+
+

नेपाली र हिन्दीमा बन्ने फिल्म ‘राम नाम सत्य’लाई माइकल चन्दले निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १४:४६

काठमाडौं । म्युजिक भिडियोका व्यस्त निर्देशक माइकल चन्दले समसामयिक कथावस्तुमा कथानक फिल्म ‘राम नाम सत्य : बिहाइन्ड द कर्टेन’ बनाउने घोषणा गरेका छन् । घोषणा पोस्टर सार्वजनिक गर्दै उनले नेपाली र हिन्दी भाषामा फिल्म निर्माण हुन लागेको जानकारी दिए ।

नेपाल र भारतको राजस्थानका लोकेसनमा फिल्मको छायांकन वैशाखदेखि गर्ने तयारी छ । भारतीय बजारलाई समेत लक्षित गरी बनाउन लागिएको यो फिल्ममा केही भारतीय कलाकार समेत हुनेछन् । जसका लागि आउँदो साता चन्दसहितको टोली कास्टिङका लागि राजस्थानतर्फ जाने तयारीमा छ ।

‘सकेसम्म छायांकनकै समयमा नेपाली र हिन्दी भाषामा फिल्म बनाउन लागेका हौं,’ अनलाइनखबरसँग उनले भने । दुई पुस्ताका कलाकारलाई समेटेर फिल्म बनाउने उनको सोच छ । यद्यपि, अहिलेसम्म कुनै कलाकार तय छैनन् । ‘यसमा प्रशस्तै एक्सन दृश्य भएकाले पुराना र नयाँ कलाकारलाई लिने विचारमा छु । १५-१५ मिनेटको अन्तरमा दर्शकले क्लाइमेक्स दृश्य सक्नुहुन्छ,’ उनले भने ।

फिल्मले समसामयिक मुलुकको राजनीति र समाजको कथावस्तु पेश गर्ने उनले बताए । ‘अहिले मुलुकमा रहेका सबै विकृतिलाई राम नाम सत्य गर्नुपर्छ सन्देश यसले दिन्छ,’ फिल्मको बटमलाइनबारे उनले भने, ‘मुलुकले शान्ति पाउनुपर्छ भन्ने सन्देश फिल्मको हुनेछ ।’

पाँच वर्ष पहिले लेखेको कथामा फिल्म बनाउन लागेको उनले बताए । ‘पाँच वर्षदेखि यसैमा लागेको थिएँ । जे कुराले आफूलाई हिट गर्‍यो, त्यसैमा केन्द्रित हुने हो । यसमा धेरै नयाँ चीज आउँछ,’ उनले भने । एक्सन दृश्य धेरै भएकाले बजेट महंगो पर्न सक्ने उनले बताए ।

माइकल इन्टरटेनमेन्ट हाउसको प्रस्तुतिमा बन्न लागेको फिल्मको पटकथा पनि स्वयं चन्दको छ । यो उनको डेब्यु निर्देशकीय फिचर हुनेछ । प्रकाश शाह, उपेन्द्र शाही र राज कटुवालको लगानी हुने जनाइएको छ ।

फिल्मको टिजर पोस्टरमा ठूलो घण्टी र बञ्चरोलाई देखाइएको छ । साथमा आकृतिमा एक पुरुष दौडिरहेको देख्न सकिन्छ । डार्क शैलीमा तयार पारिएको पोस्टरले फिल्मको बारेमा धेरै कुरा भन्न खोजेको छ ।

यो फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ । अहिले फिल्मको कथा लेखन र संगीतको काम भइरहेको निर्देशक चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?