+
+

दर्शकसामु बहानीबाजी गर्ने र माफी माग्ने छुट मलाई छैन : उपेन्द्र सुब्बा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते १७:४२

काठमाडौं । फिल्म निर्देशक उपेन्द्र सुब्बाले दर्शकसामु बहानाबाजी गर्ने र माफी माग्ने छुट आफूलाई नभएको बताएका छन् । सोमबार ललितपुरमा आयोजित फिल्म ‘मनसरा’को पत्रकार सम्मेलनमा उनले ‘जारी’बाट जिम्मेवारीबोध सिकेको बताए ।

‘मसँग रेला गर्ने उमेर पनि छैन । गल्ती गरेर माफी माग्ने बेला पनि छैन । बहानाबाजी गर्ने र एक्सक्युज गर्ने छुट पनि छैन,’ उनले भने, ‘म एक्सक्युज पनि माग्दिनँ । मनसरामा केही नयाँ गर्ने कोसिस गरेको छु ।’

सुब्बाले धानको प्रजाति मनसरालाई विम्ब बनाएर फिल्म ‘मनसरा’ बनाएको बताए । ‘मैले धानलाई मात्र होइन, बाली विज्ञानमा आधारित रहेर कथा भन्ने प्रयास गरेको छु,’ उनले भने, ‘मनसरा मात्रै ब्याड राखेर फल्दैन, यसकारण अरुसँग रोपिन्छ । यो धानलाई मिहिनेतीले रुचाउँछन् । हामीलाई त छिटो पच्ने नरम चीज चाहिन्छ सहरमा ।’

नेपाली समाज मिश्रित र बहुसांस्कृतिक भएको र सबैजना मिलेर बसेको उनले बताए । ‘जीवन चलाउन पनि दुई जात जरुरी छ । यस्तैगरी मनसरा फिल्मसँग जोडियो । मैले धानलाई मात्र होइन, बाली विज्ञानमा आधारित रहेर कथा भन्ने प्रयास गरेको छु । अरु देशमा सूर्यमुखी फूल, भट्मास, मकैको पहाडै हुन्छ,’ उनले भने ।

अभिनेता प्रवीण खतिवडाले ‘मनसरा’लाई लिएर आफू आशावादी रहेको बताए । ‘यो फिल्मबाट म पूर्णरुपमा आशावादी छु । यसकारण करिअरकै शीर्ष स्थानमा राखेको छु,’ खतिवडाले भने, ‘निर्देशकले मिश्रित समाजको कथा भन्नुभएको थियो, त्यो मनपर्‍यो । स्क्रिप्ट सलल बगेको थियो, त्यो मनपर्‍यो ।’

उनले आफ्नै परिवारिक संरचनाभित्र भोगेको, देखेको कथा भएकाले पनि चरित्र निर्वाह गर्दा ‘रेफरेन्स’ लिएको सुनाए । ‘यसकारण पनि पात्र निर्माणमा अप्ठ्यारो भएन,’ उनले भने ।

अभिनेता दयाहाङ राईले ‘मनसरा’मा आफूले निर्वाह गरेको पात्र लोभलाग्दो रहेको बताए । ‘नढाँटी भन्नुपर्दा यो पात्र मैले नगरेर, हेर्न पाए कस्तो हुन्थ्यो होला,’ उनले भने, ‘अहिले पनि लाग्छ मलाई । मेरो लागि डाह लाग्ने क्यारेक्टर हो । आनन्दसँग बसेर हेरुम भन्ने पात्र यो, तर मैले नै गर्नुपर्‍यो ।’

अघिल्लो फिल्म ‘जारी’मा लिम्बुवान, लिम्बू संस्कृति र दर्शनको युनिभर्स रहेको र ‘मनसरा’ त्यही युनिभर्सकै एक पात्र भएको उनले बताए । ‘जारीको नामसाङ र मनसराको एक्टरको मनोविज्ञान फरक छ । एउटा एक्टरले कोसिस गर्ने हो,’ अभिनेता राईले भने ।

पत्रकारले दयाहाङलाई यसअघि सोधेकै प्रश्न दोहोर्‍याए । जुन फिल्ममा पनि दयाहाङको चरित्र काजीजस्तै देखियो भनेर प्रश्न तेर्सियो । दयाहाङले भने एउटा अभिनेतालाई अलग स्वरुपमा देखाउने काम निर्देशकको भएको भन्दै पन्छिए । तर निर्माता तथा छायाकार शैलेन्द्रध्वज कार्कीले ‘सोसल रियालिज्म’ शैलीका फिल्म बनेसम्म यस्तो समस्या दोहोरिरहने बताए ।

कार्कीले दयाहाङसँग १७ फिल्ममा काम गरिसकेको अनुभव बाँड्दै ‘मनसरा’को क्लाइमेक्स खिच्दा दयाहाङ निकै नर्भस देखिएको बताए ।

अभिनेत्री मिरुना मगरले ‘मनसरा’मा आफूले आफूलाई ‘एक्सप्लोर’ गर्ने मौका पाएको बताइन् । ‘वास्तविक जीवनमा म आमा नभएपनि मनसराले मलाई आमा बनाएजस्तो फिल हुन्छ । मैले बर्थ नदिएपनि आमाले फिल गर्ने कुरा सेटमा फिल गरायो,’ आफू एकल आमा भएको चरित्र चित्रणबारे उनले भनिन् ।

‘मनसरा’ वैशाख २१ गतेदेखि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?