+
+

प्रधानमन्त्री कपमा पहिलो रोजाइका १० खेलाडीको प्रदर्शन कस्तो छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते ११:००

१२ माघ, काठमाडौं । छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपालका पहिलो रोजाइका अधिकाम्स खेलाडीको प्रदर्शन राम्रो छैन । सर्वाधिक रन बनाउने शीर्ष १० सूचिमा कप्तान रोहित पौडेल मात्रै पहिलो रोजाइको खेलाडीको रुपमा छन् ।

हालसम्म ८ शतक बनेका छन् । पहिलो रोजाइका खेलाडीबाट छैन । यस प्रतियोगितामा नेपालको टोलीमा नपरेका र पूनरागन गर्ने तयारीमा रहेका खेलाडीको प्रदर्शन सानदार छ । ब्याटिङमा मात्रै होईन बलिङमा पनि नेपालको जर्सी खेलेका नभएर नखेलेका खेलाडी अघि छन् ।

मधेशका अनिल कुमार साह ८ खेलमा ३७० रनका साथ शीर्षस्थानमा छन् । उनलाई बागमती प्रदेशका आशुतोष घिरैयाले ३६८ रनका साथ पछ्याएका छन् । मधेशका पवन सरार्फ ३०३, मयन यादव २६५, कोशी प्रदेशका सुजन थपलिया २६२ र एपीएफका कप्तान रोहित पौडेल २५१ रन बनाएका छन् ।

बलिङतर्फ बागमतीका सूर्य तामाङ ८ खेलमा २४ र सुदूरपश्चिचमका शेर मल्ल ६ खेलमा २१ विकेट लिएका छन् । मुलपानी र भैरहवामा स्पिनर हाबी हुँदा ब्याटिङका लागि कठिन मानिएको छ । टियुमा भने रनको वर्षा भएका छन् । सबै ८ शतक टियुमै बनेका छन् ।

प्रधानमन्त्री कपमा हालसम्म पहिलो रोजाइका नेपाली टोलीका खेलाडीको ब्याटिङ र बलिङ प्रदर्शन  ।

१. रोहित पौडेल– एपीएफ

आर्मी छाडेर एपीएफको नेतृत्व गरेका रोहितले ६ खेलमा ४ मा अर्धशतकसहित २५१ रन जोडेका छन् । जसमा २० चौका र ८ छक्का सामेल छ ।

कीर्तिपुरमा उनले बागमतीसँग २ र मधेश ५८ रन बनाएका थिए ।

मुलपानीमा कोशीसँग ८०, भैरहवामा लुम्बिनीसँग ५२, आर्मीसँग ५९ र पुलिससँग शून्यमा आउट भएका थिए । रोहितले सबै खेलमा अफ स्पिन गर्दै विकेट पनि लिएका छन् । उनले ६ खेलमा ४.६१ को इकोनमी रन खर्चेर १२ विकेट लिएका छन् ।

२. कुशल भुर्तेल– पुलिस

नेपालका ओपनर कुशल भुर्तेलले अष्ट्रेलियाबाट घरेलु क्रिकेट खेलेर फर्किनेक्रममा सुरुवाती खेल गुमाएका थिए । नेपाली टोलीका यस प्रतियोगितामा सबैभन्दा खराब प्रदर्शन गर्ने खेलाडीमा पर्दछन् ।

उनले पिएमकपमा ४ खेलमा ३१ रन बनाएका छन् । कुशल कोशीसँग टियुमा १२ रनमा आउट भएका थिए । त्यसपछि भैरहवामा आर्मी र एपीएफ दुबै खेलमा शून्य हुन पुगे । मधेशसँग मुलपानीमा १९ रन जोडेका थिए ।

३. आसिफ शेख– एपीएफ

ओपनर तथा विकेटकिपर आसिफ शेखले ३ खेलमा ७८ रन बनाएका छन् । टियुमा बागमतीसँग १५, मुलपानीमा कोशीसँग ४ र मधेशसँग टियुमा ५९ रन जोडेका थिए । बुबा बिरामी भएपछि उनी भैरहवाबाट काठमाडौं फर्किएका थिए । त्यसपछि खेलेका छैनन् ।

४.भीम सार्की– आर्मी

आर्मीका ब्याटर भीम सार्कीले पनि अपेक्षा अनुसार रन जोड्न सकेका छैनन् । भीमले ५ इनिङमा ११४ रन बनाएका छन् । जसमा १ अर्धशतक, १३ चौका र १ छक्का सामेल छ ।

उनले भैरहवाको पिचमा एपीएफसँग सर्वाधिक ५२ रन बनाएका थिए । लुम्बिनीसँग २४, एपीएफसँग २ र बागमतीसँग १८ रन बनाएर आउट भएका थिए ।

५. आरिफ शेख– पुलिस

नेपालका मध्यक्रमका भरपर्दा ब्याटर आरिफ शेखले ३ इनिङमा ९१ रन बनाएका छन् ।

पहिलो खेलमा बागमतीविरुद्ध टियुमा ५७, आर्मीसँग भैरहवामा १८ र मधेशसँग मुलपानीमा १६ रन बनाएका थिए । बुबा बिरामी भएपछि उनी भाइ आसिफसँगै काठमाडौं फर्किएका थिए ।

६.कुशल मल्ल– आर्मी

बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले आर्मीको जर्सीबाट अलराउन्ड प्रदर्शन गरेका छन् । उनले ६ खेलमा ११८ रन बनाउँदा ८ विकेट लिएका छन् ।

उत्कृष्ट प्रदर्शन ३७ रन र ४ विकेट छ । उनले टियुमा मधेशसँग ३७, मुलपानीमा कोशीसँग २२ र भैरहवामा पुलिससँग ३५ रन बनाउन सकेका थिए ।

७.दीपेन्द्रसिंह ऐरी– पुलिस

पुलिसका कप्तान दीपेन्द्रले चोटका कारण मध्यक्रममा आएर खेलेका छैनन् ।

तल्लोक्रममा खेलेका उनले ४ इनिङमा ८७ रन बनाएका छन् । टियुमा बागमतीसँग २१ र कोशीसँग ३८ रन जोडेका थिए । भैरहवामा आर्मीसँग १३ र एपीएफसँग १५ रन बनाएर आउट भएका थिए । तीन विकेट लिएका छन् ।

८. सोमपाल कामी– आर्मी

नेपालका पहिलो रोजाइका तीव्र गतिका बलर सोमपालले ६ खेलमा १५ विकेट लिएका छन् । उनले ६ खेलमा ३७.४ ओभरमा १२८ रन खर्चेका छन् । उनी जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने तीव्र गतिका बलर हुन् ।

उनले भैरहवामा लुम्बिनीसँग २, एपीएफसँग ३ र पुलिससँग ४ विकेट लिएका थिए । मधेशसँग टियुमा २, मुलपानीमा बागमतीसँग ३ र कोशीसँग १ विकेट चट्काएका थिए ।

९. करण केसी– पुलिस

तीव्र गतिका बलर करण केसीले ५ खेलमा ३३.२ ओभरमा १४४ रन खर्चेर ५ विकेट लिएका छन् । उत्ृकष्ट प्रदर्शन ३–२८ छ । ब्याटिङमा ३ इनिङमा २५ रन बनाउँदा उत्कृष्ट प्रदर्शन १९ छ ।

करणले पिएमकपमा हालसम्म कमजोर प्रदर्शन गरेका छन् । उनले कोशीसँग ३ र बागमतीसँग २ विकेट लिएका थिए । मधेश, एपीएफ र आर्मीसँगको खेलमा विकेट विहीन थिए ।

१०.ललित नारायण राजवंशी– पुलिस

नेपालका बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले ५ खेलमा १५ विकेट लिएका छन् । सर्वाधिक विकेट लिने सूचिमा पाँचौं स्थानमा छन् । ललितले ३२ ओभरमा २.८१ को इकोनमीमा रन खर्चेका छन् ।

उनीअघि सूर्य तामाङ २४, शेर मल्ल २१, रन्जित कुमार १९ र साहब आलम १६ विकेट लिएका छन् । उनले भैरहवामा एपीएफसँग ५ र मधेशसँग ४ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?