+
+
प्रधानमन्त्री कप क्रिकेट :

हिरोबाट भिलेन अनि फेरि हिरो बनेका करन पंगेनी

‘त्यो रन आउट तालमेलको कमी भयो । दाइले एस एस भन्दा मैले नो नो भने । त्यो मेरो गल्ती हो । आगामी खेलमा म यो गल्ती सुधार गर्छु । यहाँबाट हारेमा मलाई टोलीले गाली गर्छ भन्ने डर थियो । तर म सेट हुँदा खेल जिताउन सक्नेमा पूर्ण विश्वास थिएँ’,

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ ९ गते २०:२४

९ माघ, काठमाडौं । मंगलबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशमाथि तीन विकेटको रोमाञ्चक जित हात पार्‍यो ।

जितको लागि पाएको १९९ रनको लक्ष्य गण्डकीले ४९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीको जितमा १७ वर्षीय युवा ब्याटर करन पंगेनीले ९८ बलमा ६ चौका र ३ चौकासहित सर्वाधिक ७९ रनको विजयी इनिङ खेले ।

गण्डकीको जितमा कमल परियारपछि उनी अर्को नायक थिए । तर त्यो विजयी इनिङ खेल्ने क्रममा करनले दुई गल्ती गरे । त्यही कारण एक समय टोलीको भिलेन बन्न सक्ने डर बढेको थियो ।

१६औं ओभरको पहिलो बलमा ओपनर समिर कँडेल १९ रनमा क्याच आउट भएपछि चौथो नम्बरमा ब्याटिङमा उनी मैदान छिरेका थिए । त्यो समय गण्डकी ६३–२ को अवस्थामा थियो ।

२०औं ओभरको अन्तिम बलमा स्पिनर विपिन आचार्यलाई छक्का हान्दै बाउन्ड्रीको सुरुवात गरे । २८औं ओभरमा विपिनलाई छक्का र चौका हान्दै गण्डकीको जितको आधार बलियो बनाए । ।

उमेर कलिलो भए पनि उनले मैदानमा देखाएका आत्माविश्वास र सट तारिफ योग्य थियो । उनले मुश्कान थापासँग मिलेर चौथो विकेटका लागि ७० रनको साझेदारी गरेपछि गण्डकी ३५.२ ओभरमा १३३–२ को बलियो अवस्थामा पुग्यो । तर अर्को बलमा मुश्कान रन आउट भए । एक रन लिन सक्ने अवस्था रहेपनि तालमेल गर्न नसक्दा सेट भएका मुश्कानलाई २७ रनमा गुमाउनु परेको थियो ।

३८ औं ओभरमा अमृत गुरुङ पनि आउट भए । गण्डकीका भरपर्दा क्लिनहिटर तथा फिनिसर विपिन त्यसपछि खेल्न आएका थिए । तर ४० औं ओभरको पाँचौं बलमा करनको गल्तीका कारण विपिन रन आउट हुन पुगे ।

त्यो गण्डकीको लागि ठूलो झड्का थियो । हातमा बाँकी पाँच विकेट थियो, तर दबाबमा खेलेको अनुभव अन्य खेलाडीसँग थिएन । त्यो दुईवटा रन आउटकै कारण गण्डकी हार्न सक्ने खतरामा परेको थियो ।

विपिन आउट हुँदा करन ५० रनमा थिए । जितको लागि ५१ रन आवश्यक थियो । बागमतीको बलिङ उत्कृुष्ट हुँदा खेल ढुकचुक भएको थियो । त्यसपछि करनले टोलीको इनिङलाई अघि बढाए । जितको लागि अन्तिम २४ बलमा २४ रन चाहिएको थियो । रिजन ढकाललाई ४७ औं ओभरको तेस्रो बलमा स्टेटमा एक सुन्दर छक्का हान्दै जित केही सहज बनाए ।

४९ औं ओभरको पहिलो बलमा प्रतिशले कमल परियारलाई २० रनमा आउट गरे । कमल आउट भएको अर्को बलमा करनले प्रतिश जिसीलाई चौका हान्दै जिततर्फ अघि बढाए ।

जितको लागि ७ बलमा ४ रन चाहिँदा करन टप एज लागेर स्लिपमा अशोक पौडेलबाट क्याच आउट भए । गण्डकीलाई पाँच बलमा जित्न ३ रन चाहिँदा ईशान पाण्डेलाई अंकित न्यौपानेले प्रहार गरेको सट लङअफमा अशोक पौडेलले छाड्न पुगेका थिए । तेस्रो बलमा अंकितले एज लगाएर चौका गरेपछि त्रिवि क्रिकेट मैदानमा गण्डकीले  प्रतियोगिताकै उत्कृष्ट विजयी सेलेब्रेसन गर्यो ।

खेलपछि विपिनले त्यो दुई रन आउटपछि हारको डर बढेको सुनाए । ‘त्यो बल उसले हान्यो । रन रन भनेर मलाई कल गर्‍यो । उसको कल भएपछि म भागे । तर उ नो भनेर बसेपछि म आउट भएँ,’ त्यो रन आउटबारे विपिनले भने ।

‘आफू रन आउट भएपछि हारिन्छ कि भन्ने डर लागेको थियो । करनको त्यो दुई रन आउटले खेल हार्न सकिन्छ कि भन्ने मनमा आइराखेको थियो । तर उ फोकस भएर ब्याटिङ गरेकोमा खुसी छु’ उनले अघि भने ।

करनले पनि तालमेलको कमी हुँदा विपिनको रन आउट भएको बताउँछन् । ‘दाइले एस एस भन्दा मैले नो नो भने, त्यो मेरो गल्ती हो । आगामी खेलमा म यो गल्ती सुधार गर्छुु करन पंगेनीले भने, ‘यहाँबाट हारेमा मलाई टोलीले गाली गर्छ भन्ने डर थियो । तर म सेट हुँदा खेल जिताउन सक्नेमा पूर्ण विश्वास थिएँ ।’

सुरुवात देखिनै बागमतीका खेलाडीले गण्डकीका ब्याटरको ध्यान भड्काउने कोशिस गरेका थिए । लगातर ब्याटरको ध्यान अन्त मोड्न आक्रामक सेलेब्रेसन होस् वा जिस्काएर खेलेका थिए ।

तर आफूले ती सबै कुरा बेवास्ता गरेर खेलेको करन बताउँछन् । ‘म बेवास्ता गरेर खेलेको थिएँ । त्यो समय म आफ्नो बलमा ध्यान केन्द्रित गरेर खेल्ने रणनीति बनाएँ । त्यस्तो माथिल्लो स्तरमा झन् धेरै आउँछ’, उनले भने ।

खेल जितेपछि गण्डकीले सेलेब्रेसन अझ हेर्न लायक थियो । ‘हाम्रो टोलीमा भर्खर खेलेका खेलाडी छन् । अनुभव छैन । यस्तो अवस्था नझेलेको हुँदा फोकस आउट भएर कतै आफ्नो विकेट फाल्ने हो कि भन्ने डर थियो । तर उनीहरुले कन्ट्रोल गरेर ब्याटिङ गरे । त्यसै अनुसार जित्दा उनीहरुले मैदानमा हामीलाई गरेको देखाउँ भन्ने हुँदा त्यो किसिमको सेलेब्रेसन भएको हो’ कप्तान विपिनले भने ।

स्याङ्जामा जन्मिएका करन दिल्लीमा बसेर क्रिकेट सिक्न थालेको झन्डै चार वर्ष हुन लागेको छ । क्रिकेटको समयमा नेपाल आउँदा अन्य समय दिल्ली पुगेर अभ्यास गर्दछन् । करन आगामी दिनमा राम्रो सम्भावना बोकेका युवा खेलाडी हुन् ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?