
८ माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले बुङमतीस्थित रातो मत्स्येन्द्रनाथ मन्दिर पुनर्निर्माणको बाँकी काम आफैं गर्ने घोषणा गरेको छ ।
महानगरले हिउँदे नगरसभाबाट बजेट संशोधन गरेर बाँकी काम आफैंले गर्ने गरी रकम छुट्ट्याएको हो ।
चालु आर्थिक वर्षमै मन्दिर पुनर्निर्माण सम्पन्न गर्न करिब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । हालसम्म साढे ३ करोड रूपैयाँ खर्च भइसकेको छ ।
महानगर प्रवक्ता राजु महर्जनले बाँकी कामको नेतृत्व गर्दै पुनर्निर्माण सम्पन्न गर्न हिउँदे नगरसभाले बजेट विनियोजन गरेको बताए ।
महानगरको वडा नम्बर २२ मा अवस्थित रातो मत्स्येन्द्रनाथ मन्दिर २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले भत्काएको थियो ।
मन्दिर पुनर्निर्माण कार्य पुरातत्व विभागले गरिरहेको थियो ।
उपभोक्ता समितिले म्याद थप गर्न पुरातत्व विभागमा पत्राचार गरे पनि अझै काम भएको छैन ।
‘सांस्कृतिक धरोहरका रूपमा रहेको पुरातात्विक महत्वको मन्दिरलाई त्यत्तिकै अलपत्र छाड्न नहुने ठहर गर्दै बाँकी काम महानगर आफैंले सम्पन्न गर्ने निक्र्योल गरेका छौं,’ प्रवक्त महर्जनले भने ।
बुङमतीमा केही दिनअघि मन्दिर पुनर्निर्माण क्रममा भएको खर्च सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा पुरातत्व विभागकी अधिकृत सविता न्यौपानेले पुरातत्व विभागले पछिल्लो समय कानुन अभावमा उपभोक्ता समितिको म्याद थपसम्बन्धी निर्णय गर्न नसकेको जानकारी दिएकी थिइन् ।
‘तत्कालीन अवस्थामा पुनर्निर्माण प्राधिकरणको आदेशमा पुरातत्व विभागले काम गरेको हो । अहिले त्यो प्राधिकरण खारेज भएको अवस्था छ,’ उनले भनेकी थिइन्, ‘नयाँ परिस्थितिमा कसरी जाने भन्ने कानुनी अन्योल रहेकाले विभागले मन्त्रालयलाई पत्राचार गरेको छ । पत्राचारको जवाफ नआएका कारण उपभोक्ता समितिको म्याद थप सम्बन्धमा अन्योल रहेको हो ।’
२ माघ २०७२ मा मन्दिर पुनर्निर्माणका लागि श्रीलंका सरकारबाट सहयोग प्राप्त भएको थियो । मन्दिर पुनर्निर्माणका लागि टेन्डर स्वीकृत भई मन्दिर पुनर्निर्माण कार्य सुरु भएको थियो ।
ठेकेदार कम्पनी बीचैमा काम छाडेर हिँडेपछि १५ असार २०७७ मा रातो मत्स्येन्द्रनाथ मन्दिर पुनर्निर्माण उपभोक्ता समिति र पुरातत्व विभागबीच सम्झौता भएअनुसार काम अघि बढेको थियो ।
पुरातत्व विभागका प्राविधिकका अनुसार मन्दिर पुनर्निर्माणको काममध्ये हालसम्म उपभोक्ता समितिले ७३ देखि ७७ प्रतिशतसम्म सकेको छ ।
प्रतिक्रिया 4