+
+
प्रधानमन्त्री कप क्रिकेट :

आर्मीमाथि पुलिसको शानदार पुनरागमन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १७:१८

७ माघ, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई १३ रनले हराएको छ । लगातार तेस्रो जितसँगै पुलिस अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

जितको लागि १४१ रनको विजयी लक्ष्य पछ्याएको आर्मी ३२.२ ओभरमा १२७ रनमा अल आउट भयो । आर्मीका भीम सार्कीले ७६ बलमा ६ चौकासहित सर्वाधिक ५२ बनाए । कुशल मल्ल ४८ बलमा ३ चौका र २ छक्कासहित ३५ रनमा आउट भए ।

एक समय ३–३ को अवस्थामा पुगेको आर्मीलाई भीम र कुशलले चौथो विकेटका लागि ८९ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए ।

तर दीपेन्द्रले कुशल मल्ललाई बोल्ड आउट गरेपछि पुलिसले खेलमा सानदार पुनरागमन गरेको थियो । त्यसपछि विनोद भण्डारी १९, बसिर अहमद डक, विवेक यादव २ रनमा आउट भए ।

पुलिसका दुई स्पिनर सागर ढकाल र ललित नारायण राजवंशीले ३-३ विकेट लिए । राशिद खानले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा हुस्सुका कारण समयमै खेल सुरु हुन नसक्दा ३३–३३ ओभरमा झारिएको थियो ।

पुलिस टस हारेर पहिला ब्याटिङको निम्तो पाउँदै ३१.४ ओभरमा १४० रनमा अल आउट भएको थियो ।

पुलिसको जितमा ओपनर सुनिल धमलाले ८० बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए ।

ओपनर कुशल भुर्तेल शून्य, अर्जुन साउद १०, आरिफ शेख १८, दीपेन्द्रसिंह ऐरी र राशिद खानले १३–१३ रन बनाए ।

आर्मीका सोमपाल कामीले ६ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर ४ विकेट लिए । साहब आलम र विवेक यादवले २–२ विकेट लिए ।

यसअघि आर्मीले मधेश प्रदेशलाई १ सय २६ रन र कोशीलाई ९ विकेटले हराएको थियो । आर्मी वागमतीसँग भने ३ विकेटले स्तब्ध भएको थियो ।

पुलिसले बागमतीलाई ६८ रन र कोशीलाई ७ विकेटले हराएको थियो ।

आर्मीले अव मंगलबार एपीएफसँग र बुधबार लुम्बिनीसँग खेल्नेछ ।

त्यसपछि काठमाडौं फर्केर त्रिवि क्रिकेट मैदानमा आइतबार कर्णालीसँग खेल्नेछ । पुलिसले सोमबार एपीएफसँग खेल्नेछ । त्यसपछि काठमाडौं फर्किएर खेल्ने तालिका छ ।

पुलिस ३ खेलमा ६ अंकका दोस्रो स्थानमा छ । सुदूर ३ खेलमा ६ अंकका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा छ । आर्मी ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?