+
+
राष्ट्रिय सभा निर्वाचन :

सत्ता गठबन्धनकै प्रतिष्ठा बनेका सिटौला

हरि अधिकारी हरि अधिकारी
२०८० माघ १० गते २२:०६
बुधबार नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विराटनगरमा आयोजना गरेको चियापानमा कांग्रेस नेताहरु ।

१० माघ, विराटनगर । राष्ट्रियसभा चुनावको अघिल्लो दिन आज निर्वाचनको प्रचार–प्रसार भएको जानकारी पाएपछि निर्वाचन आयोगले मोरङका प्रमुख जिल्ला अधिकारीसँग प्रतिवेदन मागेको छ ।

‘..निर्वाचन आचारसंहिता–२०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन–२०७३ को दफा २४ को उपदफा (५) बिपरीतको कार्य भएको हो वा होइन ? सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न ..’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले लेखेको पत्रमा उल्लेख छ ।

भोलि हुने राष्ट्रियसभा चुनावका लागि गत ८ माघ राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुञ्जेलसम्म निर्वाचन आचारसंहिता लागू भएको थियो । तर विराटनगरमा सत्तारुढ गठबन्धन र नेकपा एमाले–राप्रपाले बुधबारमात्रै छुट्टा–छुट्टै चियापान कार्यक्रमकै आयोजना गरियो ।

सत्ता गठबन्धनले नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको निवासमा भेलासहित चियापान गरेको थियो भने एमाले–राप्रपाले मोती दुगडको होटल ह्यारिसमा भेला राखेका थिए । कांग्रेसको भेलामा महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा लगायत नेता सहभागी थिए भने एमाले–राप्रपाको भेलामा महासचिव शंकर पोखरेलसहित नेताहरु थिए ।

दुवै पक्षले मतदानको अघिल्लो दिन मात्रै भेला आयोजना गर्नुको उद्देश्य भने राष्ट्रियसभा चुनाव आफ्नै पक्षमा पार्ने चाहना हो । राष्ट्रियसभा सदस्य सदस्यका लागि कोशीमा दुई पदका निम्ति चुनाव हुँदैछ ।

सत्ता गठबन्धनले अन्यतर्फ कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र महिलातर्फ चम्पा कार्कीलाई उम्मेदवार बनाएको छ । गठबन्धनविरुद्ध एमालेले अन्य तर्फ राप्रपाका उद्धव पौडेललाई समर्थन गरेको छ भने महिलातर्फ रुक्मणी कोइराला उम्मेद्वार बनाएको छ । अन्य तर्फ पर्शुराम अधिकारीको उम्मेदवारी फिर्ता गरेर एमालेले राप्रपाका पौडेललाई समर्थन गरेकाले यो पदमा प्रतिस्पर्धा केही बलियो बनेको छ ।

एमालेले राप्रपाका उम्मेदवारलाई समर्थन गरेकैले सत्ता गठबन्धनका नेताहरुले थप मेहनत गरिरहेको देखिन्छ । डा. शेखर कोइरालाले विराटनगर छाडेका छैनन् । उनी गठबन्धनको बैठक लगातार राख्ने कामको अगुवाइ गरिरहेका छन् ।

राष्ट्रियसभाको टिकट वितरणसम्म चर्को मतभेद देखिएको कांग्रेसभित्र सिटौलालाई जिताउन भने अनौठो एकता देखिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि मैदानमा उत्रिएका छन् । सत्ता गठबन्धनका अरु शीर्ष नेताहरु समेत सिटौलालाई जिताउन कोशी पुगेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै निर्देशनमा उपमहासचिव वर्षमान पुन विराटनगर पुगेका थिए । उनी विराटनगर पुग्नुको उद्देश्य गठबन्धनको मत सिटौलाको पक्षमा पार्नु नै हो । एक शीर्ष नेताका अनुसार, सत्ता गठबन्धनको मत विपक्षी राप्रपाका उम्मेदवार उद्धव पौडेलले चोर्न सक्ने अनुमानकै कारण प्रभावशाली नेताहरु नै खटिएका हुन् ।

मतभारमा पछाडि रहेको एमाले–राप्रपाका नेताहरुले पनि गठबन्धनकै मत तानेर आफ्ना उम्मेद्वार जिताउने प्रयास गरिरहेका छन् । त्यसैका निम्ति एमाले महासचिव पोखरेल विराटनगर पुगेका हुन् । पोखरेलकै नेतृत्वमा विपक्षी गठबन्धनका नेताहरु चुनावी मैदानमा छन् ।

अर्थात् भोलि सात प्रदेशगरी राष्ट्रियसभाको १९ पदका निम्ति मतदान हुने भएपनि सत्ता र विपक्षी गठबन्धनले कोशीलाई प्रतिष्ठाको विषय बनाएको छ । निर्वाचन आचार संहिता विपरीतका गतिविधिमा शीर्ष नेताहरु नै देखिनुले पनि कोशीमा सिटौला र पौडेलबीचको प्रतिस्पर्धालाई दुवै तर्फबाट प्रतिष्ठाको विषय बनाएको प्रष्ट हुन्छ ।

नेताहरुका अनुसार, कथं सिटौलाले चुनाव हारिहालेमा गठबन्धनभित्र मात्रै नभएर कांग्रेसको राजनीतिमा समेत असर पर्ने भएकाले यो चुनावलाई जोड दिइएको हो ।

‘सिटौलाले हारे अपजस आफूलाई आउने भएकाले डा. कोइराला चुनावी अभियानमा देखिनुभएको छ’ कांग्रेस संस्थापन तर्फका एक नेताले भने, ‘मतका हिसाबले सिटौलाले हार्ने होइन, तर प्रदेश सरकार गठनमा गर्दा भएको विद्रोहले गठबन्धनमा शंका पैदा गर्‍यो ।’

माओवादी केन्द्रका एक नेता भने कांग्रेसभित्र रहेको अन्तरविरोधको फाइदा विपक्षीले उठाउन सक्ने डरले मतदानकै दिनसम्म मेहनत गर्नुपरेको बताउँछन् । ‘उहाँहरुको पार्टीमा आन्तरिक खटपट छ, फ्लोरक्रसको पनि डर होला’, ती नेताले भने, ‘नेताहरु विराटनगर केन्द्रित भएका कारण त्यो सम्भावना टरेको छ ।’

एमालेले समर्थन गरेपछि राप्रपाका नेताहरुले भने खुलेर चुनाव जित्ने दाबी गरिरहेका छन् । ‘सहकार्य गर्दा पोलिटिकल फाइदा नै हेरिन्छ’, राप्रपा प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले केही दिन अघि मात्रै भनेका थिए, ‘यो निर्वाचनमा एमालेसँग सहकार्य गर्दा गेन गर्न सकिन्छ भन्ने आत्मविश्वास भयो, निकै दिनदेखि सहकार्य भइरहेको छ ।’

एमाले-राप्रपा गठबन्धनका उम्मेदवार : राप्रपाका उद्धव पौडेल र एमालेकी रुक्मिणी कोइराला ।

सत्ता गठबन्धन र विपक्षीका नेताहरु भन्दा बढी चुनावी दौडमा स्वंय सिटौला देखिएका छन् । मनोनयन दर्ता भएपछि सिटौलाले सकेसम्म जिल्ला पुगेर मत मागेका छन् । यो चुनाव जितेपछि आगामी १९ फागुनपछि राष्ट्रिय सभामा आफू अध्यक्ष बन्ने भएकाले पनि कतैपनि मत क्रस हुन नदिन सिटौलाले आफू निकटस्थ नेताहरुलाई मतको रेखदेखमा परिचालन गरेका थिए ।

यस्तो छ अंकगणित

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने राष्ट्रियसभा निर्वाचनमा कोशीमा ३६७ मतदाता छन् । जसमा ९३ जना प्रदेशसभा सदस्य र १३७ पालिकाका प्रमुख र उपप्रमुख गरी २७४ जना छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ छ ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद रहेका छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

कोशीमा नेपाली कांग्रेसका प्रमुख उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना छन् ।

कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४२४८, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १२७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।

कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झर्नेछ । सत्ता गठबन्धनसँग ५४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४६४२ छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?