+
+

६१ किलो सुन प्रकरणका आरोपी चलाउनेविरुद्ध डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १८:४५

८ माघ, काठमाडौं । मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६१ किलो सुन प्रकरणमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट डिफ्यूजन नोटिस जारी हुने भएको छ ।

प्रहरी महानिरीक्षकको नेतृत्वमा हुने इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी), काठमाडौंले इन्टरपोल महासचिवालयलाई चलाउनेविरुद्ध डिफ्यूजन नोटिस जारी गर्न पत्राचार गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले गृह प्रशासनले चलाउनेलाई भगाएको आरोप लगाउँदै आएका थिए । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि लामिछानेले चलाउनेको विषय उठाएका थिए ।

दबाबका बीच चलाउनेको खोजीका लागि इन्टरपोलमा ड्यूजन नोटिस जारी हुन लागेको हो । यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, सुन प्रकरणमा जोडिएका बेल्जियन नागरिक दावा छिरिङसँग चलाउनेको सम्बन्ध देखिएको थियो ।

छिरिङले चलाउनेलाई म्यासेज गर्दै ‘आफूसँग चिनियाँ सुन समूहसँग विजनेस गर्ने आइडिया’ भएको भनेको पाइएको थियो । त्यसपछि चलाउनेले ‘मैले मिलाएको छु सबै काम, दाइ’ भनेको भेटिएको थियो ।

उनले जिरा भन्दै सुनको विषयमा कुुरा गरेको समेत भेटिएको अनुसन्धान अधिकृतहरुको भनाइ छ ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर ल्याएको ठूलो परिमाणको सुन बरामद गरेको थियो ।

त्यसबेला झण्डै एक क्वीन्टल सुन भन्सार जाँच पास पार गरेर बाहिरिएको भनिएपनि पछि जोख्दा ६१ किलो सुन मात्र भेटिएको थियो ।

१९ दिनपछि यसमा संगठित अपराधको तत्व देखिएको भन्दै विभागले थप अनुसन्धान गर्न सम्पूर्ण प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिम्मा लगाएको थियो । त्यसक्रममा भएको अनुसन्धानपछि सीआईबीले यो समूहले थप ३०२ किलो सुन तस्करी गरिसकेको निष्कर्ष निकालेको थियो ।

यो मामिलामा सीआईबीले दावा, जीवनसहित २९ जनालाई प्रतिवादी बनाएर सुन भन्सार चोरी पैठारी र संगठित अपराध समेतको कसुरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । यो मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?