले टाइगर कपको पहिलो संस्करणको फाइनलसम्म पुगेर पनि उपविजेतामै सीमित हुनु परेको थियो । पहिलो संस्करणमा एपीएफले नेपाल पुलिससँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्ड स्पोर्टस् क्लब भने पहिलो पटक फाइनल यात्रा तय गरेको हो । टाइगर कपको फाइनल खेल माघ ६ गते हुनेछ । प्रतियोगितामा महिला, पुरुष दुवैतर्फ विजेताले समान ५ लाख ५५ हजार ५५५ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछन् ।

महिलातर्फको प्रतियोगितामा भारतको हरियाणा क्लब पनि पहिलो पटक सहभागी भएको थियो । भारतको राष्ट्रिय महिला भलिबल टिमको कप्तान मिनिमोल अब्राहमले सम्हालेकी थिइन् । तर, उक्त टिमले अंकबिहीन हुँदै समूह चरणबाटै बाहिरिइसकेको छ ।

आयोजकको तर्फबाट खेलेको गण्डकी प्रदेश महिला भलिबल संघ पनि जितविहीन रहँदै समूह चरणबाटै बाहिरिएको थियो । राष्ट्रिय महिला भलिबल टोली कप्तान अरुणा शाहीले सम्हालेको टिममा ३ जना भारतका राष्ट्रिय टिमका खेलाडी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?