+
+

कुशलको घातक बलिङ र इमरानको अर्धशतकमा आर्मी विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १७:०६

१० माघ, भैरहवा । स्पिन अलरान्डर कुशल मल्लको घातक बलिङ र ओपनर इमरान शेखको अर्धशतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा घरेलु टोली लुम्बिनीलाई ६५ रनले हराएको छ ।

जितको लागि १७१ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २६ ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनायो ।

लुम्बिनीका पूर्व कप्तान कृष्ण कार्की ६२ बलमा ३ चौका र २ छक्कासहित ३५ रनमा नट आउट रहे । मोहम्मद हुसेन १५ र मिर्नङ गुरुङ १८ रन बनाए ।

आर्मीका कुशल मल्लले ६ ओभरमा २ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले ५ ओभरमा ३ मेडनसहित ५ रन खर्चेर २ विकेट लिए । अभिनाश कर्ण र साहब आलमले १-१ विकेट लिए ।

त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आमीले निर्धारित २६ ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनाएको थियो । हुस्सुको कारण खेल निर्धारित समयमा सुरु नहुँदा २६-२६ ओभरमा झारिएको थियो ।

आर्मीका ओपनर इमरान शेखले ७० बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६७ रन बनाएका थिए ।

विनोद भण्डारीले २५ बलमा ४ चौका र १ छक्कासहित ३४, भीम सार्की २४, सन्तोष कार्की ११, विवेक यादव ६, बसिर अहमद २, सन्दीप रजाली डक र कुशल मल्ल ५ रनमा आउट भए ।

घरेलु टोली लुम्बिनीका मोहम्मद हुसेन र नर बहादुर सार्कीले २–२ विकेट लिए । कृष्ण कार्की र निर्मल गुरुङले १–१ विकेट लिएका थिए ।

पुलिस ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । सुदूरपश्चिम प्रदेश ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।

आर्मी ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । लुम्बिनी ४ खेलमा १ मा जित र ३ मा हारसहित २ अंकका साथ नवौं स्थानमा छ ।

शीर्ष दुई टोली फाइनल खेल्न पाउनेछन् । आर्मीले आइतबार टियुमा कर्णालीसँग खेल्नेछ । लुम्बिनीले भैरहवामा अन्तिम खेल एपीएफसँग खेल्नेछ । त्यसपछि मात्रै लुम्बिनी काठमाडौं आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?