+
+

बीपी प्रतिष्ठान विवाद : हर्क साम्पाङले ताला खोले,  तर बसेन कासको बैठक 

हरि अधिकारी हरि अधिकारी
२०८० माघ ५ गते २१:४४

५ माघ, विराटनगर । उच्च अदालत विराटनगरले आदेशपछि धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लागेको ताला खोलेका छन् ।

बिहीबार उच्च अदालत विराटनगरको आदेशपछि उनले शुक्रबार सचिवालयका कर्मचारी खटाएर ताला खोलेका हुन् ।

मेयरले लगाएको ताला खुले पनि आज शुक्बार बस्ने भनिएको कार्यकारिणी समिति (कास) को बैठक बस्न सकेन । प्रधानमन्त्री तथा कुलपति प्रचण्डको निर्देशनपछि उपकुलपति प्रल्हाद कार्कीले दिउँसो ४ बजेका लागि कार्यकारिणी समितिको बैठक बोलाएका थिए ।

धरानमा राख्नु पर्ने बैठक उपकुलपति कार्कीले काठमाडौंमा बोलाएपछि बैठक नबसेको हो । ‘उहाँले नियतबस काठमाडौंमा बैठक बोलाउनु भएको थियो,’ प्रतिष्ठान स्रोतले भन्यो, ‘सहमति कार्यान्वयन भन्दा पनि कसरी हुन्छ आफ्नो स्वार्थ पूरा गर्ने उहाँको खेल छ ।’

आन्दोलनरत कर्मचारी तथा शिक्षकले  कासको बैठक राखेर नियमावली संशोधन गरी रोकिएको बढुवा प्रक्रिया अघि बढाउन माग गरेका थिए ।

तर शुक्रबार दिउँसो ४ बजे काठमाडौंस्थित सम्पर्क कार्यालयमा उपकुलपति कार्कीले बोलाएको बैठकमा कर्मचारीले उठाएको माग  एजेण्डामा नै राखेका थिएनन् । आन्दोलनरत पक्षले उठाएको मुद्दा बैठकको एजेण्डामा समावेश नगरेपछि रजिष्ट्रार डाक्टर सूर्यप्रसाद संग्रौलालाई आन्दोलनकारीले काठमाडौं जान नदिएको डाक्टर विष्णु पोखरेलले बताए ।

‘प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको निर्देशन रोकिएको अन्तरवार्ता सञ्चालन गर्नु भन्ने थियो, तर उहाँले विज्ञापन र नियमावली सिनेट बैठकमा प्रस्ताव गर्ने कार्यकारिणी समितिको एजेण्डा राख्नुभयो,’ उनले भने,‘ उपकुलपति निकास दिने होइन अवस्थालाई झन गिजोल्ने पक्षमा हुनुहुन्छ ।’

प्रतिष्ठानका रजिष्ट्रार डाक्टर संग्रौलाले आजका लागि बोलाइएको कार्यकारिणी समितिको बैठक बस्न नसकेको बताए । ‘उपकुलपतिज्यूले आज बैठक बोलाउनु भएको थियो, तर बस्न सकेन्,’ उनले भने,‘बैठक काठमाडौंमा बोलाउनु भएको थियो, तर आन्दोलनका कारण जान पाइन् ।’

कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका थिए । दाहालको निर्देशनपछि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, मुख्यसचिव बैकुण्ठ अर्यालसहित मन्त्रालयका उच्च अधिकारी र प्रतिष्ठानका पदाधिकारीबीचको छलफलमा कार्यकारिणी समितिको बैठक राखेर शिक्षक कर्मचारीको माग सम्बोधन गर्ने सहमति भएको थियो ।

तर उपकुलपतिले तत्काल समस्या सामधान गर्ने भन्दा पनि रोकिएको परीक्षालाई आगामी सञ्चालक परिषदको बैठकमा पेश गर्ने तयारी गरेका छन् । सञ्चालक परिषद्को बैठक एक महिनापछि बस्दैछ । लोक सेवा आयोग र नेपाल सरकारले स्वीकृत दिए पनि उपकुलपति कार्कीले व्यक्तिगत स्वार्थ राखेर बढुवा प्रक्रियाको अन्तरवार्ता राखेको शिक्षक कर्मचारीको आरोप छ ।

प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीको आन्दोलनका कारण शुक्रबार छैठौं दिन पनि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द भए । आन्दोलनरत चिकित्सक र कर्मचारीले उपकुलपतिले माग पूरा गर्न चासो नदिएपछि थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?