+
+

अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १७:५१

९ माघ, काठमाडौं । सामाजिक सञ्जाल नियमन सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरू गरेको छ ।

सरकारले गत ११ मंसिरमा ‘सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८०’ जारी गरेको थियो । सोही निर्देशिकाका आधारमा अनलाइनबाट गुनासो दर्ता प्रक्रिया सुरू गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

प्रयोगकर्ताको गुनासो सुनुवाइ सहज बनाउन मन्त्रालयले निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाइ स्थापना गरिसकेको छ ।

सामाजिक सञ्जाल दुरुपयोग रोक्न निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्थापन इकाइ स्थापना गरेर अनलाइन गुनासो लिन सुरू गरिएको मन्त्रालयका उपसचिव एवम् इकाइ संयोजक रमेश पाण्डेयले जानकारी दिए ।

मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइकन क्लिक गरेर वा सोझै https://mocit.gov.np/socialplatformcomplaint मा गएर गुनासो दर्ता गर्न सकिने संयोजक पाण्डेयले जानकारी दिए ।

प्राप्त गुनासो अध्ययन गरेर साइबर अपराधसँग सम्बन्धित भए प्रहरीमा लेखी पठाउने र सामाजिक सञ्जाल प्लेटफर्मले समाधान गर्नुपर्ने विषय भए सम्बन्धित प्लेटफर्मको सम्पर्क व्यक्तिलाई लेखी पठाउने उनले जानकारी दिए ।

नेपालमा सामाजिक सञ्जालका रूपमा सञ्चालनमा रहेका सबै प्लटेफर्मलाई तीन महिनाभित्र सूचीकरण गर्न सरकारले सूचित गरेको थियो ।

सामाजिक सञ्जाल प्लेटफर्म जुनसुकै देशबाट सञ्चालन भएको भए पनि नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

प्लेटफर्मले तोकेका सम्पर्क व्यक्तिमार्फत प्रयोगकर्ताको गुनासो सम्बन्धित प्लेटफर्ममा पठाइने संयोजक पाण्डेयले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?