+
+

विश्वकपबाट विछोड भएपछि गुमनाम प्रेम

नेपालमा उमेर समूहमा राम्रो खेल्ने त्यसपछि हराएर जाने गरेका छन् । त्यसको मुख्य कारण घरेलु प्रतियोगिता पर्याप्त नहुनु हो । एउटा मात्रै प्रधानमन्त्री कप घरेलु प्रतियोगिताको रूपमा हुँदा धेरै खेलाडीले खेल्ने अवसर नै पाउँदैनन् ।

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ ८ गते २०:०९

८ माघ, काठमाडौं । सन् २०१६ मा बंगलादेशमा सम्पन्न यू–१९ विश्वकपमा नेपालले टेष्ट टोली न्युजिल्यान्डलाई हराउँदै क्वाटरफाइनलसम्म यात्रा तय गरेको थियो । नेपाललाई क्वाटरफाइनलसम्म पुर्‍याउन स्पिन अलराउन्डर प्रेम तामाङले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी बनेका उनले बलिङमा पनि त्यति नै दमदार प्रदर्शन गर्दै ठूलो सम्भावना देखाएका थिए । नेपालले पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रनले हराउन प्रेमले दुई विकेट लिएका थिए । जितको लागि २३९ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड २५.४ ओभरमा १०३–२ को अवस्थामा थियो । त्यो अवस्थामा नेपालको जित कठिन बनिसकेको थियो ।

ग्लेन फिलिप्सले ५२ रन बनाएर नेपालबाट जित टाढा लगेर जान खोजेका थिए । तर प्रेमले फिलिप्सलाई वैकल्पिक फिल्डर शंकर रानाबाट क्याच गराउँदै खेलमा फर्काए । त्यो विकेट नै नेपालको जितको टर्निङ प्वाइन्ट बनेको थियो । प्रेम आफैंले कप्तानसँग बलिङ मागेको बताउँछन् ।

‘त्यो हाम्रोे न्युजिल्यान्डविरुद्ध अविस्मरणीय जित थियो । फिलिप्स त्यतिबेला पनि क्षमता भएका खेलाडी थिए । क्रिजमा टिकिसकेको हुँदा उनको विकेट हामीलाई निकाल्नै पर्ने थियो । मैले कप्तान राजुलाई आफैंले बलिङ मागेर विकेट निकालेको थिएँ । अहिले विश्वमा हेर्दा उनी एकदमै राम्रो क्रिकेटर बनेका छन् ।’

नेपाल भारतसँग ९ विकेटले हारेको थियो । जितको लागि १७० रनको विजयी लक्ष्य पछ्याएको भारतलाई ऋषभ पन्त र ईशान किसनले विस्फोटक सुरुवात दिलाएका थिए । मैदानमा चौका र छक्काको वर्षा भएको थियो । ९ ओभरमै भारतले १२४ रन बनाएको थियो ।

प्रेमले लेग साइडको बल टर्न गर्दै पन्तलाई बोल्ड गरे । पन्तले २४ बलमा ९ चौका र ५ छक्का सहित ७८ रन बनाएका थिए । पन्त अहिले विश्व क्रिकेटका एक उत्कृष्ट विकेटकिपर हुन् ।

‘मलाई भारतले एकदमै नराम्रोसँग हराउँछ जस्तो लागेको थियो । १० विकेटले हार्नुहुँदैन भन्ने मनमा थियो । कम्तीमा ऋषभ पन्तको विकेट निकाल्छु भन्ने थियो’, उनले भने । पाकिस्तानविरुद्ध उनले ६५ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

त्यो समय प्रेम आफ्नो करिअरको उत्कृष्ट समय भएको बताउँछन् । ‘अहिले फिलिप्स र पन्तलाई देख्दा खुसी लाग्छ । म आफ्नो उत्कृष्ट लयमा थिएँ । उनीहरूको विकेट लिन सकेको र खेल्न पाएकोमा एकदमै खुसी लाग्छ’, उनले भने ।

उक्त विश्वकपमा प्रेम १५२ रनका साथ नेपालबाट शीर्ष स्थानमा थिए । उनीपछि आरिफ शेखले १४८, राजु रिजाल १४२, योगेन्द्रसिंह कार्की ११५, सुनिल धमला १३४, दीपेन्द्रसिंह ऐरी ७८ र कुशल भुर्तेलले ५७ रन जोडेका थिए ।

मलेसियामा सम्पन्न आईसीसी यू–१९ विश्वकप क्वालिफायर २०१५ को फाइनलमा आयरल्यान्डलाई हराउँदै नेपालले उपाधि जितेको थियो । उक्त प्रतियोगितामा उनले सर्वाधिक ११ विकेट लिएका थिए । यू–१९ विश्वकपमा शानदार प्रदर्शन गरेपछि प्रेमलाई नेपालले २०१७ मा केन्या आउँदा नेपालको बन्द प्रशिक्षणमा समेत पारेको थियो ।

उनीसँगै खेलेका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख स्टार खेलाडी भइसकेका छन् । सुनिल धमला र राजु रिजालले नेपालका लागि खेलिसकेका छन् । तर प्रेम क्रिकेटदेखि विछोड हुँदै गुमनाम जस्तै बनेका छन् ।

‘म अहिले पुलिसमै अभ्यास गरिराखेको छु । अभ्यास खेलहरू खेलिराखेको छु । तर टोलीमा पर्न सकेको छैन’, उनले भने ।

यू–१९ विश्वकपपछि पुलिसको टोलीमा जोडिएका उनी २०२१ को प्रधानमन्त्री कपमा टोलीमा थिए । तर खेल्ने मौका पाएनन् । पछिल्लो समय टोलीमै पर्न सकेका छैनन् । काठमाडौं बाहिर हुने प्रतियोगितामा कहिलेकाहीं मात्रै अवसर पाउने गरेका छन् ।

‘म विश्वकपपछि पनि राम्रो लयमा थिएँ । पुलिसमा मैले मौका पाएको हो । तर त्यसलाई सदुपयोग गर्न सकिनँ । त्यसैले गर्दा मेरो करिअरमा ग्याप भएको हो । पुलिसको छायाँमा त होइन । पुलिस नेपालको एक उत्कृष्ट टोली हो । राम्रा राम्रा खेलाडी हुँदा प्रतिस्पर्धा बढी भएको हो’, उनले भने ।

२०१७ मार्चमा नेपालमा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न केन्या आएको थियो । त्यो समय उनी नेपालको बन्द प्रशिक्षणमा परेका थिए ।

अभ्यास खेलहरूमा राम्रो प्रदर्शन पनि गरे । तर दुर्भाग्य त्रिवि मैदानमा अभ्यासमा फुटबल खेल्ने क्रममा दायाँ खुट्टाको एंकलमा चोट लाग्यो । उनी गुमनाम हुनुमा त्यो चोट अर्को कारण थियो ।

‘म सिनियर टोलीको बन्द प्रशिक्षणमा २०१७ मा केन्या आउँदा परेको थिएँ । मैले त्यहाँ राम्रो पनि गरेको हो । तर दुर्भाग्य मेरो एंकल गयो । त्यो समय चोट नभएको भए सायद नेपालको टोलीबाट खेल्थें पनि होला’, उनले भने ।

त्यसैमा उनले थपे, ‘त्यो समय म चाँडै नै नेपालको जर्सी लगाउँछु भनेर सोचेको थिएँ । सिनियर टोलीमा मेरो प्रतिस्पर्धा सागर पुन मगरसँग हुन्थ्यो । सागर त्यो समय एक उत्कृष्ट स्पिन अलराउन्डर थिए ।’

प्रेम गुमनाम हुनुको मुख्य कारण पुलिसको टोलीबाट खेल्ने मौका नपाउनु हो । खेल्ने अवसर नै नपाएपछि कहिल्यै उनले आफ्नो क्षमता देखाउने अवसर नै पाएनन् ।

‘त्यो मात्रै होइन मैले मौका पनि कम पाएँ । पिएम कप लगायत अन्य प्रतियोगितामा टोलीमा रहे पनि खेल्ने मौका पाउने थिइनँ । बेन्चमा बस्दा आफैंलाई नराम्रो अनुभव लागिनै हाल्छ । खेल्न पाएँ भने म गर्न सक्छु भन्ने सधैं आत्मविश्वास छ’, उनले भने ।

प्रेम एउटा उदाहरण मात्रै हुन् । नेपालमा उमेर समूहमा राम्रो गर्ने त्यसपछि हराएर जाने गरेका छन् । त्यसको मुख्य कारण घरेलु प्रतियोगिता पर्याप्त नहुनु हो । एउटा मात्रै प्रधानमन्त्री कप घरेलु प्रतियोगिताको रूपमा हुँदा धेरै खेलाडीले खेल्ने अवसर नै पाउन सकेका छैनन् ।

‘अहिले क्यानले आफ्नो तालिका निकालेको छ । तर पहिला त्यस्तै प्रतियोगिता नै थिएनन् । अहिले एकदमै राम्रो छ । पुलिसले पनि मौका दिन्छु जस्तो भन्नेको छ । आशा गरौं आउँछु होला’, उनले भने ।

पछिल्लो समय विभागीय टोली छाडेर फर्किने खेलाडीको संख्या पनि बढ्दो छ । पुलिसबाट पवन सर्राफ र अनिलकुमार साहले मधेशमा पछिल्लो समय उत्कृष्ट क्रिकेट खेलेका छन् । सिद्धान्त लोहनी पनि पुलिस छाडेर कोशी फर्केका थिए । यी केही उदाहरण हुन् । तर प्रेम आर्थिक अवस्थाको कारण त्यो जोखिम लिन नसकेको बताउँछन् ।

पुलिसमा मौका नपाउँदा प्रदेश गएर खेल्ने सोच आउँछ । किनभने प्रदेशबाट खेल्दा मौका पाइन्छ । तर पुलिसबाट पाइँदैन । केही कारण छ । मौका नपाएको खेलाडीहरू पनि जान खोजेका थिए । तर आ–आफ्नो करिअरको कुरा हुन्छ, उनले भने, त्यसैमा थपे, ‘कुनै समय मलाई सोच आउँथ्यो । तर अहिले सोचिँदैन । प्रदेशमा आर्थिक सुरक्षा हुँदैन । जसले गर्दा विभागमा बस्नुपर्ने एउटा बाध्यता जस्तै छ ।’

अब प्रेम केही समय खेलेर विदेश जाने सोच भएको बताउँछन् । ‘अहिले खेलिराखेको छु । म अझै दुई–चार वर्ष खेल्छु । त्यसपछि बाहिर जाने प्रक्रियाको सोचमा छु’, उनले भने ।

तस्वीर तथा भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?