+

छालामा लाटो-फुस्रो दाग कुष्ठरोग हुनसक्छ, के छ उपचार ?

२०८० माघ  ८ गते १२:४२ २०८० माघ ८ गते १२:४२
छालामा लाटो-फुस्रो दाग कुष्ठरोग हुनसक्छ, के छ उपचार ?

कुनैबेला कुष्ठरोगीप्रति समाज संकुचित थियो । कसैलाई कुष्ठरोग लागेमा ‘देउताले सरापेको’ भनिन्थ्यो । त्यसैले कुष्ठरोगीहरु आफ्नो रोग लुकाउन खोज्थे । कुष्ठरोग लागेको मान्छेलाई छुँदा मात्र होइन, हेर्दा पनि त्यसको संक्रमण आफूलाई सर्छ भन्ने बुझाइ थियो समाजमा । त्यही कारण कुष्ठरोगीहरुले अरुको स्याहारसुसार पनि पाउँदैनथे । त्यसैले उनीहरु शारीरिक रुपमा अशक्त मात्र होइन, कष्टकर जीवन बिताउन बाध्य हुन्थे ।

मानव सभ्यतामा सबैभन्दा पुरानो रोग हो । यसको चर्चा पौराणिक ग्रन्थमा समेत पाइन्छ । मानव जातिमा हजारौं वर्ष पहिले नै यसको संक्रमण फैलिएको वैज्ञानिकहरुको भनाइ छ ।

यद्यपि अहिले यस रोगबारे उति चर्चा सुनिंदैन । किनभने यसलाई धेरै हदसम्म नियन्त्रणमा लिइएको छ तर निमिट्यान्न भने भइसकेको छैन । नेपालमा वर्षेनि औसत दुई हजार जनामा यस किसिमको संक्रमण देखिएको छ ।

के हो कुष्ठरोग ?

एकदमै सूक्ष्म ब्याक्टेरिया लेप्रीबाट कुष्ठरोगको संक्रमण हुन्छ । कुष्ठरोग पनि दुई किसिमको हुन्छ, एउटा ढिलो सर्ने र अर्को छिटो सर्ने । ढिलो सर्नेलाई पीबी (पउसीब्यासिलरी) भनिन्छ भने छिटो सर्नेलाई एमबी (मल्टीब्यासिलरी) ।

तर छिटो सर्ने खालको भन्दैमा तुरुन्तै एकबाट अर्कोमा फैलिने हुँदैन । कुष्ठरोगीसँग लामो समय संगत गर्दा वा नियमित उठबस गर्दा सर्न सक्छ ।

कसरी सर्छ ?

कुष्ठरोग खासगरी श्वासप्रश्वासको माध्यमबाट सर्छ । त्यसबाहेक छालाको स्पर्शबाट पनि सर्छ । तर छालामा एक दुई पटक स्पर्श हुँदैमा सर्छ भन्ने होइन । लामो समयसम्म त्यो क्रम रहेमा सर्ने सम्भावना हुन्छ । यद्यपि कुष्ठरोग लागेका व्यक्तिले औषधि सुरु गरिसकेको छ भने अर्को व्यक्तिलाई सर्दैन ।

के हुन्छ लक्षण ?

छालामा चिल्लो, फुस्रो दाग आउनु कुष्ठरोगको लक्षण हो । यस्तो दाग लाटो हुन्छ, जहाँ छुँदा चिसो, तातो केही थाहा हुँदैन । चिमोट्दा पनि दुख्दैन । दाग सानो वा ठूलो हुनसक्छ । हातखुट्टा लगातार झमझम गर्नु, नसा सुन्निनु, दुख्नु, मांसपेशी कमजोर हुनु पनि कुष्ठरोगको लक्षण हुनसक्छ ।

हिंड्दा हिंड्दै चप्पल खुस्किएको थाहा नहुने, हातले लेख्दा लेख्दै थाहा नहुने, कुनै सामान उचाल्न नसक्ने जस्ता लक्षण पनि देखिन्छ । त्यस्तै कानको लोती बाक्लो हुने, आँखीभौंहरु झर्ने, नाकको हड्डी थेप्चो हुने पनि कुष्ठरोगको लक्षण हो ।

के छ उपचार ?

कुष्ठरोग औषधिबाट नै निको हुन्छ । ढिलो सर्ने खालको कुष्ठरोग ड्यापसोन र रिफाम्पिसिन नामक औषधिले निको हुन्छ । यस्तो औषधि दिन नबिराई ६ महिनासम्म खानुपर्छ ।

छिटो सर्ने खालको कुष्ठरोग भएमा रिफाम्पिसिन, ड्यापसोनसँगै क्लोफाजिमिन औषधि खानुपर्छ । यो एक वर्षसम्म नियमित रुपमा खानुपर्ने हुन्छ ।

कहाँ पाइन्छ औषधि ?

नेपालका सबै जिल्लामा यसको औषधि सहज रुपमा पाइन्छ । कुनै पनि प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, प्रादेशकि अस्पताल र केन्द्रीय अस्पतालमा कुष्ठरोगको औषधि नि:शुल्क पाइन्छ ।

यदि कुष्ठरोगको संक्रमणले शरीरको अंगमा असर गरेको छ भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । शल्यक्रियाका लागि पनि खर्च लाग्दैन । ललितपुर लेलेस्थित आनन्दवन अस्पताल र बर्दिवासको लालगढ अस्पतालमा नि:शुल्क शल्यक्रिया गर्न सकिन्छ ।

पूर्ण रुपमा निको हुन्छ ?

कुष्ठरोग पूर्ण रुपमा निको हुन्छ । यो कुरा समाजलाई बुझाउन जरुरी छ । अझ यो अरु रोगभन्दा पनि सामान्य हो । जस्तो मधुमेह र उच्च रक्तचाप हुँदा जीवनभर औषधि खानुपर्छ, तर कुष्ठरोग लाग्दा ६ महिना वा एक वर्ष औषधि खाए पुग्छ ।

उपचार भएन भने के हुन्छ ?

समयमा उपचार गरिएन वा ढिलोसम्म उपचार गरिएन भने अंगभंग हुने, हात र खुट्टाका औंलाहरु झर्ने, बांगिने र अन्त्यमा पूर्ण रुपमा अशक्त हुनसक्छ ।  कहिलेकाहीं कुष्ठरोगले आँखालाई असर गरेर आँखाको दृष्टि नै हराउने समेत हुनसक्छ ।

कुष्ठरोग छालारोग स्वास्थ्य
डा. रवीन्द्र बाँस्कोटा
लेखक
डा. रवीन्द्र बाँस्कोटा
छाला तथा यौनरोग विशेषज्ञ

डा. बाँस्कोटा नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत छन् । उनले छाला तथा यौनरोगमा एमडी गरेका हुन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ७७८१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय